महासचिवमा जनार्दन र वर्षमानबीच प्रतिष्पर्धाको संभावना

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा तीन दशकदेखि निरन्तर नेतृत्व जमाइरहेका छन्। पछिल्लो समय राजनितिक दलहरुमा पुस्तान्तरणको चर्को बहस चलिरहेको भए पनि माओवादीको यही ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै सर्वसम्मत नेतृत्व घोषणा निश्चित प्रायः छ। 

संसदमा तेस्रो दल रहेको माओवादीलाई एमालेसँगको एकता भंगपछि पार्टीलाई माथि उठाउन चुनौती छ। पार्टीलाई दुई ठूला पार्टी एमाले र  कांग्रेससँग प्रतिस्पर्धामा जानका लागि माओवादीलाई प्रचण्डकै नेतृत्व आवश्यक भएको नेताहरु बताउँछन्। 

माओवादीको अध्यक्षमा तत्काल प्रचण्डको विकल्पमा अर्को कोही निस्कने सम्भावना नै अत्यन्त कमै छ। हालै सम्पन्न एमालेको दशाैं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध भीम रावलले चुनाैती दिएका थिए।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाविरुद्ध चार जना नेता प्रतिष्पर्धामा उत्रिएका थिए। राप्रपामा त कमल थापालाई राजेन्द्र लिङ्देनले चुनौती मात्रै दिएनन्, नेतृत्वबाटै पाखा लगाउन सफल भए। 

तर निरन्तर नेतृत्वमा रहेका प्रचण्डलाई चुनौतीसम्म दिन सक्ने कोही पनि देखिएको छैन।  माओवादीमा तत्कालका लागि पार्टी सम्हाल्न सक्ने नेता नदेखिएको स्वयं  नेताहरुले स्वीकार गरिरहेका छन्। 

तत्कालीन माओवादी जनयुद्धमा प्रचण्डको विकल्पमा  डा. बाबुराम भट्टराईलाई लिने गरिन्थ्यो। तर, उनी माओवादीबाट बाहिरिएर अहिले जनता समाजवादी पार्टी (जसपा)मा पुगेका छन्। प्रचण्डको उत्तराधिकारीको रुपमा लिने  अर्का नेता थिए नेत्रविक्रम चन्द ‘विप्लव’। 

तर, उनी पनि फरक बाटोमा छन्। एमालेसँगको पार्टी विभाजनपछि प्रचण्डले विप्लवलाई पार्टीमा फर्काउन पहल गरिरहेका छन्। त्यसका लागि प्रवक्ता कृष्णबहादुर महरा सक्रिय छन्। दुवै पक्षबाट सकारात्मक ‘सिग्नल’ प्राप्त भएपनि ठोस सहमति बन्न सकेको छैन।  

अहिले प्रचण्डपछि माओवादीमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरादेखि पम्फा भुसालसम्म देखिएका छन्। तर, पार्टी तहले उनीहरुको नेतृत्व पत्याएको छैन। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ।

त्यसो त प्रचण्डले आफू नेतृत्व हस्तान्तरण गर्न चाहेको भएपनि उपयुक्त पात्र नभेटेकाले तत्काल सम्भव नभएको सार्वजनिक रुपमा बताइरहेका छन्। 

‘योग्य व्यक्ति आए म जिम्मेवारीबाट बिदा लिन चाहन्छु। माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’ असोज १४ गते अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए। 

राम्रो विचार, कार्यदिशा लिएर आउनेलाई उत्तराधिकारी घोषणा गरेर बिदा लिने उनको भनाइ छ। प्रचण्डले भनेका थिए, ‘माओले लिनप्याओलाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ। त्यही लिनप्याओ माओलाई गोली हान्न गयो। त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन।’

२०४८ सालमा चारवटा कम्युनिष्ट घटकहरुबीच एकीकरणपछि नेकपा (एकता केन्द्र मसाल) नामको पार्टी बनेको थियो। एकताकेन्द्र मसालको महामन्त्रीबाट सुरु भएको प्रचण्डको यात्रा २०५१ सालमा राष्ट्रिय भेलामार्फत जनयुद्धमा जानेगरी माओवादी गठन गरेर अध्यक्षको जिम्मेवारी प्रचण्डले निर्वाह गरेका थिए। जुन अहिलेसम्म यथावत् छ। 

कस्तो बन्छ टिम ?

