|

दाङ : शान्तिनगर गाउँपालिका-५ ढोरेनीका कृष्णबहादुर चौधरी ७० वर्षका भए। उनी थारू समुदायका मतहवा पनि हुन्। थारू समुदायको मौलिकता बोकेको कला‚ संस्कृति हराउन थालेकोमा उनी चिन्तित छन्।

थारू समुदायले विशेष गरी माघीलाई महान् रूपमा मनाउने गर्दछन्। माघीलाई नयाँ वर्षका रूपमा लिन्छन्। माघी पर्वमा नयाँ काम, विवाह, अंशबण्डालगायतका काम पनि गर्दै मनाउने प्रचलन छ। तर‚ पछिल्लो पुस्ताले सबै भुल्दै गएको कृष्णबहादुर बताउँछन्।

‘पहिला हाम्रा पालामा जस्तो अहिले कुनै पनि पर्व मनाइँदैन‚’ उनले भने, ‘त्यो बेला गाउँभरि मानिसहरू मतहवाको घरमा जम्मा हुने, रातभरि रक्सी, मासु खाएर नाच्थे। तर‚ अहिले सबै हराउँदै गएको छ। मादलमा नाच्न छाडे, साउन्ड सिस्टमबाट नाच्छन्।’

थारूहरू चाडपर्व मात्र नभई काममा पनि मिलेर गर्ने प्रचलन रहे पनि पछिल्लो समय हराउँदै गएको कृष्णबहादुर बताउँछन्। ‘कसैको घर बनाउन पनि गाउँकै मानिसहरू गएर बनाउँथ्यौँ‚’ उनले भने‚ ‘कसैको धान काट्न पनि त्यस्तै गर्थ्यौं तर अहिले सबै हराउँदै गएको छ।’

शान्तिनगर-५ बाघढोईका बुद्धिराम चौधरीले पनि आफ्नो कला‚ संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गरे। थारू समुदायको संस्कार, रीतिरिवाज जोगाउन युवा पुस्ताले ध्यान दिनुपर्ने उनको सुझाव छ।

‘हाम्रो मुख्य पर्व माघी हो। यस पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने गर्छौँ‚’ बुद्धिरामले भने‚ ‘नयाँ कामको योजना, कसले के गर्न लागेको छ। त्यो सबैलाई जानकारी दिने हुन्छ। छोरीहरूको विवाह पनि गाउँमै गरिदिने चलन थियो तर आज सबै हराउँदै गएको छ।’

आफ्नो कला संस्कृति हराउँदै जानुमा पछिल्लो समय युवा पुस्ताहरू आधुनिकतातर्फ लाग्दा र गाउँमा भएका थारू समुदायहरू पनि बसाइँ सरी अन्यत्र जानु कारक रहेको उनको बुझाइ छ।

‘हाम्रो गाउँमा करिब ८ घर थारू थियौँ। चार घर बसाइँ सरी कैलाली गए‚’ उनले भने‚ ‘अहिले चार घर मात्र छौँ। चार घरले मात्र आफ्नो कलासंस्कृति बचाउँदै आएका छौँ।’

थारू समुदाय आर्थिक स्थितिले कमजोर भए पनि कला र संस्कृतिमा धनी मानिने बुद्धिराम बताउँछन्।

‘हामीले माघीमा मौहटा गीत‚ दशैँमा दशहिया गीत गाएर छोरीबहिनीहरू नाच्ने चलन थियो,’ उनले भने, ‘महिलाहरू कृष्णजन्माष्टमीमा कृष्ण चरित्र र महादेवपार्वतीको महिलाहरू गीत गाउँथे। अहिले धेरै ठाउँमा यस्ता हराउँदै गएका छन्। केही ठाउँमा मात्र हुन सक्छ।’

पुराना पुस्तालाई मात्र नभई युवा पुस्तालाई पनि आफ्नो कला संस्कृति हराउँदै गएको थाहा छ। त्यही कला संस्कृति जोगाउन आफू निरन्तर रूपमा लाग्दै आएको उनीहरूको भनाइ छ। शान्तिनगर-५ का केही युवा कला‚ संस्कृति जोगाउन लागिपरेका छन्। कुनै पनि कार्यक्रम भएमा आफ्नो गाउँ ठाउँको नाचसहित संस्कृति देखाउने गरेको स्थानीय विष्णु चौधरीले बताए।

उनले पछिल्लो समय आफ्नो कला‚ संस्कृति लोप हुँदै गइरहेको अवस्थामा आफूहरु संरक्षण गर्न लागिपरेको बताए। विष्णुले आफूजस्तै उमेरकाले संरक्षण गर्न लागिपरे पनि छोराछोरीले सबै भुल्दै गएको गुनासो गरे। थारूहरूको कलासंस्कृति बचाउन सरकारले पनि विशेष ध्यान दिनुपर्ने उनको भाग छ।

‘हाम्रो कला संस्कृति हराउँदै गएकोमा हामीलाई पनि चिन्ता छ’, उनले भने, ‘युवा पुस्ताहरू बेरोजगार भएर विदेश जान बाध्य छन्। पुराना पुस्ता बूढा भइसके। राज्यले युवाहरूलाई गाउँ ठाउँमै रोजगारको व्यवस्था गरे उनीहरू घरमै बस्ने र कला संस्कृतिको ध्यान दिन सक्छन्।’

विष्णुले कोरोना महामारीका कारण भिडभाड गर्न नमिल्ने भएकाले विगतका वर्ष झैँ यस वर्ष नाचगान कार्यक्रम गर्न समस्या भएको बताए।

‘गाउँका साथीभाइ मिलेर नाचगान गरौँ भने पनि कोरोना महामारीले गर्दा समस्या भएको छ‚’ उनले भने‚ ‘योपटक पनि हाम्रो तयारी थियो तर अहिले जिल्लामा कोरोना बढेपछि २५ जनाभन्दा बढीको भिडभाड गर्न नमिल्ने भनेपछि समस्या भएको हो।’

पछिल्लो समय थारू समुदायको मात्र नभई विभिन्न समुदायका मौलिक कला संस्कृति हराउँदै गएपछि स्थानीय सरकारले त्यसो संरक्षणमा सहयोग गर्दै आएको वडा नम्बर ५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताए। आधुनिकतासँगै मौलिकता हराउन थालेपछि त्यसलाई जोगाउन आफूहरूले विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको उनको भनाइ छ।

उनले आफ्नो वडामा थारूहरू धेरै भएकाले विगतका वर्षदेखि नै माघीमा सांस्कृति कार्यक्रम आयोजना गरी उनीहरूको पहिचान जोगाउन काम गर्दै आएको वडाध्यक्ष बस्नेतको भनाइ छ। त्यस्तै‚ उनले आफू जनप्रतिनिधि भएर आएपछि मतहवा नभएको चौधरी गाउँमा मतहवा बनाएको र भुँय्यारथान संरक्षणका लागि पनि सहयोग गरेको बताए।

शान्तिनगर-६ ले पनि थारू समुदायको कला संस्कृति संरक्षण गर्न उनीरूले बजाउने बाजा, पहिरन र वडाका ७ वटा गाउँका ७ जना मतहवालाई सम्मान गरेको वडाध्यक्ष रवि बुढाथोकीले बताए। उनले कुनै पनि ठाउँको पहिचान त्यस ठाउँको धर्मसंस्कृति र कलाले चिनाउने भन्दै थारू समुदायको संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हुने भएकाले आफूहरुले सहयोग र सम्मान गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.