रुकुम (पूर्व) : रुकुमपूर्व हिउँले सजिसजाउ भएको छ। बुधबार र बिहीबार दुई दिन परेको हिउँले अहिले रुकुमपूर्वका उच्च भेगसँगै अधिकांश बस्ती हिउँले सजिसजाउ भएको हो।
दुई दिनसम्म परेको हिउँ अहिले गाउँ–बस्ती सजिसजाउ देखिएका छन्। बिहीबार (आज) तमु ल्होसार पर्वको सार्वजनिक बिदा भएकाले स्थानीय नागरिकसँगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पनि हिउँमा रमाइ राखेका छन्।
हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ, भने रुकुमपूर्व र बाग्लुङ अन्तर्गतको मध्यपहाडी लोकमार्ग सडक खण्ड हिउँले अवरुद्ध बनाएको छ। साथै जिल्लाभित्रका ग्रामीण कृषि सडक पनि अवरुद्ध नै भएका छन्।
हाल हिउँले केही मात्रामा जनजीवन अस्तव्यस्त बनाए पनि किसान भने हिउँदे बालीलाई सिंचित भएको र अब बाली सप्रिने भन्दै हर्षित छन्।
लामो समयसम्म पानी र हिउँ नपरेले यस पटकको हिउँ र पानीले किसान खुसी छन्। जिल्लामा सिंचाइको व्यवस्था नहुँदा आकाशे पानीको भरमा खेतीपाती गरिरखेका किसानलाई सिंचाइको राहत मिलेको भूमे गाउँपालिका–२ गाबाङका सुजन घर्ती मगरले सुनाए।
लेकाली क्षेत्रसँगै हिउँ परेको बस्तीको घर आँगन, बारी, चौतारो तथा वन जंगलमा हिउँले भरिभराउ भएका छन्। ‘हिउँदे बालीको राम्रो उब्जनी हुने भो’ अर्का स्थानीय बिनपूरा रोका मगरले भनिन् 'वर्षे बालीको लागि पनि माटो मलिलो बनाउँछ अनि वर्षे बालीको उब्जनमा ठूलो साहयता पुग्ने भो।’
हिउँदमा पानी र हिउँ नपरेको वर्षमा अनिकाल व्यहोर्दै आएको समेत स्थानीयले बताउछन्। यहाँका किसानका बारीमा अहिले हिउँदको मुख्य बाली गहुँ, जौ साथै तरकारी हुर्किराखेको छ।
लेकाली क्षेत्रका सबैतिर बाक्लो हिमपात र गाउँमा चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ। पशुचौपाया गोठभित्र राखिएको छ। हिमपातपछि समस्यामा परिन्छ भनेर सर्वसाधारणले पहिल्यै तयारी गरेका हुन्छन्। बारी तथा काल्नाको हरियो घाँस काटेर सुकाएको घाँस अहिले पशुचौपायालाई खुवाइ राखेका छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।