काठमाडौं : थारू समुदायका मानिसले आज नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाएका छन्।
ठाउँठाउँमा शुभकामना आदानप्रदान गरेर थारू समुदायले माघी मनाएका हुन्। माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नामले चिनिन्छ।
माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ।
बेलुका घरमा मुढा बालेर धुनी जगाउँछन्। धुनीका चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि ५ दिनसम्म उनीहरूले आपूm स्वतन्त्र भएको अनुभव गर्छन्।
यो अवसरमा नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ। कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ, त्यो असफल हुँदैन भन्ने विश्वास यो समुदायमा छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने मान्यता छ।
यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ।
धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन्। सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ।
थारू जातिमा यो दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। बीचमा फेरबदल हुँदैन। यस प्रथालाई माघी देवानी भनिन्छ।
विशेष गरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यो चाडलाई खिचडी भन्ने चलन पनि छ। थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्।
विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ।
सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यो पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।