|

जनकपुर : धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको छ।

त्रेता युगमा आजकै दिन भगवान राम र सीताको विवाह भएको मान्यताअनुसार आज जनकपुरधाममा राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको हो।

विवाहपञ्चमीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सीताराम स्वयम्वर र विवाह समारोह आयोजना गर्न लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास बैष्णवले जानकारी दिए।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट दिउँसो सीताराम स्वयम्बरका लागि बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहसानमा राखी रङ्गभूमिमा पु¥याइन्छ, भने सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिकविधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा स्थानीयका साथै सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गरेका छन्।

रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेका सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिन्छ।

गोश्वामी तुलसी दासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको र शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको मान्यता छ।

रामायणमा उल्लेख गरिएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिक्षा जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। विवाहपञ्चमीको अवसरमा श्रद्धालु भक्तजन आज बिहानैदेखि पवित्र सरोवर र गङ्गासागर नदीमा स्नान गरी पूजाअर्चना गर्ने गरेका छन्। सो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।

यसैबीच विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन्।

अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण विवाहपञ्चमी महोत्सव नभएका कारण यसवर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालुले दर्शन गर्ने अनुमान गरिएको छ।

विवाह पञ्चमीका अवसरमा हुने भिडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन बिदा दिएको छ। प्रदेश २ सरकारले पनि आज प्रदेशभरी सार्वजनिक सार्वजनिक बिदा दिएको छ।

विवाहपञ्चमीको अवसरमा हुने भिडभाडमा आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.