|

बारा : पर्यटक भित्र्याउने उद्देश्यले पर्सा निकुञ्जले आफ्ना संरचनाहरू आकर्षक, मनमोहक र पर्यटनमैत्री बनाउन लागेको छ।

प्रवेशद्वारमै आगन्तुकहरूका लागि सूचना केन्द्र, प्रतीक्षालय, व्यवस्थित पार्किङ, शौचालय, पानीपोखरी, मचान, आन्तरिक सडक पूर्वाधार दुरुस्त राख्न धमाधम काम भइरहेको छ।

पर्सा निकुञ्जमा छिमेकी चितवन निकुञ्ज सरह सबैखाले दुर्लभ वन्यजन्तु र चराचुरुंगी देख्न पाइने भए पनि स्वदेशी तथा विदेशी पर्यटक यहाँ देख्न पाइँदैन।

‘संरक्षणलाई केन्द्रविन्दुमा राखेर हामीले निकुञ्जको सौन्दर्यीकरणमा जोड दिएका छौँ’, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले भने, ‘पर्यटन प्रवर्धनलाई बल पुग्ने गरी झिनामसिनादेखि मझौला खालका संचरना निर्माण भइरहेको छ।’

पूर्वपश्चिम राजमार्गको अमलेखगञ्ज—पथलैया—तामागढी सडक खण्डको करिब १ हजार वर्गकिलोमिटरमा पर्सा राष्ट्रिय निकुञ्ज फैलिएको छ।

निकुञ्जभित्र जंगल सफारी, हात्ती सफारीको व्यवस्था छ। प्रचारप्रसारको अभाव र पर्यटनमैत्री संरचना नहुँदा निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून छ।

‘अबको केही महिनाभित्र निकुञ्जको प्रवेशद्वारसहित हात्तीसार, प्रतापुरलगायत केही महत्त्वपूर्ण ठाउँमा देखिने गरी संरचना सुधार हुन्छन्’, प्रमुख संरक्षण अधिकृत साहले भने।

स्थापना भएको ४ दशकपछि निकुञ्जले पहिलोपटक आफ्ना संरचना पर्यटनमैत्री बनाउन लागेको हो। तेस्रोपटक निकुञ्ज घुम्न आएका रौतहट क्षेत्र नं १ ‘क’ का प्रदेशसभा सदस्य बाबुलाल साहले निकुञ्जको अहिलेको संरचना देखेर अति खुशी लागेको बताए।

‘निकुञ्जको अहिलेको संरचना हेरेर हामी हर्षित भएका छौँ’, बाबुलाल साहले भने‚ ‘पहिलेको देखिएको संरचनाभन्दा धेरै फरक देखिएको छ। मूलगेटको स्वरूप फेरिएको छ, ग्रिनरी पार्क निर्माण भइरहेको छ, धेरै कुरामा यहाँ परिवर्तन पाएँ।’

चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टीको विस्तारित क्षेत्रसँग जोडिएको पर्सा निकुञ्जमा चितवन घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई पनि आकर्षित गर्नेगरी संरचना निर्माण भइरहेको प्रमुख संरक्षण अधिकृत साहले जनाए।

पर्सा निकुञ्जमा पछिल्लो समय भारतीय पर्यटकहरूको आवागमन बढ्दै गएको निकुञ्जले जनाएको छ। पर्सा निकुञ्ज बारा, पर्सा र मकवानपुर ३ जिल्लामा फैलिएको छ। 

स्थानीय र प्रदेश सरकार मुकदर्शक

प्रदेश २ को एक मात्रै राष्ट्रिय निकुञ्जमा स्थानीय तह र प्रदेश सरकारको कुनै सहयोग र लगानी नभएको निकुञ्जले जनाएको छ।

‘संघीय सरकारको लगानीमा हामीले काम गरिरहेका छौँ, प्रदेश सरकार र स्थानीय तहबाट धेरै प्रयास गरे पनि कुनै सहयोग प्राप्त भएको छैन’, साहले भने।

संघीय सरकारले तलब, भत्ता, कार्यालय सञ्चालन खर्च सहितको प्रदान गरेको करिब १० करोड बजेटबाटै विकास निर्माणको काम भइरहेको निकुञ्जले जनाएको छ।

‘प्रदेश २ ले गौरव गर्ने खालको राष्ट्रिय निकुञ्ज बनाउनुपर्छ भनेर त्यही दिशामा हामीले प्रयत्न गर्दै छौं’ साहले भने, ‘निकुञ्ज संघीय सरकार मातहत भए पनि यसबाट पहिलो लाभ लिने यहाँका स्थानीयले नै हो।’

प्रदेश सरकारले यसअघि नै  डेढ करोड रुपैयाँ पर्सा राष्ट्रिय निकुञ्जलाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि कुनै सहयोग भने नपाएको निकुञ्जले जनाएको छ।

‘संघीय सरकारको बजेटबाट मात्रै निकुञ्जमा विकास गर्ने हो भने थुप्रो बजेट लाग्छ। त्यसैले प्रदेश सरकारबाट पनि सहयोग प्राप्त भयो भने यहाँको विकास चाँडै गर्न सक्छौँ, लाभ चाँडो लिन सक्छौँ’, प्रमुख संरक्षण अधिकृत साहले भने।

प्रदेशसभा सदस्य बाबुलाल साहले भने प्रदेश सरकारले निकुञ्जलाई महत्त्वपूर्ण ठाउँको रूपमा लिएको बताए।

‘हाम्रो प्रदेश २ का आठ जिल्लाको महत्त्व निकुञ्जले दिएको छ’, प्रदेश सदस्य साहले भने, ‘प्रदेश सरकारले यसलाई पर्यटकीय करिडोर बनाउने प्रयासमा छ, प्रदेशभित्र अरू पर्यटकीय आधार छैन।’

पर्सा राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय रूपमा चिनाउन प्रदेश सरकारले पहल गरिरहेको साहले जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.