|

काठमाडौं : उपत्यकामा सवारी चाप व्यवस्थापन र पैदल यात्रुको सहजताका लागि ट्राफिक लाइटको व्यवस्था छ। हालसम्म उपत्यकाका ४६ स्थानका ट्राफिक लाइट जडान गरिए पनि ४० स्थानमा मात्र चालु अवस्थामा रहेका छन्।

चालु अवस्थामा रहेका लाइट पनि वेला वेला बिग्रिरहन्छन्। यसलाई सडक विभागले महत्त्व दिएको पाइँदैन। उपत्यकामा निजी तथा वित्तीय संस्थाले सहयोग गरेका ट्राफिक लाइट भने चुस्त अवस्थामा छन्।

ती शतप्रतिशत सञ्चालनमा छन् तर सडक विभागले बनाएका लाइट भने सञ्चालनमा छैनन्। विभागले बनाएका लाइट नै सञ्चालन नहुनु विडम्बनाको विषय बनेको छ।

उपत्यकाका मुख्य चोकहरू केशरमहल, संग्रहालय दक्षिण गेट, माइतीघर, थापाथली, कोटेश्वर, जडिबुटी, टंकेश्वर, परोपकार क्षेत्रमा ट्राफिक लाइट सञ्चालनमा आउन सकेका छैनन्। ट्राफिक लाइट पोल रहे पनि ती बिग्रिएका छन्। ती विभागले बनाएका लाइट हुन्।

निजीले सहयोग गरेका करिब २० स्थानमा सञ्चालनमा रहेका ट्राफिक लाइटमध्ये ललितपुर महानगरपालिकाको सहयोगमा बनेका चार स्थानमा छन्। काठमाडौं महानगरपालिकाको सहयोगमा ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा छन्।

अन्य स्थानमा भने निजी बैंक तथा वित्तीय संस्थाको सहयोगमा लाइट सञ्चालनमा ल्याएका छन्।

पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, कालिमाटी, कालिमाटी चित्रधर शालिक, गौशाला, मित्रपार्क, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने (बानेश्वरतर्फ र एयरपोर्ट), मुनिभैरव, थिमिचोक, सूर्यविनायक, कौशलटार, गट्ठाघर, सल्लाघारी, नारायणगोपाल चोक, महापाल चोक, पुलचोक, अल्का अस्पताल, ल्होत्से चोक, भाटभटेनी, त्रिपुरेश्वर चोक, कृष्ण पाउरोटी चोक, गैह्रीधारा, एकेडेमी मोड, नागस्थानगोल्डेनगेट, नक्साल भागवती, जयनेपाल, ज्ञानेश्वर, महेन्द्र शालिक, टुकुचा, खानी विभाग, कृष्ण पाउरोटी (महेन्द्र शालिक तर्फबाट आउने) ठाउँमा ट्राफिक लाइट सञ्चालनमा छन्।

उपत्यकामा करिब २६ स्थानमा सडक विभागले ट्राफिक लाइट जडान गरेको छ। तीमध्ये ८ स्थानमा लाइट बिग्रेको अवस्थामा रहेका छन्। १८ स्थानमा भने लाइट सञ्चालनमा छन्।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले अहिले १२ स्थानमा ट्राफिक लाइट मर्मतको काम चलिरहेको जनाएको छ। शाखा प्रमुख बेलबहादुर भुजेलले सवारी चाप रहेका विभिन्न स्थानमा लाइट बिग्रने अवस्था रहे पनि आफूहरूले निरन्तर निगरानी गरिरहेको बताए।

उपत्यकामा रहेका विभिन्न स्थानमा ट्राफिक लाइट भए पनि यो पर्याप्त नभएको ट्राफिक महाशाखाले जनाएको छ। उपत्यकामा हुने सवारी चाप र ट्राफिकको संख्याले मात्र अब सडकमा सवारी व्यवस्थापन हुन नसक्ने देखिएको छ।

उपत्यकामा करिब १२ लाख सवारीसाधन रहेको अनुमान छ तर तिनलाई व्यवस्थापन गर्ने ट्राफिक करिब १ हजार ३ सयको हाराहारीमा छन्। सीमित ट्राफिक प्रहरीले मात्र व्यवस्थापन हुन नसक्ने ट्राफिक अधिकृत स्वयं स्विकार्छन्।

'हामीकहाँ सीमित ट्राफिकले अत्यधिक सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ', एक ट्राफिक प्रहरी भन्छन्, 'सवारी व्यवस्थापन गर्न सहयोग पुग्ने ट्राफिक लाइट पनि सीमित छन्। ती सीमित लाइट पनि वेला वेला बिग्रिने गर्दा व्यवस्थापनमा थप चुनौती छ।'

यो पनि 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.