|

काठमाडौं :  सुनसरी, लमजुङ, तनहुँ, दाङ र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा को१ख ४९८८ नम्बरको बसले को१ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिँदा बसका सहचालक सिरहा धनगढी नगरपालिका-८ बस्ने २५ वर्षीय जिवस यादवको मृत्यु भएको   छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, लमजुङ, बेशिसहर नगरपालिका-२ भकुण्डेस्थित सडकमा ना३५ प १८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने भारत घर भएका ४५ वर्षीय सिउ नारायण पट्टेलको शनिबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो।

तनहुँ, व्यास नगरपालिका-११ जुगेपानीस्थित सडकमा ग१त ६२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २० वर्षीय अमृत नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकमा रा१ह २९११ नम्बरको अटो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय गंगाराम केसीको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी दाङ, लमही नगरपालिका-६ बनघुर्सीस्थित सडकमा रा१ख १७७७ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम चरण चौधरीको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बांणीस्थित सडकमा डीएल १ जेडसी ४७५४ नम्बरको भारतीय कारको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय तारा नाथको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ। कार नियन्त्रणमा लिएर हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

मृत अवस्थामा फेला

त्यस्तै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ खाद्य संस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

यसैगगरी मकवानपुर, थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ५५ वर्षीया राधिका परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन्।

काभ्रे, बेथानचोक गाउँपालिका-३ बस्ने ५१ वर्षीय चन्द्र कुमार तामाङ सोही ठाउँस्थित गोरखनाथ सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

उक्त वनमा पत्कर्सेउला सोर्न गएकोमा बेलुकासम्म घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो।

बाग्लुङ, ढोरपाटन नगरपालिका-२ टारीखेतस्थित बाँसको झ्याङमा हाल नाम, थर र वतन नखुलेकी करिब ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन्। घटनाका  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.