|

काठमाडौं :  केही दिनअघि राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक 'एनिमल फार्म' मञ्चन भयो। बेलायती लेखक जर्ज अरवेलको उपन्यासमा आधारित नाटकलाई नाटकका दर्शकले औधी मन पराए। यसको परिकल्पना, नेपाली अनुवाद तथा निर्देशन गरेकी थिइन् आकांक्षा कार्कीले। 

उक्त नाटकमा मुख्य पात्र मध्येको एक थियो- केपोलियन सुँगुर। जसको भूमिकामा इँगी होपो कोइँच सुनुवार देखिएका थिए।

केपोलियनलाई देखेर सबै दर्शकलाई रिस उठ्थ्यो। यसलाई एउटा कलाकारको सफलता मान्छन् इँगी। उनको कामको धेरैले तारिफ पनि गरे। 

सात वर्षदेखि निरन्तर रंगकर्ममा सक्रिय इँगीले धेरै नाटकमा अभिनय तथा प्रकाश परिकल्पना, परिचालन गरेका छन्। यसका अलावा उनको नाटक लेखन तथा निर्देशनमा रुचि छ।

नेपाली रंगकर्म, एनिमल फर्ममा उनले गरेको चरित्र, नाटकमा कलाकारले  पाउने पात्र, ती पात्रलाई न्याय दिन गरिने मिहिनेतबारे थाहाखबरका लागि मुक्ति पौडेलले सुनुवारसँग  गरेको कुराकानीको सम्पादित अंश : ​

नाटक अथवा फिल्ममा काम गर्दा  कलाकार निश्चित पात्रको चरित्र निर्वाह गरेको हुन्छ। नाटक मञ्‍चन वा फिल्ममा काम गरेको लामो समयसम्म पनि कलाकारलाई पात्रको ह्याङओभरले पछ्याइरहन्छ भन्छन्। पात्रले व्यक्तिगत जीवनमा कसरी पछ्याउँदो रहेछ?

मैले पनि सुनेको हो। तर, मेरो केसमा चाहिँ पात्रले त्यस्तो धेरै दुःख दिएको भन्ने छैन। नाटक सकिएपछि म साथीहरू भेट्छु, घुम्छु, घरमा परिवारसँग भइन्छ। जसले मलाई चरित्रभन्दा पनि साथीभाइ, छोरा एउटा कलाकारको रूपमा हेर्नुहुन्छ। त्यही अनुसारको व्यवहार हुन्छ। ती कुराहरूले फेरि इँगीको सामान्य जीवनमा फर्कन मद्दत गर्छ।

फेरि हुँदै हुँदैन भन्ने पनि होइन। नाटक सकिएपछि भन्दा पनि मलाई केपोलियनले नाटकको सुरुका शोमा, शो हुनुभन्दा अगाडि रिहर्सलका बेला अलि बढी दुःख दियो।

केपोलियनको 'सबै मै हुँ' भन्ने स्वभाव जुन मेरोभन्दा एकदमै फरक थियो, त्यो ममा पनि हाबी हुन खोजिरहेको थियो। टाउको दुखाएको थियो। त्यस्तो हुँदा आफूलाई शान्त बनाउने कोशिस गरेँ। काम सक्ने अनि घर जाने आराम गर्ने। 

पछ्याउने कुरा व्यवहारमै पनि देखिन्थ्यो?

त्यसरी बाहिरै देखाउने ठाउँ त भएन। म कुनै पात्रको लागि तयारी गर्दा बढी काम आफूभित्रै गर्छु। त्यसलाई मेरो व्यवहारमा आउन दिनु हुँदैन भन्ने थाहा थियो।  यो चरित्र निर्वाह गरिराख्दा मात्रै होइन कहिल्यै पनि आउन दिनुहुन्न भन्नेमा अबेर चाहिँ भइरहेको थिएँ। साथीहरूलाई पनि मैले केही असहज बनाइरहेको छु भने भन्नु भनिराख्थेँ। 

पात्रको वास्तविक चरित्र ल्याउन कलाकारले लामो समय मिहिनेत गरेको हुन्छ। के उसले त्यो पात्रलाई हटाउन पनि लामो समय लगाउँछ?

