|

चितवन :  नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्। सोमबार प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले एमालेलाई जिस्क्याए गैँडाले जस्तै लखेट्ने चेतावनी दिए। 

चितवनमै सम्पन्न एमाले महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गर्नेहरूलाई लक्षित गर्दै उनले एमाले र गैँडामा समानता रहेको तर्क सुनाए। 

उनले भने, ‘एमाले र गैँडामा केही समानता भएरै गैँडा छानेको हो। गैँडा यति सज्जन हुन्छ कि ऊ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ।’ 

नेता भट्टराईले एमाले शान्तसँग आफ्नो बाटो, आफ्नो भिजनमा रहेको भन्दै एमालेमाथि जाइलागे नछोड्ने बताए। एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनी भट्टराईले दिए।

चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको दाबीसमेत भट्टराईको छ। चितवनबाट पार्टीले शक्ति आर्जन गरेर फर्केको भन्दै त्यसको आउटपुट चुनावमा एमालेको बहुमत आउने भएको बताए। 

उनले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यसाथ एमाले हिँँडेको बताए। एमालेले जनताको शाख जोगाएको उनको भनाइ छ। 

माओवादीको केही हिस्सा एमालेमा रहेको र पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेसँग रहेको बताउँदै उने  एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी नेपालमा रहने दाबी गरे। अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिस्पर्धा हुने बताए। 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेको जस्तो व्यवस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न अन्य पार्टीले नसक्ने बताए। एमालेको महाधिवेशनबाट सबैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिएको उनको टिप्पणी थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.