|

काठमाडौं : सरकारले कोरोनाका नयाँ भेरिएन्टको संक्रमण मध्यनजर गर्दै पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन तयारी गरिरहेको छ।

विश्वभरि फैलिइरहेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि फैलन सक्ने सम्भावना ध्यानमा राखि खोप अभियान तीव्र पार्नेदेखि जिन सिक्वेन्सिङ तथा सचेतना कार्यक्रमलाई सरकाले प्राथमिकता दिइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टबारे पत्ता लागेका तथ्यहरूको जानकारी विभिन्न माध्यमबाट सर्वसाधारणसमक्ष पुर्‍याइरहेको जनाएको छ।  

‘लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन कोभिड विरुद्धको खोप लगाउनु पर्छ र जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्छ। हामी सबैले सचेत भए कोरोना नियन्त्रण गर्न सकिन्छ,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले भनिन्, ‘ओमिक्रोन संक्रमण बढ्न नदिन सरकारले खोप सुनिश्चित गर्ने, प्रवेश नाका तथा उच्च जोखिममा रहेका क्षेत्रमा परीक्षण तीव्र पार्ने, क्वारेन्टाइन व्यवस्थापन गर्ने, स्वास्थ्य उपकरण व्यवस्थापन तथा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीको उपलब्धता र अन्य पूर्वतयारी गरिरहेको छ।’

ओमिक्रोनको संक्रमण मध्यनजर गर्दै निषेधाज्ञा लगाउनुपर्ने बाध्यात्मक स्थिति आउन नदिन खोपको पूर्ण मात्रा लगाउन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले सबैसँग आग्रह गरेको छ।

‘जिम्मेवार नागरिकको हैसियतले आफू र आफ्ना प्रियजन सुरक्षित राख्ने हामी सबैको जिम्मेवारी हो,’ प्रवक्ता मिश्रले थपिन्, ‘नयाँ भेरिएन्ट ओमिक्रोनको पहिचानका लागि नियमित जिन सिक्वेन्सिङ भइरहेको छ।’

हालसम्म यति नेपालीले लगाए खोप, अब यति छन् बाँकी

नेपालमा हालसम्म लक्षित वर्ग (१८ वर्षभन्दा माथिको उमेर समूह) का ५० प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

आज (बुधबार) सम्म लक्षित कुल जनसंख्याको ७३ दशमलव ९ प्रतिशतले कम्तीमा पहिलो मात्रा र ५४ दशमलव २ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले १८ वर्ष माथिका १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई खोपको पूर्ण मात्रा लगाउने लक्ष्य लिएको छ।

‘यही पुस मसान्तभित्र लक्षित जनसंख्याको दुई तिहाइलाई खोप दिने लक्ष्यअनुसार बागमती र गण्डकी प्रदेशले लक्ष्य हासिल गरिसकेको देखिन्छ,’ प्रवक्ता मिश्रले भनिन्, 'अन्य ५ प्रदेशमा लक्ष्य हासिल गर्न खोप अभियानलाई तीव्रता दिएका छौं। अघिल्लो एक साताको तुलनामा यो साता खोपको पहिलो मात्रा लगाउनेहरू २१ प्रतिशत र दोस्रो मात्रा खोप लगाउनेहरूको संख्यामा २० प्रतिशतले वृद्धि भएको छ।’

देशको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनालाई आधार बनाउँदा बुधबारसम्म ४८ दशमलव ४ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ३५ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्ध खोपको दुवै मात्रा अर्थात् पूर्ण मात्रा लगाइसकेका छन्।

सरकारले खोप लगाउने लक्ष्य पूरा गर्न हालसम्म कोरोनाविरुद्ध खोपको ३ करोड ९२ लाख ३ हजार ९ सय २७ मात्रा आयात गरेको छ।

त्यसमध्ये २ करोड ५५ लाख २१ हजार ६ सय ३९ मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ करोड ४७ लाख १७ हजार २ सय २६ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने १ करोड ८ लाख ४ हजार ४ सय १३ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन्।

मन्त्रालयका अनुसार ९१ लाख १७ हजार ७ सय ५१ जनाले खोपको पूर्ण मात्रा लगाउन बाँकी छ।

सरकारले खोप अभियान तीव्र पारेको भए पनि ५१ लाख ४ हजार ९ सय ३८ जनाले खोपको पहिलो मात्रा लगाउन पाएका छैनन्।

पछिल्लो एक दिनमा नै २ लाख ४६ हजार ३ सय ८५ जनाले कोरोनाविरुद्ध खोप लगाएको तथ्यांक मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ।

दीर्घरोगी र ज्येष्ठ नागरिकलाई 'बुस्टर' खोप स्थगन किन ?

सरकारले दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई लगाउने भनेको 'बुस्टर' (अतिरिक्त) खोप कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ।

सरकारले सबै नेपालीलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा चाँडै लगाउन आवश्यक भएकाले हाललाई स्थगन गरिएको मन्त्रालयका प्रवक्ता डा मिश्रले बताइन्।

उनले भनिन्, ‘हामी थप प्राविधिक विषयमा छलफल र तयारी गरी यस विषयमा जानकारी गराउनेछौं।’ 

यसअघि सरकारले विभिन्न ६ समूहमा वर्गीकरण गरी तीमध्येकालाई अतिरिक्त मात्रा खोप लगाउने बताएको थियो। 

जसमा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता न्यून भएका व्यक्ति, सक्रिय क्यान्सरपीडित, एचआईभी संक्रमित व्यक्ति, अंग प्रत्यारोपण गरेका बिरामीलगायत ६० वर्ष पुगेका तथा त्यसभन्दा बढी उमेरकालाई अतिरिक्त खोप दिने घोषणा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.