|

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।

दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।

डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सामान्यतर्फ फर्किसकेको अवस्थामा यो भेरियन्ट देखिएपछि पुनः अर्को त्रास फैलिएको छ।

यो भेरियन्टका विषयमा धेरै कुरा अध्ययनकै क्रममा रहेका कारण पनि विज्ञहरूले अब थप सतर्कता अपनाउनुपर्ने सुझाब दिएका हुन्।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार नयाँ भेरियन्टका बारेका खासै धेरै जानकारी नआए पनि नयाँ भेरियन्ट पुष्टि भएपछि सरकारले परीक्षण र खोप कार्यलाई तीव्रता दिनुपर्ने बताउँछन्।‘ खोप नलगाएको भन्दा लगाएको राम्रो हुन्छ। त्यसैले अब सरकारले हालसम्म खोप नलगाएका समूह र यसअघि पूर्ण खोप लगाइसकेकालाई बुस्टर डोज तीव्र रूपमा दिनुपर्छ जसले गर्दा नयाँ भेरियन्टबाट हुने क्षति कम हुनसक्छ’‚ उनले भने।

यस्तै विदेशबाट आउनेलाई प्रवेश दिन पूर्ण निषेध गर्ने‚ नभए पूर्ण खोप लगाएको र पिसिआर नेगेटिभ आए मात्रै प्रवेश दिनुपर्ने बताए। सरकारले अब फेरि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गराउनु पर्ने र भिडभाड कम गर्नुपर्ने उनको भनाइ छ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जनता यो भेरियन्टबाट तर्सनेभन्दा पनि सतर्क हुनुपर्ने बताए। फेरि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने समेत उनले बताए। यस्तै सरकारले अब संक्रमण बढ्छ कि बढ्दैन र अब देखिएका संक्रमितहरूको लक्षण कति कडा हुन्छ भन्ने कुरा विचार गरेर सोहीअनुसार अघि बढ्नु पर्ने बताए।

‘यो भेरियन्ट कति संक्रामक छ भन्ने कुरा हालसम्म बाहिर आएको छैन यस्तो वेला हाम्रोमा नयाँ भेरियन्ट देखिसकेको अवस्था छ। यस्तो वेला हाललाई गर्ने भनेको जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्ने र खोप नै लगाउने हो’‚ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.