|

काठमाडौं : पुस्तक ज्ञानको स्रोत हो। मान्छेलाई सत्मार्गमा हिँडाउने, गलत कार्य गर्नबाट रोक्ने, असल र विवेकी बनाउने काम पुस्तकले गर्दछ भन्ने मान्यता रहिआएको छ। पुस्तक ज्ञान र विवेकले युक्त हुनुपर्छ भन्ने तथ्य नै शास्वत हो र हामीले पढ्ने भनेकै यस्तै पुस्तक हुन्, जसले हामीभित्रका बैगुन, दुर्गुण, अहं र द्वेषलाई हटाएर विवेकशील र शान्त मानिसका रूपमा परिचित गराउन मद्दत पुगोस्। 

हिजोआज धेरै पुस्तकहरु प्रकाशन भएका छन्। पाठकले आफ्नो रुची र आर्थिक हैसियत अनुसार पुस्तक किनेर पढ्न सक्छन्। बजारमा धेरै पुस्तक भएकाले मानिसले राम्रो पुस्तक चयन गर्न भने कठिन छ। पुस्तक चयन गर्ने मानिसको स्वभाव भने फरक हुन सक्छ। थाहाखबरले केही स्रष्टासँग उनीहरूले सुझाएका केही पुस्तकलाई यहाँ प्रस्तुत गरेका छौं : 

नयनराज पाण्डे, आख्यानकार

हाल पाठकका अगाडि लाखौं किताब छन्। साहित्यिक छनोटका विकल्प धेरै छन्। तैपनि केही कृति सिफारिस गर्नु उपयुक्त लागेको छ। लैनसिंह वाङ्देलले लेख्नुभएको 'मुलुक बाहिर', पिटर जे कार्थकको उपन्यास 'प्रत्येक ठाउँ प्रत्येक मान्छे', गोपालप्रसाद रिमालका कविताहरू, पारिजातका कृतिहरू, शंकर लामिछानेका निबन्धात्मक कृतिहरू आदि।

यी किताब अध्ययन गर्दा नेपाली साहित्यबारे पाठहरूलाई ज्ञान हुन्छ। सरल र बुझिने भाषाका भएकोले पनि लेखकका मन र चिन्तन जान्न सकिन्छ। यी कृतिमा नेपाली साहित्यका चर्चित स्रष्टाका अभिव्यक्ति कला थाहा पाउन सकिन्छ। समाज र परिवर्तन थाहा पाउन सकिन्छ।

सुविन भट्टराई, उपन्यासकार

किताबहरूले जीवन जिउने कला सिकाउँछन्। जीवनलाई सहज रूपमा जिउन सिकाउनु पनि साहित्यको कर्म हो। चाहे कथा, उपन्यास, कविता, प्रेम कथा जेसुकै होऊन् प्रेरणादायी किताब पढ्न सुझाव दिन्छु।

'ट्युसडेज् विथ मोर्री मिच' एल्बम, कर्ण शाक्यको 'सोच', तारिणीप्रसाद कोइरालाको 'सर्पदंश', 'फोर्टी रुल्ज् अफ लभ इलिफ सफक', पाउलो कोहेलोको 'लाइक अ फ्लोइङ रिभर' आदि।

गुरुङ सुशान्त, समीक्षक

पाठकले रुचिअनुसार पुस्तक छनोट गर्ने गर्छन्। साहित्यमा लाग्नेले साहित्य, अध्यात्म र इतिहास पढ्नुपर्छ। जीवनदर्शन बुझ्न अध्यात्म, वर्तमानसम्मको यात्रा बुझ्न इतिहास र समाजशास्त्र बुझ्न साहित्य अध्ययन गर्नुपर्छ।

क्रिस हर्मनको 'अ पिपुल्स हिस्ट्री अफ द वर्ल्ड', पारिजातको 'शिरीषको फूल', एलेन गिन्सवर्गका कविताहरू, पाब्लो नेरुदाका प्रेम कविताहरू, क्रोनिकल्स बब डिलनको अटोवायोग्राफी, निर्मल वर्माका निबन्धहरू, गोविन्द वर्तमानका कृतिहरू, कुमार नगरकोटीका 'अक्षरगन्ज' र 'मोक्षान्त काठमाण्डु फिभर', नारायण ढकालका उपन्यास र शंकर लामिछानेका निबन्धहरू, स्वप्निल स्मृतिका कविता पढ्दा पाठकले धेरै कुरा पाउन सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.