प्रोसेस त हुन्छ नै। सबैको आफ्नो आफ्नो हुन्छ। कुनै लामो प्रोसेस हुन्छ कुनै छोटो हुन्छ। 

कुनै चरित्र पाइसकेपछि म त्यसको इन्टेन्सन के हो भनेर खोज्न थाल्छु। यसले के के गर्न सक्छ? को मान्छेसँग मिल्दोजुल्दो छ? अथवा कस्तो हुन सक्छ? भन्ने आफैंले इम्याजिन गरेर खोजेर काम गर्छु।  घरमा एक्लै बस्दा बाटोमा हिँड्दा पनि त्यो कुराहरू ख्याल गरिराखेको हुन्छु। मान्छेसँगै गएर इन्टरएक्ट चाहिँ गर्दिनँ। त्यो प्रोसेस चलिराखेको हुन्छ। राति निदाउँदा पनि। कहिलेकाहीँ सपना पनि त्यस्तै देखिन्छ।

केपोलियनकै चरित्र गर्दा पनि त्यस्तै सपना देखेको थिएँ। सपनामा म केपोलियन जस्तो एग्रेसिव भइरहेको थिएँ। कहिलेकाहीँ चरित्रले त्यसरी डोहोर्‍याउँछ। राति सुत्दा पनि दिमागले कुरा गरिरहेको हुन्छ। त्यस्तो धेरै पटक भएको छ। 

निस्किने पनि त्यस्तै प्रोसेस हुन्छ। मलाई चाहिँ साथीहरूसँगको भेटघाट, घुमघाम, परिवारसँगको कुराकानीले रिब्याक गराउन हेल्प गरिरहेको हुन्छ। तर कहिलेकाहीँ दिमागले छाडिसक्दा पनि शरीरमा थाहा नपाउने गरी रहिरहेको हुन्छ। बडी ल्याङ्ग्वेजमा, टोनमा ती कुरा बसिरहेका हुन्छन्। 

फेरि अर्को काम गर्दा पनि त्यो कुरा आउन सक्छ। त्यसैले आफ्नो बडीले के गरिराछ'? के भन्न खोजिराछ'? चेक गरिराखेको हुन्छु।

नेपाली रंगकर्ममा ७/८ वर्षको अनुभव पनि छ।  यसअघि पनि कुनै पात्रले पछ्याइरहेको कुनै अनुभव छ? 

'आधा सत्य' नाटकमा एउटा थारू क्यारेक्टर थियो। जसको छोरा बेपत्ता पारिएको थियो। त्यो पात्रका लागि बोलीवचन बडी ल्याङ्ग्वेजमा काम गरेको थिएँ जुन नाटक सकिएपछि पनि लामो समयसम्म रहिरहेको थियो। 

त्यसरी पछिसम्म याद आइराख्ने बडीमा पनि देखिराख्ने चरित्र 'योजना पार्क'को सपस्ट पनि हो। त्यो दर्शकहरूले एकदमै याद गरेको चरित्र पनि हो। सपस्ट चाहिँ एकदम ठोकुवा गरेर भन्ने आफ्नो मत स्पष्ट राख्ने खालको थियो। त्यसले लामो समयसम्म डोहोर्‍याएको थियो। 

अर्को 'डमरुको डन्डीबियो' फिल्ममा बच्चाको चरित्र थियो। त्यो गरिराख्दा सबैले बच्चा नै देख्ने अनि आफ्नै बोली व्यवहार पनि बच्चाको जस्तै भएको हो कि जस्तो लाग्थ्यो। 


आफूभित्रबाटै आएको भएर होला कहिलेकाहीँ आफ्नो र त्यो पात्रको चरित्र नछुट्टिने पनि हुने रहेछ। 

नाटक सकियो मैले केपोलियन क्यारेक्टर छाडेँ भनिराख्दा पनि नाटक हेरेको दर्शकको दिमागमा म केपोलियन नै भएर बसेको हुन्छु। नाटक हेरेको नोटिस गरेको दर्शकले कतै भेटेर तपाई केपोलियन है भन्दा नाटकसँग जोडिएका कुरा देख्दा अथवा अहिले यसरी नाटकको क्यारेक्टरको कुरा गर्दा पनि सबै रिकल हुने रहेछ। 

