|

पर्सा :  चिसो र शीतलहरका कारण चार दिनबाट प्रभावित मध्यतराईको जनजीवन बुधबार दिउँसोबाट सामान्य बनेको छ। बुधबार मध्यान्ह १२ बजेपछि मध्यतराईको, पर्सा, बारा र रौतहटमा घाम लागेपछि यहाँको जनजीवन आज सामान्य बनेको हो।

एक बजेपछि एकाएक घाम लाग्दा मध्यतराईमा सर्वसाधारणका घरका छतमा र आँगनका डोरीहरूमा तीनचार दिनदेखि सुक्न नपाएका कपडा सुकाइएका छन्। सर्वसाधारण पनि घाममा निस्कन मिल्ने मानिस प्रायः घाम ताप्न बाहिर निस्किएका छन्। सडक तथा बाटोहरूमा पनि मानिसको चहलपहल बढेको छ।

चार दिन घाम नदेखिएको पनि पर्साका धेरै पालिकामा कुनै पनि शैक्षिक संस्थाहरू बन्द गरिएका छैनन्। पर्साको मुटु वीरगन्ज महानगरका पनि कुनै शैक्षिक संस्थाहरु अहिलेसम्म बन्द गर्नु नपरेको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द कर्णले बताए।

वीरगन्ज महानगरको सिको गरी जिल्लाका अरु पालिकाहरुले आफ्ना गतिविधि संचालन गर्ने विगतझैँ यो हिउँदमा पनि जिराभवानी बाहेकका जिल्लाका अरू पालिकाहरु शैक्षिक संस्था बन्द गर्न अग्रसर नभएको जिल्ला समन्वय समिति पर्साले जनाएको छ।

घाम लाग्नु पूर्वको तयारी

मंगलबारसम्म चार दिन भने मध्यतराईको जनजीवन निकै प्रभावित भएको थियो। शीतलहर र चीसोले मध्य तराईको जनजीवन सामान्य नभएपछि यहाँको जिल्ला विपद व्यवस्थापन समिति र पालिकाहरु चिसो र शीतलहरबाट सर्वसाधारण र विपन्नलाई बचाउन विभिन्न योजना बनाई लक्षित वर्ग र ठाउँतर्फ अगाडि बढ्दै गर्दा बुधबार भने सर्वसाधारणले राहत पाएका हुन्।

चिसो धेरै बढेपछि स्थानीय जिल्ला विपद व्यवस्थापन समिति, सामाजिक संघ संस्था र पालिकाहरूले न्यानो कपडा वितरण गर्ने तयारी गरिरहेका थिए। वीरगन्ज महानगरसहित केही पालिकाहरुले आगामी निर्वाचनलाई लक्षित गरी विपन्नभन्दा पनि सम्पन्नसहित ज्येष्ठ नागरिकलाई पनि कम्बल, छाता, र केही न्यायो कपडा वितरण गर्न थालेका छन्।

महानगरले विपन्नलाई मात्र नभई आगामी निर्वाचनमा फेरि जनता झुक्याउने रणनीतिअनुसार ग्रामीण वडाका विपन्नभन्दा बजारका सवल ज्येष्ठ नागरिकलाई पनि उक्त सामग्री बाँड्दै थियो।

विपद व्यवस्थापन समिति तैनाथ

जिल्ला विपद व्यवस्थापन समितिले भने पुस २ गते नै सरोकारवालाहरूको बैठक गरी जिल्लाभरि चिसोबाट आम सर्वसाधारणलाई बचाउन विभिन्न ९ सूत्रीय निर्णय गरेको छ। सो निर्णयमा चिसोबाट हुने जोखिम कम गर्न प्रभावित क्षेत्र, गाउँ, टोलका विपन्नको पहिचान गरी दाउरा वितरण गर्ने, न्यानोकपडा वितरण गर्नेदेखि यदि कोही चिसोबाट बिरामी परे पालिकाको सिफारिसअनुसार नारायणी अस्पताल वीरगन्जमा नि:शुल्क उपचार गर्नेसम्मका निर्णय गरेको छ।

त्यसका लागि कार्यविभाजन गरी वन कार्यालयले दाउरा उपलब्ध गराउने, सुरक्षाकर्मीले वितरणमा साथ दिने, उद्धार गर्ने, विपद पूर्व तथा विपदपश्चात् सम्बन्धित समस्यामा कम गर्न मानिसको आवागमन बढि हुने चोकचौराहमा आगो बाल्ने तयारी समेत थालेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।

जिल्लाभरि तैनाथी अवस्थामा जिम्मेवार निकाय रहेकोले आपतविपद आउन नदिने गरी काम अगाडि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए।

चिसोकै कारण पर्सा, बारा र रौतहटमा अहिलेसम्म कठ्याँग्रिएर कसैको निधन नभए पनि प्रदेश २ को धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ की ६० वर्षीया समुद्रीदेवी यादव र बुधबार बिहान सप्तरीको महदेवा गाउँपालिका ४ का ६५ वर्षीय देव नारायण ठाकुरको भने चिसोकै कारण मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.