चारमा संस्थापन र दुईमा इतर पक्ष

|

काठमाडौं : नेपाली कांग्रेसको प्रदेश महाधिवेशन भएका ६ वटै प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको छ। 

पछिल्लो पटक लुम्बिनी प्रदेशको मत परिणाम सार्वजनिक भएसँगै ४ वटा प्रदेशमा संस्थापन र २ वटा प्रदेशमा इतर पक्षका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । 

लुम्बिनी प्रदेशमा इतर पक्षका अमरसिंह पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गरे।  वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन ८ सय ५२ मतसहित सभापतिमा निर्वाचित हुँदा शाहले ७ सय ६७ मत ल्याए। 

यस्तै प्रदेश १ को सभापतिमा संस्थापन तर्फका उद्धव थापा विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा इतर समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।  थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरे। यो प्रदेशमा नेता कृष्ण सिटौला निकट थापालाई सभापति देउवा पक्षले सहयोग गरेको हो। 

यस्तै बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजय भएका छन्। इतर पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी  भए।   पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत पाउन नसेकेपछि दोस्रो चरणमा भएको मतदानमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गरे।  पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गरेका थिए। 

यस्तै हिजै मतगणना सकिएको गण्डकी प्रदेशमा संस्थापन इतर समूहका शुक्रराज शर्मा विजयी भएका थिए।  कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहका क्रमश ललितजंग शाही र वीरबहादुर बलायर विजयी भए। 

प्रदेश २ मा भने क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहँदा प्रदेश अधिवेशन उद्घाटन गरेर स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.