बुस्टर डोज दिने सरकारको तयारी अझै कुरामै सीमित

|

काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सुरुवातसँगै स्वास्थ्यकर्मीहरू एकैपटक धेरै संक्रमित भएका छन्।

स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औँल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने बताए पनि हालसम्म यसको पूर्ण तयारी हुन सकेको छैन।

उपत्यकामा कोरोना संक्रमितको धेरै उपचार हुनेमध्ये ठूलो अस्पताल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एकैपटक ६० जना चिकित्सक, नर्स, प्रयोगशालाका प्राविधिक बाहेक अन्य स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्।

यसैगरी वीर अस्पतालका पनि करिब तीसभन्दा बढी संक्रमित भएका छन्।

अस्पतालका कोरोना फोकल पर्सन तथा छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार बिहीबारसम्म चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा संक्रमण भएको र थप परीक्षणको रिपोर्ट आएपछि यो संख्या अझै बढ्न सक्ने बताए।

‘पहिलो र दोस्रो लहरमा भन्दा यो पटक हाम्रोमा एकैपटक धेरै साथीहरू संक्रमित हुनु भएको छ’‚ उनले भने।

उनका अनुसार हाल धेरै संक्रमित स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका छन्। तीमध्ये दुई जनामात्रै अस्पताल भर्ना भई उपचाररत रहेको उनको भनाइ छ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा केही मात्रामा प्रभावित भएको उनको भनाइ छ।

‘एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा विशेषगरी ननकोभिड सेवा प्रभावित हुने देखिएको छ, जसले गर्दा हामीले कसरी सेवा दिन सक्छौँ भन्ने बारेमा पनि छलफल गरिरहेका छौँ’‚ उनले भने।

यसअघिको भन्दा फरक खालका लक्षण देखियो

यस्तै डा. बमका अनुसार हाल अस्पतालमा संक्रमित भएका स्वास्थ्यकर्मी तथा बाहिरबाट उपचारमा आउने संक्रमितमा विगतमा भन्दा फरक लक्षण देखिएको समेत बताए।

‘दोस्रो लहर (डेल्टा) ले अधिकांश मानिसमा स्वाद तथा गन्ध थाहा नपाउने समस्या देखिएको थियो तर योपटक संक्रमित भएका स्वास्थ्यकर्मी तथा बाहिरबाट उपचारमा आउने संक्रमितमा गन्ध तथा स्वाद नआउने समस्या देखिएको छैन, अहिले आउने धेरै संक्रमितमा घाँटी खसखसाउने, रुघा लाग्ने लक्षण धेरै देखिएको छ’‚ उनले भने।

संक्रमण घटेसँगै शिक्षण अस्पतालले कोभिडका विरामीका लागि छुट्याएको बेड संख्या घटाएकोमा फेरि उपचारमा आउने संक्रमित बढ्न थालेपछि कोभिड वार्ड बढाउन थालिएको समेत उनले बताए।

‘उपचारमा आउने कोभिड संक्रमितको संख्या घटेसँगै हामीले कोभिड बाहेकका विरामीको उपचारमा केन्द्रित भइसकेका थियौँ, संक्रमण बढेसँगै ठूलो चुनौती सामना गर्नुपर्ने हुनसक्छ। त्यसैले संक्रमितको संख्या बढेपछि हामीले फेरि कोभिड वार्ड बढाउने तयारी गरेका छौँ’‚ उनले भने।​

वीरमा पनि धेरै स्वास्थ्यकर्मी संक्रमित

यता कोभिड १९ युनिफाइड अस्पताल (वीर अस्पताल)मा पनि दुई दिनयता धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्। अस्पतालका प्रमुख डा. भूपेन्द्र बस्नेतका अनुसार ३० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको बताए।

उनले अस्पतालको डेन्टल विभागमा मात्रै हालसम्म ९ जना स्वास्थ्यकर्मी संक्रमित भएको बताए।

‘विभागमा नै धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्, जसले जनशक्ति व्यवस्थापनमै चुनौती देखिने देखियो’‚ उनले भने। उनले यस्तै संक्रमित देखिएका स्वास्थ्यकर्मीहरू धेरै होम आइसोलेसनमा रहेको समेत बताए।

‘१० दिन होम आइसोलेसनमा बसेर सेवामा फर्किने गरी संक्रमित स्वास्थ्यकर्मीहरू हाल घरमा नै आइसोलेट हुनु भएको छ’‚ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.