२८ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने

|

काठमाडौं : मंसिर २३ गतेदेखि काठमाडौं अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को अन्तिम तयारी भइरहेको छ। यसै क्रममा आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर महोत्सवको मिति तथा औपचारिक पोष्टर सार्वजनिक गरियो। 

मंसिर २३ देखि २७ सम्म चल्ने १९ औँ किम्फको नारा क्लाइमेट कर्म (जलवायु कर्म) राखिएको छ। 'हामी वातावरणसँग कसरी सम्बन्धित छौँ र स्थानीय र विश्वव्यापी रूपमा अनुभव भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कम गर्न के गर्न सकिन्छ' भन्ने विषयमा सोच्न उत्प्रेरित गर्ने उद्देश्यले उक्त नारा राखिएको आयोजकले बताए। 

महोत्सवमा जलवायु परिवर्तनका कारण तथा यसका प्रभावका बारेमा बनेका फिल्म समेत प्रदर्शन हुनेछन्।

किम्फका अध्यक्ष वसन्त थापा भन्छन्, ‘यो महोत्सवमा प्रस्तुत हुने चलचित्र र यसमा समाविष्ट कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाका बारेमा हुने संवादमा संलग्न गराउनेछ। 

महोत्सवमा २८ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिने बताइएको छ। उत्कृष्ट तीन फिल्मले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै नेपाल पनोरमा उत्कृष्ट वृत्तचित्रले ७५ हजार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ। 

यस वर्षको महोत्सवका विशेष आकर्षण स्वरूप अमेरिकी फोटोग्राफर सिरा क्रोवेलको मास्टरक्लास, स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजेज टु द थर्ड वर्ल्डको नेपाली अनुवाद नेपालमा ‘मेरो खोज यात्रा’को विमोचन तथा ‘सस्टेनेवल समिट्स क्लाइमेट सोलुसन्स फ्रम द टप अफ द वर्ल्ड’, ‘एभरेस्ट बाइ दोज हु वेर देअर १९२१, १९२२, १९२४’ को विशेष प्रदर्शनी हुनेछ।

किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताहरूका लागि आयोजित 'ग्रीन ग्रोथ ग्रीन रिकभरी' शीर्षकको छोटो फिल्म प्रतियोगिताको नतिजा पनि सार्वजनिक गरिनेछ। 

महोत्सवको उद्घाटन समारोहमा भारतको लद्दाखका पर्यावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङचुकको सम्भाषण तथा अमेरिकी फिल्म निर्माता काइल रुडिकद्वारा निर्देशित फिल्म ‘ड्रीम माउन्टेन’को प्रदर्शन रहने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.