|

पर्सा : हरेक स्थानीय तहले न्याय सम्पादन गर्दै आएको भनिए पनि स्थानीय सरकारका ढोकामा न्याय सम्पादन अविश्वासिलो हुने अदालतमा थपिएका मुद्दाको चापले देखाएको छ।

मानिसमा गरिखानेभन्दा ठगीखाने प्रवृतिको विकास र अत्यावश्यक चाहनाको चाङले पछिल्ला समयमा न्याय सम्पादन गर्ने निकायमा झगडियाका मुद्दा बढी पुग्ने गरेका छन्।

त्यसमा पनि स्थानीय सरकारको ढोकामा विश्वासिलो न्याय नपाइने ठहरले न्यायालयमा नै मुद्दाको चाप बढिरहेको पाइएको हो। 

चार महिनामै आधा आँकडा पार

पर्सा जिल्ला अदालतमा गएको चार महिनामा दर्ता भएका २ हजार ३ सय ३६ नयाँ मुद्दाको तथ्यांकले पनि उक्त कुराको पुष्टि गरेको छ। जब कि गतवर्षको १२ महिना नयाँ मुद्दा कुल ४ हजार ३ सय ५० मात्र दर्ता थिए। तर, चालु आर्थिक वर्षको चार महिनामा नै गतवर्षको नयाँ दर्ता हुने दरभन्दा निकै उच्च दरको तथ्यांक भेटिएको हो।

नयाँ दर्ता हुने मुद्दाको चाप र गत आर्थिक वर्ष ( २०७७।०७८ मा) सरी आएका ४ हजार ९ सय ६३ वटा मुद्दा गरी पर्सा जिल्ला अदालतमा गएको कात्तिक सम्ममा नै कुल ७ हजार ३ सय ५ वटा मुद्दा संख्या पुगेको पर्सा जिल्ला अदालतले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्सा जिल्ला अदालतले कुल १ हजार ३ सय २० वटा मुद्दा फर्स्योट गरेको पर्सा जिल्ला अदालतका स्रेस्तेदार अरुण कोइरालाले बताए।

गएको चौमासिकको लगत हेर्ने हो भने नयाँ थपिएका र फैसला भएका मुद्दाबाहेक पनि पर्सा जिल्ला अदालतमा अझै ५ हजार ९ सय ७९ वटा मुद्दा बाँकी रहेको उनको भनाइ छ।

८३४ मुद्दा फर्स्योट हुन बाँकी

चालु आर्थिक वर्षको पहिलो चौमासिकको तथ्यांकअनुसार पर्सा जिल्ला अदलतमा फर्स्योट हुन बाँकी रहेका मुद्दाहरूमा २ वर्ष नाघेका मुद्दा पनि ८ सय ३४ वटा छन्।

त्यसैगरी, १८ महिनादेखि २ वर्षसम्मका ५ सय ९७ वटा, एक वर्षदेखि १८ महिनासम्मका ५ सय ६७ वटा, ६ महिनादेखि १२ महिना अर्थात् एक वर्षसम्मका १ हजार ७ सय ५ वटा र ६ महिनाभित्रका पनि फर्स्योट हुन बाँकी मुद्दा २ हजार २ सय ७६ वटा रहेको पर्सा जिल्ला अदालतको तथ्यांकमा उल्लेख गरिएको छ।

उक्त मुद्दाहरू गत वर्ष लगत सरी आएका ६ महिनाभित्रका २ हजार ८ वटा, ६ महिनादेखि एकवर्ष सम्मका १ हजार ५३, एकवर्षदेखि १८ महिनाभित्रका ५ सय ६४, १८ महिनादेखि २ वर्षभित्रका ६ सय ७१ र २ वर्षभन्दा माथिका मुद्दा पनि ६ सय ६७ वटा सहितको भएको पर्सा जिल्ला अदालतले जनाएको छ।

६ महिना भित्रका धेरै मुद्दा फैसला

(फर्स्योट) भएका १ हजार ३ सय २० मुद्दामध्ये २ वर्षभन्दा माथिका २ सय ११ वटा मुद्दा फैसला भएका छन्। त्यसैगरी, १८ महिनादेखि २ वर्षभित्रका १ सय ३६, एक वर्षदेखि १८ महिनाभित्रका १ सय ४३, छ महिनादेखि एकवर्ष भित्रका ३ सय ९० र ६ महिनाभित्रका पनि ४ सय ४० वटा मुद्दा फैसला भइसकेको पनि पर्सा जिल्ला अदालतले जनाएको छ।

मुद्दाको चापअनुसारको कार्य सम्पादन गर्न पर्याप्त जनशक्ति अभावले केही कठिनाइ भइरहेको पर्सा जिल्ला अदालतका स्रेस्तेदार कोइरालाले बताए। जनशक्ति बढाउन आफूले माथि पहल गरिरहे पनि अझै अपुग भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.