|

पर्सा : कोरोनाको बढ्दो प्रभावलाई मद्देनजर गरी वीरगञ्ज महानगरपालिकाभित्रका १२ वर्षमुनिका विद्यार्थीहरूका लागि पठनपाठन बन्द गरिएको छ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा र जिल्लाका शैक्षिक संस्थाका अगुवा तथा प्याब्सन एन प्याब्सनका प्रतिनिधि सहितको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो।​

ओमिक्रोन स्वरूपको बढ्दो प्रभावलाई दृष्टिगत गरी भ्याक्सिन नलगाएका महानगरभित्रका १२ वर्षमुनिका बालबालिकाका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द कर्णले बताए।

कक्षा तोक्नेभन्दा पनि भ्याक्सिन नलगाएकाहरूको उमेर समूहलाई बढी प्राथमिकता दिएको उनको भनाइ छ।

बैठकमा महाशाखाका जिम्मेवार कर्मचारीसहित मावि तहका प्रधानाध्यापकहरू, आधारभूत तहका प्रधानाध्यापकहरू, शिक्षक महासंघका प्रतिनिधि र निजी विद्यालयहरूको संगठन (प्याब्सन र एन प्याब्सन) का प्रतिनिधि सहभागी रहेको बैठकमा सहभागीहरूले बताए।

अरूको हकमा भने अगामी माघ ७ भित्र सबै प्रकारका परीक्षा सक्ने र त्यसपछि अर्को सूचना जारी नभएसम्म विद्यालयहरूमा पठनपाठन बन्द गर्ने पनि बैठकले निर्णय गरेको महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए।​

मन्त्रालयको निर्णय र शिक्षक महासंघको दबाबपछि जिल्लाका विद्यालय बन्द हुँदै

कोरोनाको कारण शिक्षा मन्त्रालयले केही दिनअघि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेसँगै बढी प्रभाव नपरेको पर्साका पनि सबै सामुदायिक विद्यालयहरू बन्द गरिनुपर्ने शिक्षक महासंघ पर्साले भने विज्ञप्ति सार्वजनिक गर्दै आह्वान गरेको छ।

शिक्षक महासंघका पर्सा सचिव विनोद गिरी र अध्यक्ष तीर्थराज यादवले संयुक्त हस्ताक्षर गरी सबै विद्यालय मंगलबार २७ पुसबाट बन्द गर्ने लिखित विज्ञप्ति सार्वजनिक गरेका छन्।

दोस्रो त्रैमासिक परीक्षा चलिरहेका विद्यालय बाहेक अरू विद्यालय बन्द गर्नुपर्ने आह्वान गरिएको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए।

सरकारी शिक्षकहरूका कारण सामुदायिकमा शिक्षक शिक्षिका पातलिएसँगै परीक्षा सञ्चालन नभएका पर्साका अरू विद्यालय पनि बन्द हुन थालेको स्थानीय मा.वि.का प्रधानाध्यापकहरूले बताए।

काठमाडौँमा जस्तो पर्सामा संक्रमणको उच्च दर नभएकाले एकैपटक सबै विद्यालय बन्द नै गरिहाल्न नपर्ने भए पनि बन्द हुन थालेको उनीहरूले बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.