|

काठमाडौ : यतिबेला विश्व समुदाय कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले आक्रान्त छ। अमेरिका र युरोपका विभिन्न देशमा ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिइरहेको छ। 

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा छिटो फैलिने पर्याप्त प्रमाण भेटिएको बताइसकेको छ।

समुदायस्तरमा संक्रमण फैलिएका देशहरूमा यो डेल्टा भेरिएन्टभन्दा तीव्र गतिमा फैलिरहेको छ।

यसको संक्रमण डेढदेखि ३ दिनमा दोब्बर हुने संगठनले स्पष्ट पारेको छ।

नेपालमा पनि ओमिक्रोन भेरिएन्ट गत मंसिर २० गते पहिलोपटक भेटिएको थियो।

मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरसको संक्रमण ६६ र ७१ वर्षका दुई जना विदेशीमा देखिएको जनाएको थियो।

उनीहरू केही दिनमै संक्रमणमुक्त भए। यस्तै, गत पुस ७ गते एक जना ५८ वर्षीय पुरूषलाई ओमिक्रोन संक्रमण देखिएको थियो।

विश्वका अन्य मुलुकमा ओमिक्रोनको संक्रमण व्यापक भइरहँदा नेपालमा भने संक्रमित अति न्यून भेटिएका छन्।

नेपालमा पहिलोपटक ओमिक्रोन भेटिएको एक महिना पुगिसकेको छ।

तर अहिलेसम्म जम्मा ३ हजार २ सय जनामा मात्रै ओमिक्रोनको परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन्।

'हामीले अफिसियल रुपमा ३ जनामा ओमिक्रोन देखिएको बताइसकेका छौं। अन्य संक्रमित देखिए भने अफिसियल रुपमै जानकारी दिनेछौँ', उनले भनिन्। 

भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएको र पछिल्लो समय सीमा नाकाहरूमा भएका विभिन्न हेल्थ डेस्कमा परीक्षण गरिएकामा २-३ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको हुँदा ओमिक्रोन संक्रमित पनि बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ। 

हाल सुदूरपश्चिम र प्रदेश-१ मा कोरोना पोजेटिभ भएकाहरूमा ‘एस जीन’ नेगेटिभ संख्या बढिरहेको हुँदा ओमिक्रोन भेरिएन्टको जोखिम बढ्दै गएको बताइन्छ।

प्रयोगशालाकी निर्देशक डा.झाले पछिल्लो समय पिसिआर पोजेटिभ देखिएकामा 'एस जीन’ नेगेटिभ देखिने क्रम बढिरहेको बताएकी छन्।

‘पछिल्लो समय 'एस जीन’ नेगेटिभ आएर जिन सिक्‍वेन्सिङ गराउनुपर्ने केश बढेको छ’, उनले भनिन्।

कुनै पनि संक्रमितमा भएको भाइरस ओमिक्रोन भेरिएन्ट हो कि होइन भन्ने पत्ता लगाउन जिन सिक्‍वेन्सिङ गर्नुपर्छ। जसमा ‘एस जीन’ नेगेटिभ आएकाहरूको मात्र जिन सिक्वेन्सिङ गरिन्छ।

'एस जिन' नेगेटिभ आउनेहरूमा ओमिक्रोन भेरिएन्ट देखिने सम्भावना धेरै हुने हुँदा जिन सिक्‍वेन्सिङ गरिने गरेको स्वास्थ्य तथा आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचइओसी)का प्रमुख डा. समीरकुमार अधिकारीले बताए।

‘एस जिन नेगेटिभ हुँदैमा ओमिक्रोन देखिने भन्ने त होइन तर सम्भावना धेरै हुन्छ। ओमिक्रोन भेरिएन्टमा एस जीन म्युटेसन भएकाले यो नेगेटिभ आउँछ। पिसीआर पोजेटिभ र एस जीन नेगेटिभ आएको नमूनाको मात्र जिन सिक्‍वेन्सिङ गर्ने गरी मापदण्ड तयार पारिएको छ,' उनले भने।

