|

हेटौंडा : राक्सिराङ गाउँपालिका सीमान्तकृत चेपाङ समुदायको बाहुल्य भएको र शिक्षा, स्वास्थ्य, रोजगारीसँगै विकासका आयामबाट टाढा रहेको ठाउँ। जसलाई मकवानपुरको कर्णाली भनेर पनि चिनिन्छ।

उसो त राक्सिराङ गाउँपालिका गाँजा उत्पादन हुने ठाउँको रूपमा पनि नचिनिएको होइन।

राक्सिराङमा गाँजा उत्पादन मात्रै हुँदैन, प्रहरीले दैनिकजसो गाँजासहित लागुऔषध ओसारपसार गर्नेलाई पक्रने ठाउँ पनि हो।

वर्षेनि सयौं प्रहरी परिचालन गरेर गाँजा फँडानी गर्दै आए पनि राक्सिराङमा न त उत्पादन रोकिएको छ न ओसारपसार गर्ने क्रममा पक्राउ पर्नेहरूको संख्या नै घटेको छ।

राक्सिराङका सीमित घरहरू बाहेक अधिकांश घरमा गाँजा दैनिक खाने सागसब्जीको रूपमा लगाएको भेट्न सकिन्छ।

त्यहाँको जमिनमा अन्य अन्नबाली देखियोस् नदेखियोस् गाँजा भने प्रशस्तै देख्न सकिन्छ। राक्सिराङमा जन्मने चेपाङ समुदायको बालबालिकाहरू गाँजासँगै लुटुपुटु गर्दै हुर्किन्छन्।

अन्नबाली र सागपातको सट्टा गाँजा मात्रै उत्पादन भएको देख्दै हुर्किने त्यहाँका बालबालिकाका लागि पनि गाँजा उत्पादन र बेचबिखन पारिवारिक सिकाइ जस्तै बनेको छ। जसले गर्दा गाँजा राक्सिराङका चेपाङका लागि एउटा ठूलो रोग बन्न पुगेको छ।

गाँजा उत्पादन र ओसारपसारले बिस्तारै गाउँपालिका भरिका युवादेखि वृद्धसम्मलाई कारागारको चार भित्ताभित्र कैदी बन्न पुर्‍याइरहेको छ।

राक्सिराङ गाउँपालिका निर्वाचन क्षेत्रको मकवानपुरबाट प्रतिनिधिसभा सदस्य बनेका विरोध खतिवडाले गाँजालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन्।

स्वास्थ्यमन्त्री समेत रहेका उनले काठमाडौंमा बसेर गाँजालाई वैधानिक गर्न माग गरिरहँदा उनको निर्वाचन क्षेत्र रहेको राक्सिराङ गाँजाकै कारण रित्तिन लागिसकेको छ।

त्यहाँ बेरोजगारी र भोकमरीका कारण २/४ हजार रुपैयाँको आशामा गाँजा ओसारपसार गर्न पुगेका भरियाहरू अहिले भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका छन्।

गाउँपालिकाका अधिकांश पुरुष कोही कैदी जीवन बिताएर फर्किएका, कोही कारागारमा कैदी जीवन बिताइरहेका त कोही फरार छन्। राक्सिराङको चेपाङ समुदायका लागि कोरोना महामारीभन्दा पनि गाँजाको महामारी बढी घातक बन्दै गएको छ। 

यसरी सुरु भएको थियो गाँजा उत्पादन र ओसारपसार

वि.सं. २०३३ सालसम्म नेपालमा वैध रूपमा गाँजा खेती हुने गरेको थियो। त्यसपछि सरकारले गाँजा उत्पादनमा प्रतिबन्ध लगाएपछि यसको उत्पादनमा कमी आएको थियो।

त्यतिवेला आफैँ उम्रिएर फल्ने स्थानीय गाँजा उत्पादन हुने गर्थ्यो। गाँजा उत्पादन गर्ने भनेर छुट्टै बिरुवा लगाउने नगरेको यसका जानकारहरू बताउँछन्।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको पनि माथिल्ला अग्ला भेगमा आफैँ उत्पादन हुने गाँजा त्यतिवेला पाइने गरे पनि यसको व्यावसायिक उत्पादन र ओसारपसार भने खासै भएको पाइँदैन।

