|

पर्सा : त्रिभुवन विश्वविद्यालयभन्दा जेठो पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा प्राविधिक कक्षाका रूपमा यो वर्षबाट बिआइटीको पढाइ हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सेमेष्टर परीक्षा प्रणालीअनुसार चारवर्षे स्नातक तह (बिआइटी) को पढाइ गर्न स्वीकृति दिएपछि वीरगन्जको ठाकुरराम क्याम्पसमा पनि अब प्रविधिमैत्री पढाइ हुने भएको हो।

पहिलो वर्ष २०७८ का लागि ३६ जना विद्यार्थीको कोटा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले बताए। समय प्रविधिमैत्री बन्दै गएकोले ठाकुरराम क्याम्पसले पनि यो कक्षा सञ्चालन गर्न पहल गरेको उनको भनाइ छ।

पूर्वाधार तयारी अगाडि बढिसकेको र आगामी माघ ३ गतेदेखि पढ्न इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्ने क्याम्पसको आइटी विभागका शिक्षक आलोक चौरसियाले बताए।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा सेमेष्टर परीक्षा प्रणालीअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार पठनपाठन हुने उनको भनाइ छ।

चारवर्षे स्नातक तह ‘ब्याच्लर इन इन्फर्मेशन टेक्नोलोजी’ (बिआइटी) कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूले २०७८ को लागि आवेदन दिन सकिने क्याम्पसका बिआइटी विभागका प्रमुख विजय कुशवाहाले उल्लेख गरे।

फारम भर्ने अन्तिम मिति आगामी माघ २६ गते साँझ ५ बजेसम्म रहने प्रमुख कुशवाहाले बताए। नजिक हुने विद्यार्थीहरूले क्याम्पसमै आएर पनि फारम भर्न थप प्रष्ट हुन सक्ने जनाइएको छ।

कक्षा सचालन र भर्ना प्रक्रियाका बारे सूचना प्रकाशित गरी जानकारी दिइनेछ। आवेदन प्रक्रिया भने विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट डब्लुइबीपीएजिइ एचटिटिपिएस वा टियुआइओएसटि डट इडियु डट एनपी मा रहेको बिआइटी प्रवेश परीक्षाको लिंकमा गई स्वय‌ंले आवेदन फारम भरी अनलाइनबाट नै सोही वेबसाइट मार्फत सबमिट गर्नुपर्ने क्याम्पसले जनाएको छ।

गतवर्षबाट मात्र सुरु गरेको त्रिविको यो पढाइ मुलुकभरका सातवटा कलेजमा मात्र भइरहेकोमा वीरगन्जको ठाकुरराम कलेज पनि यसमा पर्नु राम्रो संकेत भएको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रमोद कुशवाह र सहायक क्याम्पस प्रमुख रोशन लामिछाने लगायतले बताए।

वीरगन्जमा नै बिआइटीको पढाइ हुने भएपछि मध्य तराईका आइटी अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो राहत भएको स्थानीयले पनि बताएका छन्।

ठाकुरराम क्याम्पसमा नै बिआइटीको अध्ययन गर्न मिल्ने भएपछि यस क्षेत्रका विद्यार्थीले काठमाडौँ र भारतका विभिन्न शहरमा पुगी महँगो शिक्षा लिन नपर्ने भएको स्थानीय तथा ठाकुररामका पूर्व विद्यार्थी नेता दिलीप कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.