|

जुम्ला : जुम्ला पछिल्लो समयमा मेडिकल हब बन्न थालेको छ। पहिले अस्पतालमा स्वास्थ्यकर्मी समेत देख्न नपाइने जुम्ला अहिले डाक्टरी पढाइ सुरु भएपछि मेडिकल हब बन्न थालेको हो।

गत मंसिर २६ गते एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम उद्घाटनपछि मेडिकल हब बन्दै गएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमबिबिएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको  उपकुलपति डा. मंगल रावलले बताए।

उनले भने, ‘प्रतिष्ठानले एमबिबिएस सुरु गरेपछि मेडिकल हबको रूपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजनासहित अगाडि बढाइएको छ। अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालीन योजनामार्फत मेडिकल हबको रूपमा विस्तार गरिँदै छ।’

एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमहरूको अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका–३ का स्थानीयको सहयोगमा च्यारे चौरको जग्गा निःशुल्क प्रदान गरिएको छ। च्यारे चौरमा एउटा भवन भने निर्माण भइरहेको छ। रसुवा कम्पनीले च्यारे चौरमा २३ वटा भवन बनाउनेछ।

जुम्लाको डाँफे लेक नजिक च्यारे चौर जुम्ला उपत्यकाको अग्लो स्थान हो। सो स्थान पर्यटकीय क्षेत्रको रूपमा परिचित छ।

चिकित्सा शास्त्रको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे नमुना मेडिकल हब हुने उत्तिकै सम्भावना छ।

हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने रजिष्ट्रार नृपेन्द्र महतले बताए।

उनले च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीन सय रोपनी दर्ता भइसकेको बताए।

सोही क्षेत्रमा अत्यधिक मात्रामा शैक्षिक भवनहरू बनाइने योजना नेपाल सरकारसमक्ष पेश गरिएको छ।

जुम्ला सदरमुकाममा रहेको तीन सय शय्याको अस्पताल क्षेत्रमा अहिले एमबिबिएस लगायतका कक्षाहरू सञ्चालन भइरहेका छन्।

वर्षेनि विरामीको संख्या बढ्दै जाने र संरचना साँघुरो हुँदै गएकाले एमबिबिएस सहितका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो।

त्यस्तै प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ।

उनले भने, ‘पछिल्लो समय प्रतिष्ठानमा एमबिबिएस अध्ययन गर्न २० जना विद्यार्थी भर्ना भएका छन्। जुम्लामा प्रतिष्ठानको स्थापनापछि स्वास्थ्य क्षेत्रको मात्रै नभई जुम्ला जिल्लाको परिचय बदलिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.