|

काठमाडौं : प्रिन्स दाहाललाई ब्याडमिन्टनको नशा कहिलेदेखि लाग्यो ठ्याक्कै सम्झना छैन। तर उनी जहिलेदेखि ब्याडमिन्टनको र्‍याकेट समाएर कोर्टमा उत्रिए‚ त्यसयता उनले पछि फर्किएर हेर्नु परेको छैन।

दार्चुलाको खलंगामा स्थानीय बासिन्दा आफ्नो स्वास्थ्यका लागि ब्याडमिन्टन खेल्थे। कलिला बालक प्रिन्स छेउमा बसेर खेल हेर्थे। उनले पनि यसै सिलसिलामा र्‍याकेट समाउने मौका पाए। सुरुवाती रहर विस्तारै प्यासन मात्र बनेन उनको करिअर र पेशा नै बन्दै गयो।

उनी उमेर समूहको यो छलाङलाई विश्व वरीयतामा नम्बर १ सम्म पुर्‍याउन सफल रहे। दार्चुलामा सिकेको ब्याडमिन्टन काठमाडौंमा परिष्कृत भयो। उनले काठमाडौंमा ब्याडमिन्टनका लागि औधि मिहिनेत गरे।

परिणामतः उनले अन्तरराष्ट्रिय उपाधि त निरन्तर जिते नै‚ उमेर समूहको वरीयतामा समेत आफूलाई सर्वाधिक उच्च अवस्थामा पुर्‍याए।

विश्व नम्बर १को यात्रा

नियमित प्रतियोगिता हुँदा वरीयता हरेक सातामा हेरफेर हुन्थ्यो। तर कोरोना महामारीका कारण लामो समय अन्तरराष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न निकै लामो समय पर्खनु पर्‍यो। अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए। उनी अगाडि गत वर्ष रहेका दुई खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएसँगै प्रिन्स सिनियरतर्फ शीर्ष वरीयतामा छलाङ मार्न सफल भए।

विश्व ब्याडमिन्टन फेडेरेसनले सार्वजनिक गरेको वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयतामा अंक भने सुधार हुन सकेको छैन।

विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेशनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गरेको छ। प्रिन्स आफ्नो शीर्ष स्थानमा पुग्ने सपना पूरा भएको मान्छन्। उनले प्रतियोगिता खेल्न पाएर अंक सुधार गर्न सकेको भए थप खुशी मिल्ने बताए।

उनले भने‚ 'मैले यो उपलब्धिका लागि निकै संघर्ष गर्दै आएको छु, पछिल्लो समय खेल नहुँदा प्रतियोगिता नहुँदा स्वभाविक रूपमा अंक जोड्न पाएको थिइनँ तर गत वर्षकै अंकमा शीर्ष स्थानमा पुग्न पाउँदा एउटा सपना पूरा भएको छ।'​

प्रिन्सले प्राप्त गरेका उपलब्धि

किशोर अवस्थामा नै सन् २०१८ मा दुबई जुनियर अन्तरराष्ट्रिय सिरिजमा यू-१५ को उपाधि जितेका थिए। उनले योनेक्स-सिन्हा-रोजा-बिटिवाइ जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ मा यु-१७ तर्फ रजत पदक जितेका थिए। त्यस्तै उनलाई चिनाउने र करिअरकै सर्वाधिक प्रतिष्ठित उपाधिका रूपमा भने दुबै जुनियर अन्तरराष्ट्रिय सिरिज २०१९ रह्यो।

११ देखि १५ सेप्टेम्बर २०१९ मा भएको प्रतियोगितfमा उनले यू-१९ उमेर समूहमा ब्याडमिन्टनमा दबदबा बनाएका देशलाई पछि पार्दै स्वर्ण पदक हात पारेका थिए। त्यस्तै उनले २०१९ मा नै अन्नपूर्ण कर्पोरेट अन्तरराष्ट्रिय सिरिज २०१९ को पुरुष एकलतर्फ रजत पदक हात पारेका थिए। उनी मेन्स ओपनमा पहिलोपटक सेमिफाइनल पुग्ने खेलाडी समेत बनेका थिए।

त्यस्तै उनले साउथ एसियन रिजनल अन्डर-२१ अन्तर्गत ८ देखि १० अक्टोबर २०१९ मा माल्दिभ्समा भएको खेलमा रजत पदक जित्न सफल भएका थिए।  कोरोना महामारी सुरु हुनुअघि पछिल्लोपल्ट सन् २०१९ अप्रिलमा जर्मन इन्टरनेशनल सिरिजको क्वार्टरफाइनलसम्म पुगेका थिए । प्रिन्सले २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा टिम र मेन्स डबल ओपन इभेन्टमा कांस्य पदक जितेका थिए । उनले गत वर्ष सिन्धुपाल्चोकमा आयोजित तोप-२१ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरेका थिए ।​

वरीयतामा प्रिन्सको छलाङ

प्रिन्स सन् २०१९ को मे महिनादेखि विश्व वरीयतामा आफूलाई समावेश गरे। त्यही वर्ष दुबई इन्टरनेशनल सिरिजमा भारतका वरुण कपूरलाई पराजित गरेर उपाधि जितेपछि १०३ बाट एकैपटक ५४औं वरीयतामा पुगेका थिए । वरीयतामा समावेश भएपछि ११ प्रतियोगितामा एकलतर्फ २९ खेल खेलेकोमा १९ वटामा जित हात पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.