|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा नवौं चरणसम्म कायमै राखेको छ।

लिगमा चौथो जित निकाल्ने क्रममा आर्मी क्लब कुपन्डोलको फ्रेन्ड्सलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा कायमै रह्यो।

९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिदा आर्मी क्लब दोस्रो स्थानको मनाङसँग २ र शीर्ष स्थानको मच्छिन्द्रसँग ३ अंकले पछि रहेको छ।

नवौं चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै उपाधि होडमा समेत अघि बढेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० औं मिनेटमै जगजित श्रेष्ठले आर्मीलाई सुरुवाती अग्रता दिलाए। ४४ औं मिनेटमा दिनेश हेम्जनले आर्मीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमै २-० को अग्रता दिलाए।

दोस्रो हाफमा फ्रेन्ड्सले खेलमा फर्काउन प्रयास गरेको थियो। डिफेन्डरको गल्तीमा जमाउल एन्थोनीले फ्रेन्ड्सका लागि पहिलो गोल गरे तर त्यसपछि पनि आर्मीले खेलमा दबाब राख्दै ७१ औं मिनेटमा तेस्रो गोल गर्‍यो। सुमन अर्यालले आर्मीलाई ३-१ को अवस्थामा पुर्‍याउन सफल भए।

नवौं चरणसम्म जितविहीन रहेको फ्रेन्ड्सलाई यो हारले रेलिगेसन दबाब थप बढाएको छ। लिगमा चार खेल खेल्न बाँकी हुँदा फ्रेन्ड्सको खातामा केवल ३ अंक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.