|
फाइल तस्बिर

काठमाडौं :  यतिवेला विश्वभरि नै कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ। 

दक्षिण अफ्रिकाबाट शुरु भएको ओमिक्रोन छिमेकी भारतसम्म मात्र नभएर नेपालमा समेत भित्रिइसकेको छ। 

पुस लागेयता आज (शुक्रबार) सम्म नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ।

ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सबै देशले स्वास्थ्य सुरक्षाका कडा कदम चालेका छन्।

तर, हवाईमार्गबाट नेपाल आउने यात्रुहरू भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै स्वास्थ्य परीक्षणबिनै सीधै गन्तव्यतर्फ जान्छन्।

विमानस्थलबाट दैनिक करिब ३ हजार यात्रु आउने गरेको अध्यागमन विभाग बताउँछ। 

यसरी आउनेको स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा सरकारले बेवास्ता गरेको जनस्वास्थ्यविदहरू बताउँछन्।

विमानस्थलको आगमन कक्षमा अहिले विदेशबाट आउने यात्रुको कुनै स्वास्थ्य परीक्षण हुँदैन।

तापक्रम जाँच्ने, कोरोनाका लक्षण परीक्षण गर्ने वा शंकास्पद यात्रुको पिसिआर वा एन्टिजेन परीक्षण गर्ने व्यवस्था आगमन कक्षमा नभएको हवाई यात्रु नै बताउँछन्।

सरुवारोग विशेषज्ञ डा. जीवनबहादुर शेरचन​का अनुसारओमिक्रोन फैलन नदिन हवाई उडान भएका मुलुकबाट नेपाल आउने उडान रोक्नुपर्छ।

‘दक्षिण अफ्रिकालगायत देशमा उडान बन्द गर्नुको कुनै अर्थ छैन। युरोपका देशहरुको नक्कल गरेर बन्द गरेको हो,’ उनले भने, ‘यदि सरकारले नेपाललाई ओमिक्रोनबाट जोगाउने हो भने उडान बन्द गर्नुपर्छ।'

ओमिक्रोन फैलिसक्दा पनि सरकारले पूर्व तयारीमा ध्यान दिन नसकेको डा. शेरचनले बताए।

विदेशबाट आउनेलाई पूर्ण मात्रा खोप लगाएको र ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरिएको दाबी अध्यागमन विभागले गरेको छ। 

विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी विदेशबाट आउने यात्रुको कोभिड परीक्षण गर्दै आएको दाबीसमेत विभागको छ।

के गरिरहेको छ सरकार? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन फैलिएका देशबाट आउनेहरूको त्रिभुवन विमानस्थलमा परीक्षण भइरहेको दाबी गरेको छ।

मन्त्रालयले दोस्रो लहरमा डेल्टा भेरिएन्टविरुद्ध प्रयोग गरिएका सबै पूर्वाधार र संयन्त्र ओमिक्रोनका लागि पनि तयार गरिसकेको जनाएको छ। 

अन्य देशमा पनि संक्रमण देखिएकाले रोकथामका लागि छलफल भइरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले बताइन्।

यसबीच, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को आज बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजगता अपनाउने निर्णय गरेको छ।

विदेशबाट आएकाहरूको विमानस्थलमै कोरोना परीक्षण गरिने, कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने तथा खोप लगाएका व्यक्तिले खोप कार्ड बोकेर हिँडन चेतना जगाउनेबारे बैठकमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.