|

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको दोहन भइरहेको छ।

लालबन्दी नगरपालिकाअन्तर्गत लखन्देही, कालिन्जोर र फूलजोर खोलाबाट यतिखेर जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा खोला दोहन भइरहेको पाइएको हो।

ठेकेदार कम्पनीले अटेर गरी मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयले आरोप लगाएका छन्।

लखन्देही खोलाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार लालबन्दी नगरपालिका–११ बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाको लखन्देही खोलाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइ ६ लाख ४१ हजार ३५४ घनमिटर गिटी बालुवा निकाल्न मिल्ने गरी गएको असोज २२ गते २५ लाख रुपैयाँमा नगरपालिका र जल्केश्वर कन्ट्रक्सन लालबन्दी–८ बीच सम्झौता भएको थियो।

यसैगरी कालिन्जोर खोलाको भोर्लेनी नाका, रानीगञ्ज नाका, रेल्वेपुल नाका र जब्दी दोभान नाकाबाट ५ फिट गहिराइ कुल २५ लाख ६५ हजार ४१८ घन मिटर उत्खनन गर्ने गरी १ करोड रुपैयाँमा सम्झौता भएको छ।

यसरी नै ईश्वरपुर नगरपालिका र लालबन्दी सिमाना भएर बग्ने फूलजोर खोलाको ढाडाटोल नाका, प्रतापटोल नाका र फूलजोर र कालिन्जोर दोभान नाकाबाट ५ फिट गहिराइ ८ लाख ९७ हजार ८९६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ३५ लाख रुपैयाँमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए।

तर नगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौता भएको भन्दा पाँच गुणा बढी गहिरो पारेर गिटी बालुवा निकालिएको छ।

अहिले ठेकेदार कम्पनीले उत्खनन गरेको लखन्देही खोलाको नजिकै रहेको हीरापुर, चन्द्रपुर पलार, नवलपुर, मोहनपुर, गणेशचोक लगायत दर्जनौँ गाउँ र उर्वरभूमि बाढी र कटानको उच्च जोखिममा रहेको छ।

कालिन्जोर र फूलजोर खोलामा आसपासमा रहेको दर्जनौँ बस्ती र खेतीयोग्य जमिन डुबान र कटानको उच्च जोखिममा छ।

यसरी मापदण्ड विपरीत ठेकेदार कम्पनीले गलत तरिकाले उत्खनन गरिरहँदा पनि सम्बन्धित निकायको मौनताले जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीको सेटिङ रहेको स्थानीयवासीको आशंका छ।

स्थानीयका अनुसार उत्खनन भएका ठाउँका सम्बन्धित वडाका वडाध्यक्षहरू समेत आर्थिक प्रलोभनमा परेर कुनै किसिमको चासो नदेखाएकोमा दुःखेसो पोखेका छन्।

ती खोलामा ठेकेदार कम्पनीले खनेको खाडल १५ देखि २० फिटभन्दा गहिरोसम्म भएको स्थानीयले आरोप लगाउँदै आएका छन्।

अहिले ती नाकामा आफ्ना गलत हर्कतको प्रमाण लुकाउन उत्खनन गरिएका ठूलठूला खाडल पुरेका छन्। खोलाले बनाएको लेयर भत्काएर नदीजन्य वस्तु निकालेपछि बाढी आउँदा गाउँभित्र पस्ने स्थानीयको चिन्ता छ।

लालबन्दी–१७ रानीगञ्ज गैरीगाउँका स्थानीय बुद्धिलाल विश्वकर्मा जनप्रतिनिधिले समेत जनताको जनधन गुम्ने खतरा नदेखेको गुनासो गरे।

‘हामीले भनेको कसैले सुन्दैनन्। के गर्नु ?’ उनी अवैध उत्खननले भोलि गाउँमा खोलाको बाढी पसेर पुर्‍याउने क्षतिको आँकलन गर्दै आत्तिन्छन्।

नागरिकको समस्या समाधान गर्नेभन्दा पनि खोला बेचेरै पैसा कमाउने खेलमा जनप्रतिनिधि लागेको स्थानीय रामबहादुर योञ्जन सुनाउँछन्।

उनका अनुसार खोलाका कारण वर्षेनि गैरी गाउँको उत्तरी क्षेत्रको खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ। जसले गर्दा रानीगञ्ज गाउँ नै बाढी र कटानका कारण गाउँका सयौँ घरधुरीका हजारौँ नागरिक असुरक्षित बन्दै आएका छन्।

प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले मापदण्डअनुसार उत्खनन नभएको पाइए कानुनी कारबाही गर्ने बताए तर प्रभावकारी अनुगमन नभएको उनले स्विकारे। 

ठेकेदार कम्पनीले उत्खनन गरेपछि निरीक्षण गर्नुपर्ने नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीय बासिन्दाबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन्।

यससम्बन्धमा लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काले स्थानीयले आरोप लगाएको जस्तो नभएको उल्लेख गर्दै ठेकेदार कम्पनीले मापदण्डविपरीत उत्खनन गरेको पाइए कारबाही गर्ने उनले बताए।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.