हिजो साथीसँग घुम्न गएको (फोटो देखाउँदै) घोडाको मूर्तिले नाटकको भक्त घोडासँगको सम्बन्ध सम्झाइदियो। अनि केपोलियन पोजमा फोटो पनि खिचेँ। यसरी एउटा क्यारेक्टर पछि लागिराखेको हुन्छ। 

कुनै पात्रको चरित्र निर्वाह गर्दा नाटक र फिल्ममा कस्तो फरक हुँदो रहेछ?

नाटकमा एउटा क्यारेक्टरलाई बोकेर एउटा शो गर्नु सजिलो पनि हो सँगसँगै गाह्रो पनि हो। किनभने नाटकमा एउटा सिन आजको अनि अर्को दुई वर्षपछिको पनि हुन सक्छ। 

त्यत्रो लामो समय अन्तरको सिन तुरुन्तै गर्नुपर्‍यो। त्यो एउटा गाह्रो कुरा पनि हो तर एउटा क्यारेक्टर बोकेर एक दुई घण्टामै शो सकिनु राम्रो कुरा पनि छ। 

फिल्ममा एउटा सिन आज छ, अर्को एक हप्तापछि, १५ दिनपछि पनि हुन सक्छ। तर, त्यो क्यारेक्टरको इन्टेन्सन, क्यारेक्टरको गोल, क्यारेक्टरले गर्ने हाउभाउको कुराहरू अभ्यास गरिरहेका हुन्छौँ बोकिराखेकै हुन्छौँ। 

कहिलेकाहीँ पहिलो सिन र दोस्रो सिनबीचको समयमा घटेका घटना, भेटेका मान्छे अनि मुडले गर्दा एक्टरलाई गाह्रो बनाउन सक्छ। तर, आफ्नो क्यारेक्टरको इन्टेन्सन, गोल, हाउभाउ, बोलीचाली, स्वभावजस्ता कुराको आफूले राम्रोसँग अध्ययन गरिएको छ भने त्यस्तो धेरै गाह्रो हुँदैन। 

अनि आफूले काम गरिरहेको टिम कस्तो छ, काम गर्ने वातावरण कस्तो बनेको छ भन्ने कुराले पनि फरक पार्छ।

नाटक चलिरहँदा एउटा शो सकिएपछि एउटा कलाकारले के सोच्छ? अथवा तपाईं के सोच्नुहुन्छ? त्यसको भोलिपल्ट अथवा त्यही दिन अर्को शो पनि भएको अवस्थामा?

अर्काे शोको पर्खाइ हुन्छ। किनभने एउटा चरित्रको लागि लामो समयदेखि काम गरिरहेको हुन्छ। दिमागमा तिनै कुराहरू नै हुन्छन्। दिमागलाई बिजी बनाउने अरू काम पनि भएको हुँदैन त्यो बेला। 

बाहिर कसैसँग कुरा गरिराख्दा पनि भित्र चरित्र पनि चलमलाइ रहेको हुन्छ। भित्रको चरित्र र आफैँलाई पनि अर्को शो हुने समयको प्रतीक्षा हुन्छ। 

चरित्रको कुरा मात्रै होइन। चरित्र त हामी पनि हौँ। हामी सबैको आफ्नो आफ्नो कथा छ। अहिले यसरी बसेर कुरा गरेका छौँ। यो पनि कुनै सिन जस्तै हो।

तर, नाटक भनिसकेपछि त्यो एउटा परफर्मेन्स पनि हो। परफर्मेन्स गरिरहँदा अडियन्स कति छ? के छ? भन्ने कुराले त फरक पार्दैन। तर, एउटा राम्रो शो गर्नको लागि पात्रसँगै कलाकार पनि अवेअर भइरहनुपर्‍यो। टाइमिङको कुरा, पेसको कुरा, एनर्जीको कुरा हुन्छ।