प्रथम राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महरा बताए। 

प्रवक्ता महराले भने, ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य हो, २१ औँ शताब्दीसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन्। विश्व साम्राज्यवादले लिएको नयाँ रुपलाई परास्त गर्न नयाँ क्रान्तिकारी विचार र पार्टीको आवश्यकता छ।’

सामन्तवादको अवशेष उखेलेर फाल्ने ढंगबाट माओवादीको नेतृत्वमा जनयुद्ध भएकाले ०६४ सालको निर्वाचनमा आम जनताको विश्वास जित्नुपर्ने उनको बुझाइ छ। 

पार्टीको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। तर, माओवादीले पदाधिकारी कति जना बनाउने भन्ने कुरा विधानमा उल्लेख गरेको छैन। 

‘केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो, पोलिटब्युरो कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति, दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने छ’ विधानमा भनिएको छ, ‘केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिव समेतको एक केन्द्रीय सचिवालय रहने छ।’

केन्द्रीय कमिटीलाई विधानअनुसार महिला, दलित, मुस्लिम र युवाका लागि कोटा छुट्याएको छ। यीबाहेक अन्य केन्द्रीय कमिटीमा खुला प्रतिस्पर्धाबाट आउनुपर्नेछ।

प्रचण्डलाई सहज, पदाधिकारीमा टक्कर

सम्मेलनबाट प्रचण्ड सर्वसम्मत नेतृत्वमा आउने भएपनि त्यसभन्दा पछाडिको पदमा प्रतिस्पर्धा हुने देखिएको छ। सर्वसम्मत बन्न नसकेपछि बागमती र प्रदेश १ मा निर्वाचन गरेको माओवादीले अध्यक्षपछिको पदाधिकारीमा पनि रोचक प्रतिस्पर्धा हुनसक्ने देखिएको छ। 

राष्ट्रिय सम्मेलनबाट माओवादी केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर ९ जनाको पदाधिकारी चयन गर्ने स्रोतले बताएको छ। स्रोतका अनुसार उपाध्यक्ष र सचिवमा ३/३ जना रहनेछन्। 

अहिलेको अवस्थामा माओवादी केन्द्रको नेतृत्व गर्न प्रचण्डको विकल्प अरु नभएको केन्द्रीय सदस्य युवराज चौलागाईं बताउँछन्। 

उनी भन्छन्, ‘अध्यक्षमा उहाँ (प्रचण्ड) भएपनि अन्य पदमा कसलाई ल्याउने? कसरी ल्याउने? भन्ने बिषयमा पार्टीमा छलफल भइरहेको छ।’

समावेशी, महिला, पुराना, युवालगायत सबै क्षेत्रलाई समेटेर समावेशी र कामयावी टिम बन्ने उनको भनाइ छ। 

पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देव गुरुङ, वर्षमान पुन, पम्फा भुषाल, मातृका यादव, ओनसरी घर्ती, जयपुरी घर्ती, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेललगायत दर्जन बढीले आकांक्षा व्यक्त गरिरहेका छन्। 

अध्यक्षपछि प्रमुख कार्यकारी पद महासचिवमा नेताहरुको बढी चासो देखिएको छ। प्रचण्डपछि पार्टी नेतृत्व सम्हाल्ने महत्वपूर्ण महासचिव पदमा शर्मा र पुनबीच एकजनाको बलियो सम्भावना छ। यी बाहेक देव गुरुङ, पम्फा भुसालले पनि महासचिवको लविङमा लागिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.