|

काठमाडाैं : खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेहीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ।

विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेहीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताए। 'ठूलो क्षेत्रफलमा अध्ययन गरेर क्रमशः सानो क्षेत्रफलको अध्ययन गर्नेछौँ', उनले भने। विभागले एक महिनाको फलामको भू–भौतिक अध्ययनका लागि जनशक्तिसमेत खटाइसकेको छ।

फलामबाहेक उक्त विभागले काभ्रेपलाञ्चोकको फोस्रेडाँडामा ग्रेनाइटको अध्ययन एवं ‘ड्रिलिङ’ कार्य गरिरहेको छ। महानिर्देशक घिमिरेका अनुसार सिन्धुलीको पहाड तथा कैलालीको खोलामा पाइने ढुङ्गाको समेत अध्ययन गरिएको छ।

विभागले चालू आर्थिक वर्षमा नै देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्वल, बालुवा, तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो।

खानी तथा भूगर्भ विभागले देशका विभिन्न शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ। विभागका अनुसार विस २०५२ सालदेखि हालसम्म देशभरका २२ शहरको भू इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न भइसकेको छ।

प्रत्येक वर्ष एक शहरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम गर्दै आएको विभागले चालू आर्थिक वर्षमा बर्दियाको गुलरीया बजारको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.