|

सिन्धुपाल्चोक : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको मूर्ति चोरी भएको छ। करिब एक सय वर्ष पुरानो भगवतीको मूर्तिसहित कलश र अन्य दुईवटा विष्णुको मूर्तिसमेत चोरी भएको हो।

दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो। नेवार भाषाको उद्गमस्थलसमेत मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीनवटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मूर्ति चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए।

मंगलबार राति करिब २ बजे तीनवटा मोटरसाइकलमा केही अन्जान युवक तीव्र वेगमा आएर मन्दिर छिरेको स्थानीयले देखेको र बिहानको नियमित पूजापाठ गर्न जाँदा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका पनि अध्यक्ष श्रेष्ठले बताए।

‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो’ उनले भने, ‘स्थानीय र प्रहरी मिलेर चोरको सबैतिर खोजी भइरहेको छ।’

त्रिपुरासुन्दरी देवी मन्दिरबाट मूर्ति कलशसँगै स्थानीयको तीनवटा मोटरसाइकल चोरी भएको र त्यसमध्ये तल्लो बजारछेउमा एउटा मोटरसाइकल फेला परेको वडाध्यक्ष विष्णुलाल श्रेष्ठले बताए।

०७२ को भूकम्पले मन्दिर भत्काएपछि टहरा बनाएर महादेवीको पुरानो मूर्ति, गरगहना सुरक्षित राखिँदै आएको थियो। अहिले पुरातत्व विभागले सो मन्दिर पुनर्निर्माण गरिरहेको छ। हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने ललित त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली फूलपातीबाट सुरु हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.