जनस्वास्थ्यविद् भन्छन्-'खोप अभियान अझै तीव्र पार्नुपर्छ'

|

काठमाडौं : केही समय नियन्त्रणमा आएको कोरोना संक्रमण फेरी उकालो लागेसँगै नेपाल ओमिक्रोन भेरियन्टको उच्च जोखिममा छ। तर, सीमा नाका र विमानस्थलमा कुनै रोक लगाएको छैन।

छिमेकी मुलुकमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल भारत सीमानाकामा कोरोनाको परीक्षण तीव्र पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दोस्रो लहरमा डेल्टा भेरियन्टविरुद्ध प्रयोग गरिएका सबै आवश्यक पुर्वाधार तथा संयन्त्र तयार गरिसकिएको छ। 

ओमिक्रोन संक्रमण तीव्र गतिमा विश्वभर फैलिएसँगै छिमेकी मुलुक भारतसँगै बेलायत, दक्षिण अफ्रिकी मुलुकहरुमा आवश्यकताअनुसार निषेधाज्ञा जारीसँगै मुलुक प्रवेशमा कडाई गरिसकेको छ। तर नेपाल सरकार भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएको छ। 

कोरोना भाईरसको नयाँ तथा पुराना भेरियन्टको संक्रमण रोकथाममा लागि परेको सरकारले न त सीमानाकामा प्रवेश लगाएको छ, न परीक्षण नै तीब्र पारेको छ। 

महामारीको स्वरुप लिइसकेको कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेसँगै आक्रमण शैलीमा पनि परिवर्तन गरेको विज्ञहरु बताउँछन्। सरकारको तयारी भने उस्तै पुरानो र ढिलासुस्ती देखिन्छ। 

भेरियन्ट नयाँ भए पनि फैलिने तरिका पुरानै 

स्वास्थ्य मन्त्रालयले भने तीव्र गतिमा खोप अभियानसँगै, परीक्षणको दायरा बढाइएको र जनचेतना फैलाइरहेको दाबी गरिरहेको छ।

ओमिक्रोन संक्रमणको पूर्वानुमान गरी मन्त्रालयले केही समय अगाडिदेखि नै तयारी गरिरहेको सह-प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्। 

‘कोरोनाको स्वरुप डेल्टा या ओमिक्रोन होस् अथवा सम्भावित नयाँ भेरियन्ट होस् सवैको सर्ने तरिका उस्तै छ, त्यसलाई रोकथाम गर्ने उपाय एउटै हो,’ सह-प्रवक्ता अधिकारीले भने ‘स्वास्थ्य जटिलता हुन नदिन तिनै उपायहरु हो, हामीले जतिसक्दो राम्रोसँग व्यवहारमा उतार्न सक्छौं भन्ने कुरामा सजग हुनुपर्छ।’

उनका अनुसार मन्त्रालयले संक्रमण नेपालमा भित्रिन नदिन, भित्रिएकालाई चाँडै पहिचान गर्न सरकारले सक्दो प्रयास गरिरहेको छ। 

सर्वसाधारणले पनि जनस्वास्थ्यको सम्पुर्ण मापदण्ड पालना गर्दै कोरोनाको जोखिम कायमै रहेको कुरामा सचेत रहनुपर्ने डा. अधिकारीको तर्क छ। 

तयारी बढाउन आवश्यक 

अहिले स्वास्थ्य मन्त्रालयले गरेको तयारीले मात्रै संक्रमण नियन्त्रणमा ल्याउन निकै चुनौती रहेको जनस्वास्थ्यविद्हरु बताउँछन्। 

‘बेलायत र दक्षिण अफ्रिकाजस्ता देशहरुमा देखिएको प्रमाणहरुबाट अब संक्रमण बढेपनि डेल्टा भेरियन्टको बेलाजस्तै ओमिक्रोनले अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या त्यही अनुपातमा बढ्दैन भन्ने अनुमान गर्न सकिन्छ’, जनस्वास्थ्यविद् डा. किरणराज पाण्डे भन्छन्, ‘सरकारले अस्पताल र स्वास्थ्य व्यवस्थाको क्षमता उच्च नहुँदा र आवश्यक उपकरण व्यवस्थापन नहुँदा सानै समस्या पनि ठूलो भइदिन्छ।’

पछिल्लो समय सीमा नाकामा बढी परीक्षण गरिएकाले मात्रै सीमामा  मात्रै संक्रमित भेटिए जस्तो देखिएको डा. पाण्डेको तर्क छ। 

