काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली आएको छ। आज बजार ७३.०१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार सात सय ६५.४७ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर पाँच सय १९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।
आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ।
विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ४.९६ प्रतिशत, वित्त समूहमा ५.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, अन्य समूहमा ३.१३ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३९ प्रतिशत र लगानी समूहमा ४.१४ प्रतिशतले वृद्धि भएको हो।
धेरै कारोबार गर्ने कम्पनीहरू
सोमबार नेप्सेमा सूचीकृतमध्ये २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँमा कारोबार भएका छन्। आज अपी पावरको सर्वाधिक २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
प्रभु बैंकको २० करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको २० करोड १५ लाख रुपैयाँ, शिवम सिमेन्टको १९ करोड ३९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १६ करोड ९९ लाख रुपैयाँ, एचआइडिसएिलको १५ करोड ६६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १५ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड १४ लाख रुपैयाँ र एनआइसी एसिया बैंकको १३ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज चार वटा कम्पनीको सेयरमूल्य पोजिटिभ सर्किट लागेको छ। आज नेपाल हाइड्रो र हिमालय ऊर्जाको सेयरमूल्मा १० प्रतिशत तथा युनियन हाइड्रोपावर र मध्यभोटेकोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
आज न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
माउन्टेन हाइड्रोको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। आज मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्य १ प्रतिशत बढीले ओरालो लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।