शो गरिराख्दा कुनै एक्सिडेन्ट भयो भने त्यसलाई कसरी मिलाउने? कहिलेकाहीँ इम्प्रोभाइज गर्न नमिल्ने एक्सिडेन्ट हुन्छ। त्यो एक्टरकै काम हुन्छ। त्यस्तो अवस्थाको लागि पनि तयार रहनुपर्छ।

मानिलिऊँ शो चल्दाचल्दै बत्ती गयो। क्यारेक्टरले के गर्ने? त्यहाँ त एक्टर नै हुनुपर्छ। एक्टरले थाहा पाएर होल्ड गरेर बत्ती आउने बेलासम्म कुर्नुपर्‍यो अँध्यारोमै नाटक सकेर त भएन। त्यसैले एक्टरको अवेअरनेस पनि चाहिन्छ।

आजको शो सकियो भनेर पनि भएन। क्यारेक्टरले भन्नुपर्ने सबै कुरा भन्यो कि भनेन? कसरी भन्यो? त्यसरी गर्दा नाटकलाई राम्रो भएको छ कि हानि पुर्‍याइरहेको छ। कहिलेकाहीँ नाटक एकातिर पात्र अर्कोतिर भइरहेको हुन सक्छ। त्यो सबै कुरा ख्याल गर्नुपर्छ। 

नाटक सकिएपछि आउने अडियन्सको रेस्पोन्सले पनि अघिल्लो शो र पछिल्लो शोको परफर्मेन्समा थोरै फरक पार्न सक्छ। रेस्पोन्स नै आएर सबै चेन्ज गर्ने भन्ने त हुँदैन तर मनन् गरिन्छ।

आफूभित्रको क्यारेक्टर र एक्टरको द्वन्द्व शो सकिएपछि पनि चलिराखेकै हुन्छ। एउटा शो सकिएपछि ती सबै कुराहरू ख्याल गरेर अर्को शोमा कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुराहरू नै दिमागमा हुन्छ।

केपोलियन पात्र निर्वाह गर्न तयारी कसरी गर्नुभयो?  त्यसलाई आवश्यक आधारभूत तत्वहरू एकैठाउँबाट लिनुभयो कि अन्य विकल्पहरू  पनि थिए?

 मैले धेरै ठाउँबाट लिएँ। पहिलो कुरो केपोलियन सुँगुर हो जनावर तर मान्छेले खेल्दैछ। मान्छे जसरी बोल्छ मान्छेकै प्रवृत्ति छ। धोका, स्वार्थ, आक्रोश सबै छ। 
मान्छेको प्रवृत्ति सुँगुरमा ल्याउनुपर्ने थियो। यस्तो मान्छे को हुन सक्छ? रिसाउँदा सुँगुरले के गर्न सक्छ? खुसी कसरी देखाउँछ? शरीरको चाल कस्तो हुन्छ? भन्ने धेरै कुराहरू जोड्दै जाँदा यस्तो बनेको हो। 

नाटक राजनीतिसँग पनि जोडिएको थियो। राजनीतिलाई हान्नुपनि थियो फेरि ठ्याक्कै त्यही मान्छेहरू ल्याउनु पनि थिएन। त्यसो हुँदा क्यारेक्टरको सेल्फिसनेस एग्रेसन कसरी आउन सक्छ? भनेर बडी पोस्चरदेखि मुभमेन्टहरू मार्फत कसरी देखाउन सक्छु भनेर खोज्दै गएँ। जोड्दै गएँ। 

नाटक हेरिराख्दा अडियन्सलाई त्यो क्यारेक्टरदेखि रिस उठ्नै पर्छ नि त! अडियन्सलाई रिस उठेन भने नाटक र त्यो पात्र दुवै कमजोर भयो। 

जो काम गर्दैन, ठूलो कुरा मात्रै गर्छ, माथि पुगेपछि आफ्नो दुःख बिर्सन्छ त्यस्ता मान्छेलाई हेरेँ। उनीहरूले कसरी त्यस्तो जालझेल गर्न सके? त्यसलाई सुँगुरसँग जोडेर ती कुराहरू आँखाबाट आवाजबाट कसरी देखाउन सकिन्छ भनेर खोजेँ। क्यारेक्टरको भित्री इन्टेन्सन अनि बाहिर बडी ल्याङ्वेजमा छुट्टाछुट्टै काम भयो। 

केपोलियन पात्र बनाउन नेपालका नेताहरूको चरित्रले पनि सहयोग गर्‍यो कि नाइँ? 

