सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि भरत खवासले अन्तिम पाँच मिनेट बाँकी हुँदा गरेको एकमात्र गोल निर्णायक बन्यो।
ए डिभिजन लिगमा आर्मी र ब्रिगेड ब्वाइज बिच आजसम्म ९ खेल भएका छन् र ती सबैमा आर्मीले जितेको छ।
पछिल्ला ५ खेलदेखि आर्मीविरुद्ध गोल गर्न नसकेको ब्रिगेडले उक्त यो खेलमा पनि गोल गर्न सकेन।
जारी प्रतियोगिताअन्तर्गत आर्मीले पहिलो खेलमा पुलिससँग १-१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो। निकै कमजोर देखिएको खेलमा दुवै टोलीले सीमित पोस्ट अट्याक गरेका थिए।
तुलनात्मक रूपमा आर्मीले दबाबमा राखेको खेलमा सुरुवातमै गोलको अवसरबाट आर्मी वञ्चित भयो। कप्तान भरत खवास, जर्ज प्रिन्स कार्कीले गोलको मौका चुकाउँदा बीबीसीका शिशिर लेखीले गोल गर्ने मौका चुकाएका थिए।
दोस्रो हाफमा पनि खेलमा आर्मीले केही दबाब बढाएको थियो। ५७औं मिनेटमा गौतम श्रेष्ठका थ्रु बलमा विकास तामाङको हेडरलाई बीबीसीका गोलक्षक पूर्ण चेम्जोङले पञ्च गर्दै बचाए।
६१औं मिनेटमा विवेक बस्नेतको क्रसलाई मनोज राईले गोललाइन नजिकैबाट क्लियर गरिदिँदा आर्मी अग्रता लिनबाट चुक्यो।
अधिकांश समय गोलरहित बराबरी भएको खेलमा ८५औं मिनेटमा सन्तोष तामाङको पासलाई भरतले अफसाइड बिट गर्दै वान भर्सेस वानमा सुन्दर गोल गर्दै खेलमा अग्रता बनाउन सफल भए।
जुन अग्रता नै आर्मीलाई तीन अंकका लागि पर्याप्त बन्यो। बीबीसीले भने लिगमा पहिलो हार बेहोरेको छ। बीबीसीले पहिलो खेलमा एपीएफलाई ३-२ ले पराजित गर्दा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो। जितसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ। पराजित बीबीसीको ४ अंक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।