‘त्यही अनुपातमा अन्यत्र जहाँ घनाबस्ती छ, त्यहाँ पनि परीक्षण गर्ने हो भने संक्रमित बढी नै देखिन्छ’, उनले थपे ‘सीमानाकामा फैलियो भारतबाट मात्रै संक्रमण नेपाल भित्रियो भन्ने चाँहि सही होइन।’

कोरोनाको दोस्रो लहरमा आएको डेल्टा भेरियन्टभन्दा छिटो संक्रमण फैलाउने ओमिक्रोन भेरियन्टले डेल्टाले जस्तो जटिल समस्या निम्त्याएको छैन। तर, यसले खोप नपाएका व्यक्ति, दीर्घरोगी तथा प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा भने जटिल समस्या देखिन सक्नेतर्फ सरकारले ध्यान दिनुपर्ने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राज भण्डारी बताउँछन्। 

अस्पतालमा बेड, अक्सिजन सिलिन्डर तथा दक्ष स्वास्थ्यकर्मीलगायतका पूर्वतयारीले मात्रै अबको संक्रमण रोक्न नसकिने उनको धारणा छ। 

‘संक्रमण नियन्त्रण गर्ने जिम्मेवारी अरु निकाय, अरु मन्त्रालयले हाम्रो होइन स्वास्थ्यको मात्रै ठेक्का हो भने जस्तो गरेका छन्,’ डा. भण्डारीले भने ‘स्वास्थ्यका २-४ जना मान्छे मात्रै राखेर हुँदैन, बोर्डरमा सबै निकायका मान्छे खटाइए सहज हुन्छ।’

उनले अझै थपे  ‘कोरोना देखिएकालाई आइसोलेसन र नेपाल भित्रिनेलाई क्वारेन्टाईनमा राख्नुपर्छ, त्यहाँ सुरक्षा, खानेपानीलगायतका अन्य आवश्यक तयारी गरिनुपर्छ। त्यसमा स्वास्थ्यले मात्रै गर्ने भन्ने हुँदैन।’

'खोप अभियान अझै तीव्र पार्नुपर्छ'

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन अब हुनसक्ने महामारीलाई रोक्न देखिने गरी सरकारको तयारी नभएको बताउँछन्।

‘अबको संक्रमणले खोप नपाएकाहरुलाई बढी जोखिम निम्त्याएकोले सरकारले खोप नलगाएकालाई खोप दिनुपर्छ,’ डा. पुनले भने सरकारले प्रयास गरे अझै खोपलाई तीव्र रुपमा जनसमुदायमा पुर्‍याउन सकिन्छ।’ 

यसबाहेक पहिलेकै पुर्वाधार (आइसोलेसन, क्वारेन्टाईन, अस्पतालका भौतिक पुर्वाधार) लगायतलाई आवश्यकता अनुसार तयारी अवस्थामा राख्नु अहिलेको मुख्य आवश्यकता रहेको कुरामा भने जनस्वास्थ्यविद् र सरकारको एकमत छ। 

 दलका सभा-सम्मेलन र महाधिवेशन पनि मुख्य कारण

कोरोनाको संक्रमण दर उकालो लाग्नुमा सीमानाकाबाट नेपालमा प्रवेश गर्नेहरु मात्रै नभई विभिन्न राजनीतिक दलको हालै सकिएका महाधिवेशन पनि मुख्य कारण हो। 

महाधिवेशनमा देशका विभिन्न स्थानबाट मानिसहरुको आवतजावत बढ्नुले संक्रमण फैलाउन मुख्य भुमिका खेलेको टेकु अस्पतालका पुर्व निर्देशक डा. भण्डारी बताउँछन्। 

‘छिमेकी मुलुक भारतसँग सीमानाका जोडिएका क्षेत्रका मानिसहरु सिधै सभा सम्मेलनमा भाग लिँदा संक्रमण फैलिन सजिलो भयो,’ डा. भण्डारी भन्छन् ‘संक्रमण दर तीव्र छ, भीडभाड सभा सम्मेलन बन्द गर्नुपर्छ।’

उनले थपे ‘ओमिक्रोन सहित संक्रमण तीव्र भएका देशहरुमा स्मार्ट लकडाउन गरिसके, हाम्रोमा पनि यातायात, होटल रेष्टुरेन्ट तथा सवै क्षेत्रमा ५० प्रतिशत बन्द गर्नुपर्ने र विद्यालयहरु सिफ्ट प्रणाली लागु गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.