त्यतिवेला त्यहाँ उत्पादन हुने गाजा विशेषतः गाँजाको गेडा अर्थात् भाङको अचार बनाएर खान प्रयोग हुने गरिन्थ्यो तर २०५० को दशकपछि भने राक्सिराङमा गाँजाले व्यावसायिकता पाएको देखिन्छ।

राक्सिराङ गाउँपालिकाका अगुवा तथा यससम्बन्धी जानकारहरूका अनुसार २०५० सालयता तराईबाट आएका केही मान्छेले राक्सिराङमा गाँजाको विरुवा लगाएका थिए।

तराईबाट आएका गाँजाको तस्करीसहितको टोलीले मकवानपुरको राक्सिराङमा उन्नत जातको गाँजा लगाएपछि यसको व्यवसायीकरण सुरु भएको मानिन्छ।

तराईभन्दा पहाडमा उत्पादन भएको गाजा बढी गुणस्तरीय हुने भएपछि त्यहाँबाट गाँजा तस्करहरू पहाडी क्षेत्र खोज्दै हिँड्ने क्रममा मकवानपुरको विकट राक्सिराङ पुगेका थिए।

गाँजाको बीउ ल्याएर लगाएका उनीहरूले मिस्त्री नै ल्याएर ब्याडमै गाँजाको भाले र पोथी छुट्याउन लगाउने गरेको बताइन्छ। गाँजा लगाउँदा हुने सबै खर्चसमेत आफैँले व्यहोर्ने तस्करहरूले केही समय जग्गा भाडामा लिएर समेत गाँजा उत्पादन गरेका थिए।

ती तस्करहरू बंगलादेशबाट आएको समेत स्थानीयहरू बताउँछन्। त्यसपछि स्थानीय बासिन्दाले अन्नपातको साटो गाँजा उत्पादन गर्न थालेको बुझिन्छ।

प्रभावकारी बन्न सकेन प्रहरीको गाँजा फडानी अभियान

जिल्ला प्रहरी कार्यालय मकवानपुरले वर्षेनि सयौं प्रहरी परिचालन गरेर राक्सिराङ र कैलास गाउँपालिकाको गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको छ। तैपनि प्रहरीको गाँजा फडानी अभियान एउटा अभियानमा मात्रै सीमित भएको छ।

प्रहरीले गाँजा फडानी गरे पनि त्यसले न उत्पादन घटाएको छ न यसको बेचबिखन नै। मकवानपुर प्रहरीले पछिल्लो पाँच वर्षमा जिल्लाको ३ हजार ४५ बिघा ४३ कट्ठामा लगाएको गाँजा फडानी गरेर नष्ट गरेको छ।

तैपनि वर्षेनि यसको उत्पादनको स्तर बढ्दै गएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकअनुसार प्रहरीले आव ०७२।०७३ मा ८५८ बिघा ९ कट्ठा १० धुर, ०७३।०७४ मा ४१५ बिघा ६ कट्ठा ९ धुर, ०७४।०७५ मा ३९४ बिघा ९ कट्ठा, ०७५।०७६ मा ३४२ बिघा २ कट्ठा, ०७६।०७७ मा ५६३ बिघा १ कट्ठा, ०७७।०७८ मा ४६२ बिघा १ कट्ठा र चालु आवको हालसम्म १११ बिघा ५ कट्ठामा लगाएको गाँजा फँडानी गरेर नष्ट गरिएको छ।

प्रहरीले अभियान नै चलाएर गाँजा फडानी गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन।

पाँच वर्षमा १ हजार ७८ जना पक्राउ

पछिल्लो पाँच वर्षमा मकवानपुर प्रहरीले गाँजासहितको लागुऔषध ओसारपसार गर्ने ७८ जनालाई पक्राउ गरेको छ। तीमध्ये अधिकांश राक्सिराङवासी छन्। त्यसमा पनि चेपाङ नै अधिक छन्।

चेपाङहरू अशिक्षित र बेरोजगार हुनुका साथै गरिबीका कारण भोकमरीको चपेटामा पर्नुका कारण लागुऔषध ओसारपसार कार्यमा संलग्न हुने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन्।

