|

पर्वत : लोक तथा दोहोरी गायक विमलराज क्षेत्रीले नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
हालै सम्पन्न नेपाली कांग्रेस पर्वतको जिल्ला अधिवेशनका क्रममा खुल्ला महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी बनेका क्षेत्रीले राजनीतिका माध्यमबाट कलाकारिता क्षेत्रको संरक्षणको लागि आवाज उठानको लागि आफू केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताए।

‘राजनीतिबाट गएका नेताहरूले राज्यको नीति बनाउने हो। नेपाली सांगीतिक तथा कलासम्बन्धी अन्य क्षेत्रको संरक्षणका लागि पनि राजनीतिका माध्यमबाट आवाज उठाउनको लागि उम्मेदवारी दिने तयारी गरेको हुँ,’ उनले भने, ‘जिल्ला अधिबेसनमा मतदाताले जसरी माया गर्नुभएको थियो, केन्द्रीय सदस्यमा पनि त्यसै गरी माया गर्नुहुन्छ भन्ने विश्वासमा छु म।’

कलाकारले राजनीति गरेको प्रसंगबारे बताउँदै उनले राजनीति देशको नीति भए पनि नेपालमा भइरहेको राजनीतिक अस्थिरताले शब्दलाई नै गलत रूपमा बुझाएको तर्क गरे।

राज्यका हरेक क्षेत्र राजनीतिबाट नै नियन्त्रित हुने भएकोले सांगीतिक क्षेत्रको हक र संरक्षणका लागि कांग्रेसको राजनीतिमार्फत् आवाज उठाउनको लागि आफू सक्रिय राजनीतिमा पनि आएको कलाकार क्षेत्रीको भनाइ छ।

पर्वतको फलेवास नगरपालिका–१० कुर्घास्थित घर भएका क्षेत्री विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघमा आबद्ध भई कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।

विद्यार्थी जीवनबाटै कलाकारितामा प्रवेश गरेका उनी सबैभन्दा पहिले २०५० सालमा आफू अध्ययनरत गाउँकै विद्यालयमा नेविसंघको सचिव भई काम गरेका थिए। त्यसपछि २०५३ सालमा फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसमा नेविसंघको सचिव बनेका उनी २०५६ मा जय नेपाल सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय सदस्य, २०६८ मा नेपाल कलाकर्मी संघको उपमहासचिव, २०७० मा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य, २०७४ मा लोकतान्त्रिक लोकदोहोरी संघका संस्थापक सभापति बने।

२०७८ मा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको रूपमा विजयी बनेका थिए। क्षेत्रीले गाएका बल्लै भो भेट, सुपारी चाम्रो, रानीघाटैमा, मधुवनैमा, जापान टोकियोलगायत कैयौँ गीतहरू चलेका गीतमा पर्छन्। आमनिर्वाचनको बेलामा कांग्रेस पार्टीका लागि गीत तयार पार्ने र गाउने काम समेत क्षेत्रीले नै गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.