|
फाइल फोटो

पर्वत : गण्डकी प्रदेशमा पछिल्लो एक महिनामा कोरोना संक्रमण दर ३० गुणाले बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार गत पुस ९ गते प्रदेशमा सात जनामा संक्रमणको पुष्टि भएकोमा माघ २ गते २१३ जनामा संक्रमणको पुष्टि भएको छ।

नौ जिल्ला रहेको गण्डकी प्रदेशमा पुस ९ गने कास्कीका मात्र ६ जना महिला र एक जना पुरुषमा संक्रमणको पुष्टि भएको थियो। जब कि माघ २ मा कास्कीका १५८, स्याङ्जाका २०, लमजुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२/१२, तनहुँका चार, बाग्लुङका तीन, गोरखाका दुई तथा म्याग्दी र पर्वतका एक/एक जनामा संक्रमणको पुष्टि भएको छ।

पुस ९ गतेदेखि क्रमिक उकालो लागेको संक्रमण दर हरेक दिन २३, १३, १४, १६, २७, १९, १३, १६, २२, १६, ३८, ७०, ११४, १२१, १६५, १८३,२०६ हुँदै २१३ मा पुगेको हो।

पाँच गुणाले बढ्यो पिसिआर परीक्षण

निर्देशनालयले दिएको तथ्यांक अनुसार संक्रमण दर बढ्दै गएपछि परीक्षणको दायरा पनि फराकिलो पार्दै लगिएको छ। सात जनामा संक्रमणको पुष्टि भएको दिन पुस ९ मा ८९ जनाको पिसिआर परीक्षण गरिएकोमा माघ २ मा ५१३ जनाको परीक्षण गरिएको थियो।

जुन दिनमा परीक्षणको दायरा फराकिलो पारिएको छ, त्यही दिनमा नै संक्रमितको संख्या पनि बढेको पाइएको छ। पुस ११ मा २१८ जनाको पिसिआर परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको थियो। पुस १३ मा १३९ परीक्षणबाट १४ जनामा, पुस १४ मा ८७ परीक्षणबाट १६ जनामा, पुस १६ मा २३७ परीक्षणबाट २७ जनामा, पुस १८ मा १९१ परीक्षणबाट १९ जनामा, पुस १९ मा १७१ परीक्षणबाट १९ जनामा, पुस २० मा ११६ परीक्षणबाट १३ जनामा, पुस २१ मा ११७ परीक्षणबाट १६ जनामा, पुस २२ मा २०७ परीक्षणबाट २२ जनामा, पुस २३ मा १४५ परीक्षणबाट १६ जनामा संक्रमणको पुष्टि भएको थियो।

त्यस यताका दिनमा संक्रमण र परीक्षणको दायरा झनै फराकिलो हुँदै गएको छ। संयोजक शर्माका अनुसार पुस २५ मा २१३ परीक्षणबाट ३८ जनामा, पुस २६ मा २४१ परीक्षणबाट ७० जनामा, पुस २७ मा ३६४ परीक्षणबाट ११४ जनामा, पुस २८ मा ३०६ परीक्षणबाट १२१ जनामा, पुस २९ मा ३५९ परीक्षणबाट १६५ जनामा, पुस ३० मा ४२२ परीक्षणबाट १६८ जनामा, माघ एकमा ४३२ परीक्षणबाट २०६ जनामा र माघ दुईमा ५१३ परीक्षणबाट २१३ जनामा संक्रमणको पुष्टि भएको छ।

घट्यो संक्रमणमुक्त हुने दर

पुस ११ गतेदेखि पछिल्लो माघ दुईसम्मको अवधिमा संक्रमितहरूको निको हुने दर उतारचढाव देखिएको छ। पुस ११ र माघ २ को तथ्यांक अनुसार निको हुने दर कमी आएको देखिन्छ।

गत पुस ११ मा ३८ जना कोरोना संक्रमणमुक्त भएका थिए। माघ २ मा १६ जना संक्रमणमुक्त भएका छन्।

संक्रमितको दर बढ्दै गइरहेको भए पनि पुस २८ यता संक्रमणमुक्त हुने दर भने घट्दै गएको छ। पुस २९ मा १९, पुस ३० मा १८, माघ १ मा १३ र माघ २ मा १६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.