भोकमरीमा पिल्सिने गरेका उनीहरू थोरै पैसाको लोभमा लागुऔषध ओसारपसार गर्ने भरिया बन्ने गरेका छन्। यसले गर्दा कैयौं चेपाङ प्रहरीको फन्दामा परेर कारागार पुगेका छन्।

मकवानपुरका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालका अनुसार मकवानपुर प्रहरीले आव ०७३।०७४ मा २०३ जना, ०७४।०७५ मा २३७ जना, ०७५।०७६ मा २०६ जना, ०७६।०७७ मा १८७ जना, ०७७।०७८ मा १५१ जना र चालु आवको हालसम्म ९४ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ।

तीमध्ये १०६ जना भारतीय रहेका छन् भने बाँकी ९७२ जना नेपाली नागरिक हुन्। त्यसमा पनि मकवानपुरको राक्सिराङ र कैलास गाउँपालिकाका बासिन्दा बढी छन्।

गाँजाको विकल्प पाएनौँ : किसान

राक्सिराङ गाउँपालिका–३ मा गाँजा उत्पादन गर्दै आएका किसानहरू आफूहरूलाई सम्बन्धित निकायले गाँजाको विकल्प नदिएको बताउँछन्।

नाम नबताउने शर्तमा एक महिला किसानले भनिन्, ‘गाउँको यत्रो मान्छे जेल परेको देख्दादेख्दै हामीलाई गाँजा नै लगाउने रहर भएको होइन। यहाँ अरू अन्नबाली उत्पादन हुँदैन, प्रहरीले गाँजा नष्ट गर्छ‚ विकल्प दिँदैन।’

वर्षमा ६ महिना आफूहरू भोकमरीको चपेटामा पर्ने गरेको भन्दै उनले गाँजा उत्पादन गरेर बेच्दा खानलाई चामल किन्ने पैसा आउने बताइन्।

सरकारले गाँजाको विकल्पमा अन्य बाली लगाउने उपाय र सहयोग गरिदिए आफूहरू गाँजा उत्पादन गर्न छोड्न तयार रहेको उनको भनाइ छ।

आफूहरूले दुःख गरेर लगाएको गाँजा प्रहरीले वर्षेनि फँडानी गरेर हातमुख जोड्ने समस्या पार्ने गरेको उनले गुनासो गरिन्।

सोचेअनुसार गर्न सकिएन : गाउँपालिका अध्यक्ष

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल गाँजाको उत्पादन र ओसारपसार गाउँपालिकाका लागि अभिशाप बनेको बताउँछन्।

गाउँपालिकाका अधिकांश युवा गाँजा ओसारपसार मुद्दामा कारागारमा सजाय काटिरहेको भन्दै यसलाई नियन्त्रण गर्न आफूहरूले सोचेअनुसार काम गर्न नसकेको बताए।

उनले राक्सिराङमा न्यूनतम सेवा सुविधा पनि नपुगेकाले सबै कुरा व्यवस्थापन गर्दै जाँदा गाँजा उत्पादनलाई नियन्त्रण गर्न आफूहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको स्विकारे।

मल्लले भने, ‘राक्सिराङको ठूलो समस्याको रूपमा गाँजा रहेको छ तर हामीले अहिले बाटोलाई प्राथमिकता दिनुपर्‍यो जसले गर्दा यसको न्यूनीकरणमा सोचेजति काम गर्न सकेनौँ।’

उनले गाउँपालिकामा बाटो नबनेकाले शिक्षा र स्वास्थ्यजस्तो सेवा पनि नपुगेकाले आफूहरूले बाटो निर्माणलाई प्राथमिकता दिएको भन्दै गाँजाको समस्या न्यूनीकरण गर्न बेरोजगारी हटाउने पहल पनि भएको बताए।

उनका अनुसार गाउँपालिकाले अध्यक्ष रोजगार र उद्यमशीलता कार्यक्रमका साथै बाख्रापालन र तरकारी खेती सञ्चालन गरेको थियो।

राक्सिराङलाई गाँजा उत्पादन र ओसारपसारमुक्त गाउँपालिका बनाउन ठूलो चुनौती रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.