|

काठमाडौं : पछिल्लो समय देशभर कोरोनाविरुद्ध खोपको १ करोडभन्दा बढी मात्रा त्यसै थन्किएको छ। यस्तो अवस्थामा अब खोपको अभाव नहुने भन्दै यसअघि पूर्ण खोप लगाएकाहरूलाई बुस्टर मात्रा दिनुपर्ने बहस सुरु भएको छ।

नेपालमा पछिल्लो समय खोप पर्याप्त मात्रा छ तर, खोप लगाउने प्रक्रिया सुस्त भएको छ। यसले गर्दा हाल देशभर १ करोड १ लाख ५० हजार मात्रा खोप भण्डारण गरेर राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका अनुसार हाल टेकुस्थित केन्द्रीय खोप भण्डारण कक्ष र विभिन्न प्रदेशमा गरी १ करोड १ लाख ५० हजार मात्रा खोप भण्डारणमा रहेको बताइएको हो।

यी खोप थन्किएका छन् भण्डारमा

आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार हाल प्रदेश र केन्द्रमा गरी ३० लाख ७८ हजार २० मात्रा मोडर्ना, ३४ लाख २३ हजार ७ सय ९० मात्रा कोभिसिल्ड, २१ लाख ७६ हजार ६ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन र १४ लाख २४ हजार मात्रा भेरोसेल खोप भण्डारणमा रहेको बताए।

चौरासियाका अनुसार यी खोपमध्ये धेरै खोप प्रदेशमा रहेको बताए। ‘पछिल्लो समय खोप आउने क्रम बढ्दै गएको छ, जसले गर्दा धेरै खोप भण्डारमा राख्नुपर्ने अवस्था आएको हो,’ उनले भने।

उनका अनुसार सबै खोप एकै पटक नआएकाले पहिले आएको खोपको म्याद थोरै र भर्खर आएको खोपको म्याद धेरै रहेको समेत बताए।

अझै ३ करोड मात्रा खोप आउने क्रममा छ। खोप दिनका लागि ७ हजार केन्द्र स्थापना गरे पनि सबै केन्द्रबाट निरन्तर खोप नलगाउँदा पनि खोप भण्डारमा थन्किएको विज्ञहरूले बताएका छन्।

सरकारको पछिल्लो तथ्यांक हेर्दा हाल दैनिक सरदर २ लाखभन्दा बढीले कोरोनाविरुद्ध खोप लगाइरहेका छन्।

अहिलेसम्म कुल जनसंख्याको ३८ दशमलव ७ प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन् भने ३१ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन्।

कुल जनसंख्याको ५० प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेपछि मात्र बुस्टर डोजमा जान विज्ञहरूले सल्लाह दिएका छन्।

सरकारले यही पुस ४ गतेदेखि १२-१७ वर्षका किशोरकिशोरीलाई मोडर्ना खोप दिने भएको छ। त्यसका लागि विद्यालयलाई खोप केन्द्र तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.