|
फाइल तस्बिर

काठमाडौं :  नुवाकोटका ३८ बर्से अशोक तामाङ रोजगारीको खोजीमा कतार जाने तयारीमा छन्।

श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागमा आएका तामाङलाई विदेश जानु पर्दा नरमाइलो लागेको छैन। 

यसअघि पनि रोजगारीको शिलशिलामा ३ वर्ष साउदी अरब बसेर आएका तामाङलाई फेरि जानु पर्दा पहिला झैं नरमाइलो लागेको छैन।

विश्वभरि फैलिएको कोरोना महामारीको असरबाट नेपालीका  प्रमुख श्रम गन्तव्य मुलुकहरू पनि अछुतो रहन सकेनन्। 

साउदीको होटलमा काम गर्दै आएका तामाङ कोरोनाले विदेशी भूमिमै मरिने डरले स्वदेश फर्किए।

त्यही समयमा सरकारले विदेशबाट फर्किएका युवालक्षित गरी पुनः एकीकरण योजना घोषणा गर्‍यो।

तर यो योजना अहिलेसम्म पनि घोषणामा मात्र सीमित हुँदा तामाङजस्ता युवा फेरि विदेशिनुपर्ने सोचमा पुगे।

अब देशमा नै बस्ने सोच बनाएका तामाङ फेरि रोजगारीको खोजीमा विदेश जान बाध्य भएका छन्। 

'विदेशबाट फर्किएर नेपालमा केही गर्न सकिएन,' उनले भने, ‘गाउँमा बसेर पेट भर्नै मुस्किल छ। आफ्ना जमिनमा उब्जेको अन्नले ६ महिनाभन्दा बढी खान पुग्दैन, विदेश जानुको विकल्प नै छैन।’

कोरोनाको नयाँ भेरिएन्ट फैलिइरहेको हल्ला सुनेका छन्। तर कोरोनाको डरले स्वदेशमा बस्ने अवस्था छैन।

आर्थिक अवस्था कमजोर भएकाले परिवार पाल्नकै लागि भए पनि विदेश जानुपर्ने तामाङले बताए।

पछिल्लो समय कोरोना संक्रमण केही कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको छ। 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठ महिनायता लगातार उकालो लागेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र युएई जाने नेपालीको संख्या धेरै छ। कुवेत, ओमानलगायत देशमा पनि नेपाली गइरहेका छन्। 

ताहाचलस्थित वैदेशिक रोजगार विभागका  प्रमुख रमेश अर्यालका अनुसार गत वैशाखमा २४ हजार ३ सय ६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए।

त्यसमा १२ हजार ५ सय ३७ जना नयाँ श्रम स्वीकृति लिएकाहरू थिए।

कोरोनाको जोखिम बढेकाले जेठमा ४ हजार ८६ जनाले श्रम स्वीकृति लिएका थिए।

तीमध्ये ७ सय ८७ जना मात्र नयाँ श्रम स्वीकृति लिएकाहरू थिए।

असारमा श्रम स्वीकृति लिनेको संख्या बढेर २० हजार ६ सय ५८ पुगेको थियो।

तीमध्ये १० हजार ७ सय जना नयाँ श्रम स्वीकृति लिएकाहरू रहेको विभागले जनाएको छ।

चालु आवमा २ लाख ३० हजार विदेशिए 

गत साउनदेखि मंसिरसम्म ५ महिनामा २ लाख ३० हजार नेपाली रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ।

विभागका अनुसार तीमध्ये नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ३० हजार ४ सय ११ छ।

पुनः श्रम स्वीकृति लिनेको संख्या ९९ हजार ५ सय ८० छ।

विभागका अनुसार साउनमा २५ हजार ४ सय २८ नेपाली कामका लागि विदेश गएका थिए।

त्यसमध्ये म्यानपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो।

भदौमा २४ हजार ६ सय ९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेश गएकाे विभागको तथ्यांकले देखाउँछ।

असोजमा ३९ हजार ६ सय ७१ जना विदेश उडेका नेपालीमध्ये २७ हजार ८ सय २४ जना नयाँ श्रम स्वीकृति लिएकाहरू थिए।

कात्तिकमा ५४ हजार ९ सय १८ जनाले विदेश जान श्रम स्वीकृति पाएका थिए।

तीमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका थिए भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएका थिए।

मंसिरमा ३४ हजार ४ सय ९७ जनाले नयाँ भिसा लगाएर विदेश गए भने ३९ हजार ८ सय ५७ जनाले पुरानै श्रम स्वीकृति नवीकरण गरेर उडेका थिए।

पुसमा  विदेशिने नेपालीको संख्या अझ बढेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.