|

काठमाडौं : सरकारले सार्वजनिक सेवा लिन यही माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भएपछि काठमाडौंको सिभिल अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरूको निकै लामो लर्को लागेको छ।

सरकारले अघिल्लो वर्ष माघ १४ गते कोरोनाविरुद्ध खोप लगाउन थालेको थियो। खोप केन्द्रहरूमा सुरुदेखि नै खोप लगाउनेको भीड घटेको छैन।

पछिल्लो समय भने कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागू गरेको हो।

सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढीको भीड भेला हुन निषेध गरेको छ। तर, सरकारले नै सञ्चालन गरेका खोप केन्द्रहरूमा हजारभन्दा बढी मानिसको लामो लाइन लागेको हुन्छ।

त्यही लामो लाइनमा उभिनेमध्येका एक हुन् महोत्तरी बर्दिबासका सञ्चमान मोक्तान।

४ घण्टा लामो पर्खाइपछि खोप लगाउन पाएका उनले भने, ‘कोरोना भाइरसको नयाँ भेरिएन्ट आएको छ रे, त्यही भएर खोप लगाएको।’ 

सरकारले कोरोनाविरुद्ध खोप दिन थालेको करिब १ वर्षपछि उनले खोपको पहिलो मात्रा लगाएका हुन्।

मोक्तानजस्तै कोरोनाविरुद्ध पहिलो मात्रा खोप लगाउन लाइनमा घण्टौं उभिए- सुनसरीका श्रीप्रसाद मण्डल।

‘अहिले नै हेर्नु न, भित्र बाहिर कति भीड छ। फेरि भन्छ लकडाउन हुन्छ’, उनले भने, ‘अब कहीँ जानुपर्‍यो भने खोप कार्ड चाहिन्छ, नत्र केही हुँदैन। त्यही भएर खोप लगाउन आएको।’

सरकारले खोप अभियान तीव्र पारिरहँदा अग्रपंक्तिमा रहेकालाई बुष्टर मात्रा लगाउन आज (आइतबार) शुरु गरेको छ।

तर सिभिलमा भने पहिलो र दोस्रो मात्रा लगाउनेको भीड लागेको हो।

बिहानै ८ बजेदेखि लाइनमा रहेका महोत्तरीका सिकेन्द्रकुमार माझीले दिउँसो साढे ३ बजे खोप लगाउन पाए। 

खोप केन्द्रमा भीडकै कारण २ दिन लाइनमा बस्नु परेको श्रीअन्तु इलामकी शर्मिला प्रधानले बताइन्।

उनले भनिन्, ‘अस्ति पनि लाइनमा बस्दा अन्तिममा खोप सकियो, दिनभर खोपकै आशामा लाइनमा बसियो’, उनले थपिन्, 'आज पनि बल्लबल्ल खोप लगाउन पाएँ।’ 

उनले पनि खोपको पहिलो मात्रा लगाएकी हुन्। विदेश जाने तयारी गरेकी प्रधानले जोन्सन एन्ड जोन्सन खोप लगाएकी हुन्।

‘कोरोनाले नयाँ-नयाँ स्वरुप परिवर्तन गरिरहँदा अझै अर्को खोप पनि लगाउनु पर्छ भन्ने शंका छ’, उनले भनिन्, ‘तर खोप लगाएपछि अब केही समय ढुक्क भएँ।’

बुष्टर लगाउन थालेको सरकारले पहिलो मात्रा खोप नै लगाउन नपाएकालाई समेट्न खोप केन्द्रको संख्या बढाउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिभिल अस्पतालमा खटिएको खोप संयोजक मीनराज न्यौपानेले बताए।

उनले भने, ‘यहाँ मात्रै होइन देशभरका सबै खोप केन्द्रहरूमा उस्तै भीड छ, भौतिक दूरी कायम गर्न सकिएको छैन’, उनले थपे, ‘यो भीड कम गर्न, सबैमा खोप पुर्‍याउन सरकारले अझै खोप केन्द्र थप्नु पर्छ। खोप केन्द्रमा सेवाग्राही कम हुँदा भौतिक दूरी कायम राख्न सम्भव हुन्छ।’

नेपालमा आज आइतबारसम्म १ करोड ५८ लाख ३७ हजार ६ सय ७१ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्।

१८ वर्ष उमेरमाथिका पहिलो मात्रा खोप लगाउनुपर्ने नेपालीको संख्या अझै ४० लाख ८४ हजार ४ सय ९३ रहेको छ।

आगामी चैतसम्म सो उमेर समूहका १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई खोप दिने लक्ष्य सरकारको छ।

यो उमेर समूहका १ करोड २१ लाख २७ हजार ८ सय २९ जनाले दुवै मात्रा खोप लगाएका छन्।

सरकारी तथ्यांकअनुसार अझै ७७ लाख ९४ हजार ३ सय ३५ जनाले दोस्रो मात्राको खोप पाएका छैनन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.