|

काठमाडौं : नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशन अन्तरगत ६ प्रदेशको अधिवेशन सम्पन्न भएको छ भने क्षेत्रीय, जिल्ला हुँदै यो भन्दा तल्लो तहको अधिवेशन पनि सम्पन्न भइसकेको छ।

यद्यपि केहि स्थानमा भने विवादको कारण तल्ला तहको अधिवेशन रोकिएको छ। रोकिएका स्थानको अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि गर्ने कांग्रेसको तयारी  छ। 

केन्द्रीय महाधिवेशन यहि मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनले एक सभापति,  दुई उपसभापति, तीन महामन्त्री, आठ सहमहामन्त्री, एक  कोषाध्यक्षसहित १ सय ६८ सदस्यीय केन्द्रीय समिति बनाउनेछ। 

यस मध्ये ३४ जना मनोनित केन्द्रीय सदस्य रहनेछन्। कांग्रेसले आगामी महाधिवेशन मार्फत नेतृत्वमा महिलासहित विभिन्न जातजाति, भाषा, धर्म र समुदायका प्रतिनिधिलाई समेटेर लोकतन्त्र थप सुदृढ बनाउने दाबी गरेको छ। 

कला, साहित्य र संस्कृतिको संरक्षण गर्न भन्दै केन्द्रीय सदस्यमा तीर्थ थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन्। सांस्कृतिक संघका संस्थापक सभापति समेत रहेका थापाले कला, साहित्य र संस्कृति संरक्षणमा दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धतासहित आफुले उम्मेदवारी दिने बताएका छन्। थाहाकर्मी ईश्वरी बरालले थापासँग गरेको कुराकानीको सम्पादित अंश।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा तपाईको उम्मेदवारी किन ?

विगत १५ वर्षदेखि सांस्कृतिक संघमा आवद्ध भएर काम गर्दै आएको छु। नेपाली कला, साहित्य र संस्कृतिको जगेर्नामा थप पाइला चाल्न पार्टी राजनीतिमा सक्रिय हुन खोजेको छु। समावेशी, समानुपातिकको सिद्धान्त अनुरुप नेपालको संविधान तयार भएको छ।

संविधानमा सवै वर्ग, समुदाय, क्षेत्र र निकायहरुको प्रतिनिधित्व हुने गरी सुनिश्चितता गरेजस्तै मैले सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै यसपटक मैले उम्मेदवारी दिने तयारी गरेको छु। नेपाली कांग्रेसले सांस्कृतिककर्मीलाई पनि सहभागी गराएर सांस्कृतिक क्षेत्रको नीतिगत पक्षलाई बलियो बनाउँछ भन्ने विश्वास लिएको छ।

नेपाली कांग्रेस पार्टीभित्र गुटबन्दी छ, तपाईले उठाउने नीतिगत विषयमा पनि गुटबन्दी होला, कला, साहित्य र संस्कृतिलाई एउटा पार्टीको गुटभित्र किन खुम्च्याउने?

संस्कृति सवैको जिवनशैली हो। संस्कृति भनेको नाच्ने गाउने बजाउने मात्रै नभई मानिस जन्मिएदेखि मरणसम्मको एउटा प्रक्रिया हो। यस्तै परम्परा, रीतिरिवाज, भेषभुषा, बोलीवचन र रहनसहन सवै संस्कृतिभित्र पर्छन्, यिनको बचाउमा लाग्न खोजेको हो, खुम्च्याउन खोजेको होइन।

संस्कृतिलाई समयअनुकुल परिमार्जन गर्न तपाईका एजेन्डा के छन्?

पार्टीगत र राष्ट्रिय रुपमा सांस्कृतिक पक्षमा नीतिगत बहस गर्ने स्थानमा कम प्रतिनिधि छन्। म त्यहि प्रतिनिधि बनेर संस्कृति नमर्ने गरी नयाँ पुस्ताले ग्रहण गर्न योग्य बनाउनेछु। हामी आफैले सृजना गरेको संस्कृतिमाथिको विकृति पनि चिर्न बाँकी छ। समयसापेक्ष पाच्य बनाउँदै निरन्तर लागि पर्नेछु, तव मात्रै पहिचानको कुराहरु आउनसक्छन्। अहिलेको अवस्थामा परम्परागत कतिपय कुराहरुलाई सुरक्षित राख्दै नयाँ कुरा सिक्दै अघि बढ्नुपर्ने हुन्छ।

कला, साहित्य र संस्कृति क्षेत्रका व्यक्तिलाई राजनीतिमा हल्का रुपमा लिइएका उदाहरण छन्, कम प्राथमिकतामा परेका छन् , तपाई पनि त्यसरी नै हेरिने पात्र बन्नुभयो भने के गर्नुहुन्छ ?

यहि प्रवृत्तिको सुधारको लागि म राजनीतिमा थप सक्रिय हुन खोजेको हो। कला, साहित्य र संस्कृतिको एजेन्डा बोक्नेलाई हल्का रुपमा लिनु विडम्बना हो, म यो चिर्न चाहन्छु। यो पनि समाजको सशक्त पाटो भएकाले राज्यको मूल नीति अर्थात राजनीतिमा पनि यस बिषयमा छलफल हुनु जरुरी छ।

अत्यमा, तपाई केन्द्रीय सदस्यमा निर्वाचित भएपछि देश र जनताको लागि के गर्नुहुन्छ ? 

राज्य प्रणालीका हरेक क्षेत्रमा सांस्कृतिक कोटा निर्माणको लागि पहल गर्छु। कला, साहित्य र संस्कृतिको क्षेत्रलाई सम्मानित रुपले हेर्ने वातावरण निर्माण गर्छु। 
कला साहित्यलाई गहना मात्र नभई जिविकोपार्जन माध्यमको रुपमा रुपान्तरण गर्न भूमिका खेल्नेछु। विश्वमा नेपाली कला साहित्य र संस्कृतिको पहिचान स्थापित गराउने अभियानमा लाग्नेछु। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.