|

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संक्रमण फैलन नदिन तयारी गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएकोमध्ये २४ जनामा ओमिक्रोन पुष्टि भएपछि तयारी तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीको दाबी छ।

मन्त्रालयले गत शुक्रबार ओमिक्रोन संक्रमितको संख्या सार्वजनिक गर्दै ओमिक्रोन समुदाय स्तरमा पुगिसकेको संकेत गरेको छ।

त्यसैलाई मद्देनजर गर्दै सम्भावित खतरालाई रोक्न र पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन गृहकार्य गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बताइन्।

प्रवक्ता मिश्राले भनिन्‚ ‘ओमिक्रोन संक्रमण बढ्न नदिन सरकारले खोपको उपलब्धता सुनिश्चित गर्ने, प्रवेश नाका तथा उच्च जोखिममा रहेका क्षेत्रमा परीक्षण तीव्र गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्न, स्वास्थ्य उपकरण व्यवस्थापन तथा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको उपलब्धता र अन्य पूर्व तयारी गरिरहेको छ।’

उनले लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिन खोपको पूर्ण मात्रा लगाउन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइन्।

प्रवक्ता मिश्राले आफू र आफन्तलाई सुरक्षित राख्नु सबैको जिम्मेवारी भएको बताइन्।

उनले भनिन्‚ ‘‘जिम्मेवार नागरिकको हैसियतले आफू र आफ्ना प्रियजनलाई सुरक्षित राख्ने सबैको जिम्मेवारी हो।’

प्रवक्ता मिश्राले ओमिक्रोनको पहिचानका लागि नियमित जिन सिक्वेन्सिङ भइरहेको पनि बताइन्।

नेपालमा हालसम्म लक्षित वर्ग (१८ वर्षभन्दा माथि उमेर समूह) को ५५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको सरकारी अधिकारीहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्राको खोप लगाउने लक्ष्य लिएको छ।

तीमध्ये गत शनिबारसम्म लक्षित कुल जनसंख्याको लक्ष्यअनुसार ७५ दशमलब ५ प्रतिशतले कम्तीमा पहिलो मात्रा र ५५ दशमलब ८ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको प्रवक्ता मिश्राले बताइन्।

‘यही पुस मसान्तभित्र लक्षित जनसंख्याको दुई तिहाइलाई खोप दिने लक्ष्यअनुसार बागमती र गण्डकी प्रदेशले लक्ष्य हासिल गरिसकेको देखिन्छ’‚ प्रवक्ता मिश्राले भनिन्, ‘अन्य पाँच प्रदेशमा लक्ष्य हासिल गर्न खोप अभियानलाई तीव्रता दिएका छौं। अघिल्लो एक साताको तुलनामा यो साता खोप लगाउनेहरू बढेका छन्।’

देशका कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनालाई आधार बनाएर हेर्दा शनिबारसम्म ४९ दशमलव ५ प्रतिशतले कम्तीमा पहिलो र ३६ दशमलव ६ प्रतिशतले कोभिडविरुद्धको दुवै मात्राको खोप लगाइसकेका छन्।

मन्त्रालयको तथ्यांकअनुसार लक्षित वर्गमध्ये पहिलो मात्रा खोप ४८ लाख ८४ हजार ५०९ जनाले पाएका छैनन् भने ८८ लाख १० हजार ६९६ जनाले पूर्ण मात्रा खोप पाउनै बाँकी छ।

यद्यपि‚ खोप अभियान तीव्र रूपमा अघि बढाइरहेको सरकारी अधिकारीहरू बताउँछन्। पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि गतसाता यता दैनिक करिब २ लाख ५० हजार जनाले कोभिड १९ विरुद्धको खोप लगाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.