|

काठमाडौं : नेपाल मुस्लिम संघले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी विसं ०७९ वैशाख १४ र २० गते प्रस्ताव गरेकोमा त्यस समयमा मुस्लिम समुदायको रमजान व्रत तथा इद पर्व पर्ने भन्दै मितिमा पुनर्विचार गर्न आग्रह गरेको हो। 

आगामी चैतको १९ गतेदेखि वैशाखको २० गतेसम्म एक महिनासम्म मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने संघका उपसभापति अताबुल मन्सुरीले विज्ञप्ति जारी गर्दै बताएका छन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम संघका  निवर्तमान सभापति अब्दुल सतारले नेपालको करिब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई उक्त प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रो पर्ने भएकाले मितिमा पुनर्विचार गर्नुपर्ने बताए।

उनले भने, ‘मतदान गर्नै गाह्रो हुने त होइन तर पनि महिना दिनसम्म उपासनाको पर्व परेकाले उम्मेदवार बन्न या निर्वाचन प्रचारकै लागि पनि समस्या हुने भएकाले यस व्यावहारिकतालाई मध्यनजर गरी यसमा पुनर्विचार होस् भनी म निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गर्दछु।’       

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.