|

काभ्रे : जिल्लाको पनौती नगरपालिकामा मकरमेला अवधिभर टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ।

पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’लाई मद्देनजर गर्दै माघ महिनाभर नगरक्षेत्रमा टिप्पर सञ्चालनमा रोक लगाउने भएका हुन्।

मकर मेलालाई व्यवस्थित बनाउन टिप्पर सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पनौतीमा मकरमेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।

पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं मकरमेला मूल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले मकरमेला तयारी सम्बन्धी जानकारी पत्रकार सम्मेलनमा मेलामा श्रद्धालुको उपस्थिति बाक्लो हुने भएकाले टिप्पर सञ्चालनमा रोक लगाइएको बताए।

उनले भने, ‘सवारी व्यवस्थापनमा समस्या आउने भएकाले एक महिनाका लागि टिप्पर पनौती बजार क्षेत्रमा सञ्चालन गर्न रोक लगाइएको हो।’

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीका अनुसार पनौती क्षेत्रमा दैनिक ३ सयको हाराहारीमा टिप्पर गुड्ने गरेका छन्।

उनले मकरमेला व्यवस्थापनका लागि ८ करोड बजेट छुट्याइएको समेत जानकारी दिए। मकरमेला माघ १ गतेदेखि शुरु हुनेछ।

पनौतीमा मकरमेलाको तयारीस्वरूप भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन्।

नगरपालिकाले वर्ष दिनअघिदेखि नै पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरपालिकाका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो।

मेलामा नेपालमा मात्र नभई भारतबाट समेत तीर्थालु आउने गर्दछन्।

मकरमेलाको किंवदन्ती

माघे सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ।

इतिहासविद्ले राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको जनाएका छन्।

तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ।

भारतको प्रयागमा गंगा र यमुना नदीको संगममा गुप्तरूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आइएको छ।

स्कन्द पुराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य) मा वर्णन गरिएअनुसार परापूर्वकालमा ब्रह्माले ‘अहिल्या’ गौतम ऋषिलाई नासोको रूपमा सुम्पिएका थिए। देवराज इन्द्र अहिल्याको रूपबाट मोहित भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए।

स्नान गरी फर्कदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि क्रोधित ऋषिले श्राप दिएपछि इन्द्रको शरीरमा हजारौँ योनि पाप चिह्नका रूपमा देखिएको थियो।

सतित्वहरणपछि पत्थरझैँ विवेकहीन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका र त्रेतायुगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै स्पर्शपछि अहिल्याको श्राप मोचन हुने भनिएको छ।

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला)लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रूपमा गनिएको छ।

शरीरभरी योनि भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकरमेला चल्दै आएको विश्वास छ।

पनौतीको उक्त त्रिवेणी संगममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.