चियाखाजा पनि कार्यकक्षमै खान्छन् कर्मचारी

|

सोलुखुम्बु :  पुस महिना। साँझको समय। तापक्रम ३ डिग्री सेल्सियस। हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५ : ३० बजेतिर नै बन्द हुनुका साथै सडकमा मानिसको चहलपहल ह्वात्तै घट्छ।

अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकाको खाना खाएर सुत्ने तरखरमा हुन्छन्। तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति ८ बजे सम्म सेवा प्रवाह हुन्छ।

नेपालको सरकारी सेवा अन्तर्गतका कार्यालयीय समय बिहान १० बजे देखि ४ बजेसम्म हो। अधिकांश सरकारी कार्यालयका कर्मचारी ४ नबज्दै कार्यालय समय सकिएको भन्दै सेवाग्राहीको बाँकी काम भोलि बिहान १० बजे हुने जवाफ दिदै ढोका बन्द गर्छन्।

सरकारी कर्मचारीको यस्ता व्यवहार देखे भोगेका ग्रामीण क्षेत्रका नागरिक प्रशासन कार्यालय सोलुखुम्बु पुग्दा फरक अनुभूति हुने गरेको सुनाउँछन्।

आइतबार साँझ ६ बजेको समयमा थुलुङ दुधकोशी गाउँपालिका –६ का सूर्य बानियाँ पेन्सन पट्टाको लागि सिफारिस लिँदै गरेको अवस्थामा प्रशासन कार्यालयमा भेटिए। प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीलगायत अन्य कर्मचारीसमेत त्यो समयमा पनि कार्यालयकै काममा व्यस्त थिए।

सेवाग्राही बानियाँले धन्यवाद दिँदै भने, 'हजुर जस्तो सिडिओ सा'प अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भइदिए त गाउँघरका हामीजस्ताले कति सहजै सेवा पाइन्थ्यो हजुर।'

सेवा गर्ने इच्छाशक्ति भए समयले नछेक्ने बानियाँको बुझाई छ। 'यहाँ कर्मचारीहरू तोकिएको समयभन्दा ढिला पुग्ने र चाँडो निस्कने गर्दा सानो कामका लागि पनि  भोलिपल्ट त्यही अफिसमा जानुपर्छ', बानियाँले भने,  'सोलुखुम्बु प्रशासनजस्तै अन्य ठाउँका कार्यालयले पनि सिक्नुपर्छ र मन्त्रालय अनि नेपाल सरकारले पनि यस्ता कर्मचारीलाई छुट्टै मुल्यांकन गरि पुरस्कार दिने व्यवस्था गर्नुपर्छ।'

नागरिकको सेवामा कार्यालय समय नभनिकन काम गर्ने कर्मचारीको उचित मुल्यांकन हुनुपर्ने उनको माग छ।

सेवाग्राही बानियाँको मात्र यस्तो माग होइन कि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्ने जो कोहीले कर्मचारी र कार्यालयको सेवा प्रवाह प्रति खुशी व्यक्त गर्छन्। सिमित जनशक्तिको बीचमा भए पनि सेवा प्रवाह सहज र सरल बनाइँदा कर्मचारी धन्यवादका पात्र बनेका छन्।

दैनिक दुई सय जना सेवाग्राही विभिन्न सेवा लिन प्रशासन पुग्ने गरेका छन्। हाल प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित दुई जना खरिदार, एक जना लेखापाल, दुई जना कम्प्युटर अपरेटर र एक जना सहायक प्रमुख जिल्ला अधिकारी कार्यरत छन्। चार जना नायब सुब्बा, एक जना लेखापाल र दुई जना खरिदारको पद खालि रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए।

कर्मचारी अभावले गर्दा जिल्ला कारागारका प्रमुख प्रशान्त कुमार महतोलाई समेत सहयोग माग्ने गरेको उनको भनाई छ। प्रमुख महतोले पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिकको सेवा गर्न पाएको प्रति खुसी व्यक्त गरे।

