काठमाडौं : गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्रीकप टी-२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
समूह 'बी'अन्तर्गत शनिबार भएको आफ्नो अन्तिम खेलमा जित भएसँगै बागमती समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गर्यो।
टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा १४३ रन बनाएको थियो। जवाफमा गण्डकी १०३ रन मात्र जोड्न सफल भएपछि बागमती विजयी भयो।
पहिलो ब्याटिङ गरेको बागमतीका लागि विपीन आचार्यले सर्वाधिक ३० रन बनाउँदा सुवास खकुरेल र प्रतिश जिसीले समान २७-२७ रन बनाए।
त्यस्तै लक्की कठायतले १७ रन जोड्दा नन्दन यादवले १४ रनको स्कोर तयार गरे। गण्डकीका लागि कृष्ण पौडेल र विशाल पौडेलले २-२ विकेट लिएका थिए।
१४४ रनको लक्ष्य पछ्याएको गण्डकी बागमतीका बलरसामु निरीह रह्यो। गण्डकीका पाँच खेलाडीले १० रन जोड्दा कमल परियारले ११ रन बनाए।
बागमतीका लागि नन्दन यादव, विपीन आचार्य र सुवास खत्रीले समान २-२ विकेट लिए। त्यस्तै प्रतिश जिसी,रिजन ढकाल र रामनरेश गिरीले १-१ विकेट लिएका थिए।
समूह 'बी' बाट एपिएफ विजेता र बागमती उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।