नेताहरूले भन्दा पनि उनीहरूको चरित्रले हेल्प गर्‍यो। मलाई केपी ओली भनेर केपी ओलीको हाउभाउ बोलिचाली ल्याउनु थिएन। समाचारहरू हेर्दा देखिने छुट्टै भयो तर उनीहरूलाई खोजेर हेरेर काम गरिनँ। 

नाटकमा केपोलियन भनेको एउटा व्यक्ति नभएर एउटा प्रवृत्ति हो। व्यक्तिभन्दा पनि त्यो प्रवृत्ति देखिनुपर्थ्यो। मैले जनआन्दोलनका कुराहरू सम्झिएँ। पुष्पकमल दाहाल, बाबुराम भट्टराईजस्ता नेताहरू सम्झिएँ। कुन स्टेजबाट आएर कसरी परिवर्तन भए। कसरी जनयुद्धका जनसेनालाई बिर्सिन सके भनेर खोजेँ। उनीहरूको प्रवृत्ति लिने कोसिस गरेँ। 

नाटक हेर्ने सबैले केपोलियनलाई गाली गरेर निस्किए। तपाईं आफूलाई चाहिँ केपोलियन पात्रबारे के सोच्नुहुन्छ? 

उसको जस्तो प्रवृत्ति चाहिँ कसैको नहोस्। हुनु हुँदैन भन्ने लाग्छ। केही अडियन्सले प्रत्यक्ष भेटेर काम राम्रो छ तर त्यस्तो चाहिँ नहुनु है भनेर पनि भन्नुभएको छ। तर, त्यो पात्रको चाहिँ एकदमै धेरै माया लाग्छ। 

मैले यो क्यारेक्टर पाउनु भनेको मेरो लागि सामान्य कुरा थिएन। एन्टागोनिस्ट भए पनि केपोलियन नाटकको लिड क्यारेक्टरजस्तो थियो।

पहिलैदेखि मलाई देख्नेहरूले कस्तो इनोसेन्ट, कस्तो हँसमुख, कस्तो क्युट देखिएको भनिराख्नुहुन्थ्यो। यसअघि धेरै थरि क्यारेक्टर गरे पनि नेगेटिभ रोलमा यो मेरो पहिलो काम हो। पहिले गरिराखेको भन्दा फरक काम पाएँ त्यो हिसाबले पनि खुसी छु। 

एउटा कलाकारलाई धेरै भेरिएसनमा काम गर्न पाउँदा भाग्यमानी महसुस हुन्छ। मेरो चाहना पनि त्यही थियो फरक काम गर्ने।

धेरै साथीहरूले 'तिमी यस्तो रोल पनि गर्न सक्छौँ?' भनेर कहिल्यै सोचेको थिएन पनि भन्नुभयो। 'तिमीलाई त यो रुपमा इम्याजिन नै गरेको थिएन' भन्ने कुराहरू पनि आयो। 

यस्ता कुराहरूले आनन्द दिलायो। 

विभिन्न कारणहरूले गर्दा त्यो पात्रको धेरै माया पनि लाग्छ। तर, त्यो पात्रको चरित्र भने ममा मात्र होइन कसैमा पनि नआओस् भन्ने नै लाग्छ। 

धेरै मान्छेले हेरेको, मन पराएको नाटकको हिस्सा हुन पाउँदा एउटा कलाकारलाई चाहिँ कस्तो महसुस हुन्छ?