दुई चरणमा हुन्छ परीक्षण

मन्त्रालयले तयार पारेको जिन सिक्‍वेन्सिङ मापदण्डअनुसार हाल पिसिआर पोजेटिभ हुने नमूनाको जिन सिक्‍वेन्सिङ दुई चरणमा गरिन्छ।

पहिलो, पिसिआर परीक्षण गरिन्छ। दोस्रो पिसिआरमा कोरोना पोजेटिभ र एस जीन नेगेटिभ आएको हुनुपर्दछ।

जिन सिक्‍वेन्सिङमा चार वटा जिन परीक्षण गर्ने गरिएको डा. अधिकारीले बताए।

स्वास्थ्य सेवा विभागले सबै सीमा नाकामा कोरोना पोजेटिभ आएका नमूनाहरू प्रयोगशालामा पठाउन परिपत्र गरिसकेको छ।

जिन सिक्‍वेन्सिङ गरेपछि रिपोर्ट आउन ७-१० दिन जति लाग्ने गरेको छ। 'एस जीन' नेगेटिभ आएको केसहरूको मात्रै सिक्वेन्सिङ ​गरिएको  छ।

जसको लागि देशभरनै पिसिआर परीक्षण गर्दा एस जीन नेगेटिभ आएका केसहरूलाई सिक्‍वेन्सिङका लागि ​टेकु प्रयोगशाला ल्याइने गरिएको छ। 

संक्रमित बढ्दो

पछिल्लो समय कोराना संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साताभन्दा यो साता संक्रमितको संख्या झण्डै एक प्रतिशतले बढेको छ। 

परीक्षण खासै नबढाउँदा पनि संक्रमित बढ्नुले नेपालमा ओमिक्रोन संक्रमित नभेटिएको कि नजाँचिएको भन्ने गम्भीर प्रश्न निम्त्याएको छ।

ओमिक्रोन परीक्षण टेकु प्रयोगशालामा मात्रै हुने भएकाले एकदमै न्यून परीक्षण भइरहेको छ। 

तयारी कस्तो छ?

केही दिनयता आक्रामक रुपमा देखिएको ओमिक्रोन विश्वभर फैलिएको छ। युरोपमा ओमिक्रोनको संक्रमण उच्च देखिएपछि त्यहाँ सतर्कता अपनाइएको छ।

स्वास्थ्य सेवा विभागले सबै सीमा नाकामा कोरोना पोजेटिभ आएका नमूनाहरू प्रयोगशालामा पठाउन परिपत्र गरे पनि हालसम्म ज्यादै न्यून मात्रामा मात्र परीक्षण गरिएको छ।

भारतमा मंगलबार मात्र १ हजार ८ सय ९२ जना ओमिक्रोन भेरिएन्ट संक्रमित भएका थिए। यो अझै बढ्न सक्ने देखिएको छ।

भारतका कोरोना र ओमिक्रोनको तीव्र फैलावट रोक्न विभिन्न राज्यमा कर्फ्यू लगाइएको छ भने स्वास्थ्य मापदण्ड अपनाउन आदेश दिइएको छ।

भारतमा फैलिएको ओमिक्रोनले खुला सीमाका कारण नेपालमा संक्रमण उच्च हुन सक्ने आकलन गरिएको छ।

ओमिक्रोन तीव्र गतिमा फैलिन सक्ने कुरालाई मध्येनजर गर्दै विभिन्न सीमामा हुने परीक्षण र कोरोना संक्रमितको नमूना संकलन गर्न सुरु गरिएको छ। 

यो भेरिएन्टका विषयमा विज्ञहरूले अब थप सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्। 

कोरोनाको उच्च जोखिम रहेका मुलुकका विभिन्न स्थानमा विशेष गरेर नाकामा परीक्षण गरिरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन्।

'हामीले नाकामा विशेष निगरानी गरिरहेका छौं। दक्ष चिकित्सकको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिसकेका छौं', उनले भनिन्, ' कोरोनाविरुद्ध खोप लगाउने काम पनि तीव्र गतिमा भइरहेको छ।'

ओमिक्रोनको हकमा परीक्षण भए पनि कुनै संक्रमित नदेखिएको प्रवक्ता मिश्रले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.