|

पर्सा : अटो रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

मियाको शव पुस २२ गते साँझ वीरगञ्ज उपमहानगरपालिका-२३ इटियाही स्थित बयोधा अस्पतालको पछाडि नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

प्रहरीले नियन्त्रणमा लिएका मुख्य अभियुक्तमध्ये भारत बिहारको पूर्वी चम्पारण मोतीहारी घर भई हाल वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका-५ का २२ वर्षीय निकेश पटेल रहेका छन्।

यस्तै‚ भारतको बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भई वीरगञ्ज-३ छपकैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल‚ भारत घर भई वीरगञ्ज-२ छपकैयामा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय बक्सर भनिने नाजिर हुसेन र वीरगञ्ज-३ छपकैयामा होटल व्यवसाय गर्ने बाबर हुसेनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

हत्यामा संलग्न एक भारतीय नागरिक भने फरार रहेको प्रहरीले बताएको छ। मियाँको हत्याका कै लागि उनी नेपाल आएको अनुसन्धानमा पाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। भारतीय नागरिक मियाँल पनि २०६२/६३ मा मात्र नेपाली नागरिकता लिएको पर्सा प्रहरीले बताएको छ।

यस्तो छ हत्याको योजना

गत पुस २१ गते साँझ अटो रिक्सासहित हराएका मियाँको खोजीका लागि उनकी श्रीमतीले पुस २२ गते प्रहरीमा निवेदन दिइन्। त्यसको दुई घण्टापछि मियाँको शव फेला परेको थियो।

हत्याका अभियुक्त मण्डल र मियाँ एउटै घरमा डेरा गरी बस्थे। हत्या हुनुभन्दा केही दिनअघि उनीहरुबीच झगडा हुँदा मियाँलाई मण्डलले मारेर लाश गायव गरिदिने धम्की दिएका थिए।

झगडा भएको भोलि मण्डलले मियालाई रक्सौल जाने काम छ भनी अटो रिक्सासहित लाने प्रयास गरेको तर उनी नगएपछि त्यसको केही दिनपछि नेपालमै हत्या गरेको पाइएको प्रहरीले बताएको छ।

मण्डलले अर्को घरमा बस्ने सुनिल कुमारसँग भेटी मियाँलाई मार्ने योजना बनाएको पाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। सुनिलकी श्रीमती र मियाँकी श्रीमतीबीच पहिले एउटै घरमा बस्दा झगडा भएकाले त्यो रिसइबी साँध्न र मण्डलले नयाँ अटो रिक्सा किनिदिन भनी ५० हजार रूपैयाँ सुपारी दिएकाले पनि सुनिल हत्या गर्न संलग्न भएको पाइएको प्रहरीले बताएको छ।

सुनिलले भारतमा अपराधिक कार्यमा संलग्न अर्का व्यक्ति र पटेललाई सहभागी गरी मियाँको टाउकोमा रड र फलामको रिन्चले हानी हत्या गरेको अभियुक्तले वयान दिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका पटेल र भारतबाट बोलाइएका फरार अभियुक्तले नारायणी अस्पतालअगाडिबाट मियाँको रिक्सा रोकी गण्डक छेउबाट डेलिभरी केश ल्याउनु छ ५०० रूपैयाँ दिन्छौं भनी घटनास्थलसम्म पुर्‍याएको वयानमा खुलेको प्रहरीको भनाइ छ। त्यहाँ कुरेर बसेका सुनिलले रिक्साबाट ओर्लने साथ मियाँलाई पछाडि रडले हानी घाइते बनाएको र तीनैजना मिली रड र रेन्चले टाउकोमा हानी मारेर नालामा फालेको वयान खुलेको पर्सा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.