कुनै नाटक हेर्दा आफूले पनि यो नाटकमा काम गर्न पाएको भए, ब्याक स्टेज नै भए पनि बस्न पाएको भए कति धेरै कुरा सिक्न पाइन्थ्यो होला, कति मजा आउँथ्यो होला भन्ने हुन्छ। 

एनिमल फार्ममा काम गर्न पाएकोमा म एकदमै खुसी छु अनि थ्यांकफुल पनि छु। विशेषगरी डिरेक्टरसँग, कथा घेरासँग थ्यांकफुल छु। किनभने पहिलो कुरा त एउटा एन्टागोनिस्ट भएर काम गरेको यो मेरो पहिलो नाटक हो। अनि एउटा जनावरमा मान्छेको प्रवृत्ति उतारेर काम गर्नु एकदमै च्यालेन्जिङ थियो। त्यो च्यालेन्जिङ काम गर्न पाउनु, आफूबाटै त्यो कुराहरू निकाल्नु, त्यसबाट राम्रो रिजल्ट पनि आउनु भनेको सुखद पक्ष हो। 

अनि एउटा सक्सेसफुल नाटकको पार्ट हुन पाउँदा, पछि पछि मान्छेहरूले तपाईंको नाटक हेरेको थिएँ अथवा सुनेको थिएँ भन्दा पनि खुसी लाग्छ। नाटकमा खुसीको पाटो त्यति नै त होला। अरू त के छ र? पैसा भनौँ भने पैसा त्यस्तो धेरै हुने होइन। काम मन पराएर कसैले अर्को काम देला भन्ने हो। 

त्यस्ता नाटकहरूमा पछिल्लो समय गरेको 'दयालु रूख', 'पाँच', 'एनिमल फार्म' अनि मण्डलामा गरेका केही नाटक पर्छन्। ती नाटकका बारेमा कुरा हुँदा त्यतिबेला कसरी काम गरिएको थियो भनेर जर्नी याद आउँदो रहेछ। त्यसले आनन्द दिँदो रहेछ। 

अनुभव सम्झनाहरू नै त रहेछ नि जीवनको सम्पत्ति भन्नु।  यस्तै होला हौ। यस्तो नाटकको पार्ट हुँदा आनन्द त लागिहाल्छ नि (लामो सास फेर्दै) आहा !

 अन्तिम शोको मञ्चनपश्चात् नाटकमा प्रयोग भएका कस्ट्युम, प्रप्स, सेटसँग एउटा कलाकारको सम्बन्ध कस्तो रहन्छ?

त्यो एकदमै मिठो रहन्छ। कस्ट्युम, प्रप्स, स्टेजको पनि एकदमै धेरै माया लाग्छ। छुट्दा नराम्रो त लाग्छ तर त्यहाँबाट अगाडि जानुको विकल्प नै हुँदैन। एउटा कलाकारको लागि आफूले निभाएको चरित्र एउटा बच्चाजस्तै हुन्छ। त्यो पनि एउटा सिर्जना नै हो नि त। माया लाग्छ तर धेरै भावुक भएर त्यहीँ बस्यो भने अर्को काम कसरी गर्ने? अर्को सिर्जना कसरी जन्माउने?

माया लाग्छ तर छाड्नुको विकल्प नै हुँदैन। त्यसलाई बिर्सेर छोडेर अगाडि बढ्ने हो भन्दै गर्दा पनि कहिलेकाहीँ त्यो पात्रले हामीलाई छाड्न गाह्रो मानिदिन्छ। 

यही शरीरमै बसेको पात्र हो। अहिले केपोलियनभन्दा दिमागमा उसका सबै कुरा मिसिएको एउटा भिजुअल आइहाल्ने रहेछ।  बिर्सिने भन्ने त हुँदै हुँदैन जस्तो लाग्छ। मैले ७ वर्षअघि जार नाटकमा गरेको चरित्र, ६ वर्षअघि योजना पार्क नाटकमा गरेको चरित्र अहिले पनि कहिलेकाहीँ दिमागमा सरर्र बग्छ। तर, त्यसमै अल्झिराखेको भए अहिले केपोलियन आउने थिएन।  त्यसैले मुभ अन हुनुपर्छ। 

तैरिने हो डुब्‍ने होइन। तैरियो भने सबै समुद्र तर्न सकिन्छ, डुबियो भने त सकिहाल्यो नि! त्यसैले तैरिने कोशिस गर्छु। गर्दैछु। अब अलि दिनमा फेरि अर्को नाटक पनि गर्नु छ।

तस्वीर: जेडी तमु 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.