|

बारा : निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमले बाराको उत्तरी ग्रामीण भेगका सुत्केरी तथा गर्भवतीहरू लाभान्वित भएका छन्।

यसअघि गर्भावस्थामा कुनै स्वास्थ्य समस्या देखिए निजगढ-११ कछडिया गाउँका अधिकांश महिला वीरगञ्ज, हेटौंडा र भरतपुरका अस्पताल पुग्ने गर्दथे। अहिले नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाएपछि यस गाउँका महिलाहरू ढुक्क छन्।

कछडिया गाउँकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो र बच्चाको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क भएको बताइन्। ‘पहिलो बच्चा जन्माउँदा यस्तो सुविधा थिएन,’ उनले भनिन्‚ ‘अहिले स्वास्थ्यकर्मी घरमै आएर सोधपुछ गर्नुहुन्छ, बच्चा र मेरो परीक्षण गरेर औषधि घरमै ल्याइदिनुहुन्छ।’

कछडियाकै कविता कुमाल पनि घरमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गर्दा खुशी लागेको बताउँछिन्। ‘पहिलो बच्चा ४ वर्षअघि घरमै जन्माउँदा धेरै डर लागेको थियो,’ उनले भनिन्‚ ‘अहिले स्वास्थ्य चौकीमा जन्माएँ, सुत्केरी अवस्थामा स्वास्थ्यकर्मी पनि घरमै आएर सोधपुछ गर्नुहुन्छ। सबैकुरा ढुक्क छ, केही अप्ठारो छैन्।’

दुई साताकी सुत्केरी कविता स्वास्थ्यकर्मीले आफ्नो र बच्चाको स्वास्थ्यबारे सोधपुछ गर्ने र आवश्यक औषधि, भिटामिन घरमै ल्याइदिने गरेको बताउँछिन्।

नगरपालिकाको रतनपुरी स्वास्थ्य चौकीमार्फत वडा नम्बर ११, १२ र १३ को लाल, रतनपुर, घैयापुरी, रामथली, कुम्जोल, भक्तलाल, डम्मरपुरसहित बारासँग जोडिएका मकवानपुरका केही गाउँमा समेत यस्तो सेवा दिँदै आएको छ।

कछडिया टोलकी शिक्षिका नितु चौधरीले पहिला सुत्केरी सेवा लिन महिलाहरू महँगो भाडा तिरेर वीरगञ्ज र भारतको रक्सोलस्थित डंङकन अस्पताल जाने गरेकोमा अहिले नगरपालिकाको सेवाले धेरै सुविधा भएको बताउँछिन्।

‘अहिले गर्भवती र सुत्केरीको घरमै स्वास्थ्यकर्मी आएर सोधपुछ गर्नुहुन्छ, आइरन चक्की, भिटामिन, क्यासियम, बच्चा र आमालाई नयाँ कपडा, भत्ता, कुनै समस्या भए सरसल्लाह सुझाव दिनुहुन्छ, सबैथोक घरमै पाइन्छ,’उनले भनिन्‚ ‘पहिला बाहिरको अस्पताल जाँदा घरको २/३ जना मान्छे लैजानुपर्थ्यो, सबै काम काज खेतीपाती चौपट हुन्थ्यो।’

स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएबापत संघीय सरकारले दिँदै आएको यातायात खर्चमा नगरपालिकाले ५०० थप गरेर २ हजार रूपैयाँ दिँदै आएको छ।

सिनियर अनमी राजकुमारी गुरुङले सुत्केरीको घरमा पुगेर महिला र शिशुको स्वास्थ्य परीक्षण गर्ने गरेको बताउँछिन्।

गुरुङलाई जस्तै निजगढ नगरपालिकाले विकट ग्रामीण भेगका तीन वटा वडामा नौ जना स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट दिएर गाउँगाउँमा खटाएको छ। ती क्षेत्रमा गर्भ र नवजात शिशुसँग सम्बन्धित कुनै समस्या भए स्वयंसेविकामार्फत रतनपुरी स्वस्थ्य चौकीमा खबर पुग्ने र तत्कालै स्वास्थ्यकर्मीको टोली सुत्केरी महिलाको घरमा पुगेर सेवा दिने गरेको चौकीका जनस्वास्थ्य निरीक्षक दिनेश परिवारले बताए।

‘हामीले फोनमार्फत समाधान गर्नसक्ने समस्या भए समाधानका लागि सुझाव दिन्छौं,’ उनले भने‚ ‘गर्भवती र सुत्केरी हकमा कुनै पनि समस्या भए तुरुन्त स्वास्थ्यकर्मी परिचालन गर्छौं।’

नगरपालिकाले रतनपुर स्वास्थ्य चौकीमार्फत विकट गाउँका ७५ क्षेत्रमा गत वर्षदेखि यो सेवा सुरु गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए।

नगरप्रमुख सुरेशकुमार खनालले नगरपालिकाको सबैभन्दा धेरै लगानी स्वास्थ्य क्षेत्रमा गरेको बताए। नगरपालिकाले १०५ किसिमको औषधि निःशुल्क उपलब्ध गराउने, दीर्घ रोगीका लागि २५ प्रतिशत सहुलियतमा औषधि पसल सञ्चालन गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.