बर्दिया : बर्दियाको भुरीगाउँमा तपाईंको मास्क खै अभियान फेरि सुरु गरिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टसहितको महामारी फेरि बढ्दै गएको समयमा संक्रमणबाट जोगिन मास्क खै अभियान सुरु गरिएको हो।
पछिल्लो समय स्थानीयले स्वास्थ्य मापदण्डमा लापरवाही गरेको भन्दै सहकर्मी समाजको आयोजना तथा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा र इलाका प्रहरी कार्यालय भुरीगाउँको सहआयोजनामा स्वास्थ्य सजगता अपनाउन अनुरोधसहित मास्क वितरण गरेको हो।
भुरीगाउँ बजारमा बिनामास्क हिँडडुल गरिरहेका स्थानीयलाई प्रहरी स्वास्थ्यकर्मी सहितको टोलीले तपाईको मास्क खै? भनेर सोध्ने गरेका छन्।
मास्क नलगाएकालाई मास्क लगाउन अनुरोधसहित मास्क दिएर पठाएको सहकर्मी समाज बर्दियाले जनाएको छ।
यसअघि पनि कोरोनाका दोस्रो भेरियन्ट फैलिएको समयमा भुरीगाउँ प्रहरीले तपाईंको मास्क खै ? अभियान चलाएको थियो।
अहिले फेरि कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका अन्य देशमा फैलिन सुरु भएसँगै नेपालमा पनि संक्रमण भित्रिन सक्ने जोखिमलाई मद्देनजर गर्दै स्थानीयलाई स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिएको इलाका प्रहरी कार्यालय भुरीगाउँका सई राजेशसिंह धामीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।