कार्यकक्षमै चियाखाजा खाँदै, सेवा दिँदै

विभिन्न कार्यालयमा सूचना नै टाँसेर चिया खाजा खाने समयमा सेवा प्रवाह बन्द गरिन्छ। तर सोलुखुम्बु प्रशासनका कर्मचारी भने चिया, खाजासमेत कार्यकक्षमै खान्छन्। चिया खाजा खाँदै सेवा दिने यहाँको अर्को प्रशंसायोग्य कार्य रहेको कर्मा शेर्पाले बताए।

बाहिर होटलमा चिया खाजा खान जाने समयमा सेवाग्राहीले कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कार्यकक्षमा नै चिया, खाजाको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले बताए।

कार्यकक्षमा नै चिया र स्थानीय उत्पादनबाट बनेको खाजा खाँदै सेवा प्रवाह गर्ने यहाँका कर्मचारीलाई न त समयको मतलब छ न त कमिसनको। कार्यालयमा आएका सेवाग्राहीलाई समयमा नै सेवा दिने कार्यले थुलुङ दुधकोशी गाउँपालिकाका–७ का जगत बहादुर केसीलाई पनि प्रभावित बनायो।

उनले भने, 'सोलुखुम्बु प्रशासनको कर्मचारीलाई सम्मान छ, यसैगरी अरुले पनि सिकून् र नेपाल सरकारले पनि केही नयाँ योजना बनाउन सकोस्।'

प्रशासन कार्यालयले स्थानीय उत्पादनलाई जोड दिदै यहाँका नागरिकलाई त्यसप्रति आकर्षित गराउने अर्को उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी शाहीको भनाई छ।

अरुले के गर्छ भन्दा पनि आफुले के गर्छु भन्ने भावनाका साथ काम गर्नुपर्छ विस्तारै सकरात्मक परिवर्तन हुन्छ भन्ने सोचाइका प्रजिअ शाहीले पहुँचको आधारमा नभइ कानुनको आधारमा सेवा प्रवाह हुने गरेको बताए ।

पहिलेको प्रशासन र अहिलेको प्रशासन

सिमित स्रोतसाधनको सही सदुपयोगसँगै व्यवस्थापन गर्न सकेको खण्डमा धेरै बजेट आवश्यक नपर्ने प्रजिअ शाहीको भनाई छ।

नागरिक मैत्री सेवाका लागि कार्यालय वरपरको वातावरणले समेत प्रभाव पार्ने भन्दै प्रजिअ शाहीले अशक्तहरूलाई लक्षित गरि भर्‍याङमा रेलिङ लगाउनेदेखि चिसो तथा तातो पानीको समेत व्यवस्था रहेको छ।

गोदाम घर निर्माणदेखि पर्खालसमेत लगाएर यहाँको वातावरणमा थप रौनक थपिएको देख्दा प्रमुख जिल्ला अधिकारीको रुपमा गणेशबिक्रम शाही धेरै पहिला आउनुपर्ने र लामो समयसम्म बस्नुपर्ने स्थानीय व्यापारी मनिकुमार राईको भनाई छ।

'विगतको दिनमा छिट्टै घर जाने कर्मचारी अहिले त रातिसम्म कार्यालयमै देखिन्छन्', प्रशासनकै गेट अगाडि फेन्सी व्यापार गर्दै आएका राईले भने, 'अब आउने प्रशासकले यसलाई निरन्तरता दिन आवश्यक छ।'

रचनात्मक कामको सुरुवात : गृह मन्त्रालय

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रदीप कुमार कोइरालाले सोलुखुम्बु प्रशासनको कार्यको मुल्यांकन हुने बताए।

तत्काल कर्मचारीको लागि कुनै थप सेवा सुविधा उपलब्ध गराउने कार्यक्रम नभए पनि यस विषयमा छलफल भइरहेको उनको भनाई छ। 'सोलुखुम्बुमा रचनात्मक कामको थालनी भएको छ', उने भने, 'यस विषयमा हामी जानकार छौ, यसको उचित मुल्यांकन हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.