|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल गरिरहेका छन्।

सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिको साझा उम्मेदवार छान्ने बारे छलफल चलिरहेका बेला बाहिर भने नेताहरूलाई साझा उम्मेदवार बनाउन दबाब दिँदै नेताहरू प्रदर्शन गरेका छन्।

उनीहरूले ‘साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने’ जस्ता नाराहरू लेखिएका पोस्टर बोकेका छन्। राजेन्द्र बजगाई, टेकराज पौडेल, सीता सापकोटा, दक्ष पौडेल, देवेन्द्र घर्तीमगरलगायतका युवा नेताहरूले प्रदर्शन जारी राखेका छन्।

छलफलमा सभापतिका आंकाक्षीहरू पौडेल, शेखर कोइराला र शशांक कोइराला, सिंह, कोषाध्यक्ष सीतादेवी यादव, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत केन्द्रीय सदस्यहरु सहभागी छन्।

पौडेल पक्षबाट चार जना सभापतिका आकांक्षी देखिएकाले को उम्मेदवार बन्ने भन्ने एकिन भएको छैन। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा नै सभापति उठ्दैछन्।

देउवासँग असन्तुष्ट भएका विमलेन्द्र निधिले पनि सभापति उठ्ने घोषणा गरिसकेका छन्। पौडेल पक्षमा सभापति पदका लागि साझा उम्मेदवार छान्न चौतर्फी दबाब परिरहेको छ।   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.