यातायात सम्पर्क विच्छेद

|

धनगढी : देशभर आज (बुधबार) वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हिमपात भएको छ। मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको हो।

लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरू हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन्। हिमपातसँगै प्रदेशमा जाडो बढेको छ।

हिमपातले जनजीवन भने निकै कष्टकर बनाएको छ। आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरू क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभावर, बाजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।

केही ठाउँमा अहिले पनि हिमपात भइरहेको छ। सुदूरका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको स्थानीयले बताएका छन्।

यस्तै तराईका जिल्लाहरू कैलाली कञ्चनपुरमा भने वर्षा भएको छ। वर्षासँगै बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।

यातायात सम्पर्क विच्छेद

हिमपातका कारण पहाडी जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायत ठाउँमा बाक्लो हिमपात भएका कारण पहाडी जिल्ला भित्रिने–बाहिरिने सावरीसाधन बाटोमै रोकिएका छन्।

हिमपातपछि भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्टेमा र दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ। राजमार्गहरू खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको बताइएको छ।

चिसोले वृद्धवृद्धा र बालबालिका प्रभावित हुनसक्ने भन्दै चिकित्सकले ख्याल राख्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.