|

‘छातीभित्र कहिले लिम्पियाधुरा दुख्छ, कहिले लिपु, कहिले कालापानी दुख्छ।’ उल्लिखित पंक्तिले मुटु छोयो अनि टपक्क टिपेँ दार्चुलाका खिमानन्द जोशीको फेसबुक वालबाट। स्रोत खुलाइसकेपछि बौद्धिक सम्पत्ति तलमाथि गरेको आरोप लाग्ने छैन भन्ने आशा गरेको छु।

दार्चुला भन्ने बित्तिकै मैले स्थानीय युवा जयसिंह धामीलाई सम्झेँ। कृपया मेरो सम्झनालाई कर्मकाण्डी प्रकृतिको नठानी दिनुहोला। कर्मकाण्डी तरिकाले सम्झिने त लाभको पदमा बसेका वा निकट भविष्यमा त्यस्तो पद ओगट्ने सम्भावना भएकाहरूले हो। वीरहरूका लाशलाई सिंढी बनाएर सत्तारोहण गर्नेहरूले हो।

प्रसिद्ध उपन्यासकार ह्यारल्ड रबिन्सले लेखेकै छन् नि ‘हिरोज् डाइ सो द्याट कावर्ड्स मे लिव।’ पंक्तिकारजस्ता कलमजीवीहरूले त आफूजस्तै सामान्यजनको बलिदानलाई लोकले नबिर्सियोस् भनेर अभिलिखित गर्ने मात्र हो।

हाम्रा रंगीबिरंगी नेताहरूका लागि स्वदेशभन्दा कति हो कति प्यारो छिमेकी देशका सिपाहीले २०७८ साउन १५ गते जयसिंह धामी महाकाली नदी तर्दै गर्दा तुइन काटिदिए। सरकारी भाषा सापटी लिएर भन्नुपर्दा धामीको अवस्था आजसम्म पनि अज्ञात नै छ। धामी बेपत्ता हुनु धेरै अघिदेखि नै दार्चुलालगायतका नेपालका सीमा क्षेत्रका जिल्लाहरूमा धेरै हुने नहुने घटनाहरू भइरहेकै छन्।

जे होस्, बेपत्ता नागरिक खोज्नका लागि लुइ चौधौँको नेपाली संस्करण अर्थात् नेपाली राज्य यसो चल्मलाएजस्तो गर्‍यो। यसरी सुकला भएको सरकार चल्मलाइदिँदा पंक्तिकारले सरकार महिनौँदेखि मुखमा माड लगाउन पाएका छैनौँ भनी बिन्ती बिसाउँदा दुध-भात त खान पाइरहेका छौ नि भनी सोधनी गर्ने राजसी ठाँटबाँटसहितको बिछट्टै देशभक्त सरकार सम्झ्यो।

अब जागा भइसकेपछि केही गरे जस्तो त गर्नुपर्‍यो। धामीको खोजीमा महाकाली नदीमाथि ड्रोन उडाउन हाम्रो असाध्यै सक्षम सरकारले अनुमति माग्यो, प्यारो छिमेकीले हुन्न भनिदियो। सरकारले सायद सोच्यो- हामीले आफ्नो बेपत्ता नागरिक खोज्न चाहेकै हो। अयोध्यावासी ‘प्रभु’को आदेश आएन त के गर्ने?

सरकारले सोच्यो होला,  २०६७ जेठ ११ गते प्यारो छिमेकीका सिपाहीको गोली लागेर वासुदेव शाहले पूर्वमा प्राण त्यागेकै हुन्। त्यसै गरी पुनर्वास नगरपालिका, कञ्चनपुरमा प्यारो छिमेकीसँगको सीमा विवादले उग्र रूप लिँदा र सशस्त्र सीमा बलको अत्याचारविरूद्ध नेपालीहरू जाग्दा पश्चिममा स्थानीय युवा गोविन्द गौतम मारिएकै हुन्। यी त केही प्रतिनिधि घटनाहरू मात्र हुन्।

वर्ल्डएटलसडटकम हेर्दा थाहा लाग्यो संसारका ५० साना देशहरूमध्ये १२ देश त नेपालको अतिक्रमित लिम्पियाधुरा क्षेत्रभन्दा साना रहेछन्। तीमध्ये भ्याटिकन सिटी ०.४४ वर्ग किलोमिटरमा फैलिएको छ भने १२औँ सानो देश सेन्ट विन्सेन्ट एण्ड द ग्रेनेडिन्सको क्षेत्रफल ३८१ वर्ग किलोमिटर छ। 

यस्ता घटनाहरूको फेहरिस्त लेख्न थाल्ने हो भने त नेपालको इतिहासका पाना देशका, परचक्रीको अन्यायविरूद्ध नेपालीहरूले बगाएको रगतले लथपथ हुनेछ। स्वदेशी र विदेशी शासकहरूलाई यस्तो इतिहास पाच्य हुने छैन। के गर्ने त?

सन् १९६२ को चीनसँगको युद्धमा खेदिएको प्यारो छिमेकीले कब्जा गरेको लिपुलेक-कालापानी-लिम्पियाधुरामा तैनात सेनालाई यहीँबाट खुकुरी देखाएजस्तो गरूँला, हुन्न एमाले बन्धुहरू? लिम्पियाधुरा क्षेत्रमा अतिक्रमित भूभागको आकार नै करिब ४०० किलोमिटर छ भनिन्छ।

वर्ल्डएटलसडटकम (worldatlas.com) हेर्दा थाहा लाग्यो संसारका ५० साना देशहरूमध्ये १२ देश त नेपालको अतिक्रमित लिम्पियाधुरा क्षेत्रभन्दा साना रहेछन्। तीमध्ये भ्याटिकन सिटी ०.४४ वर्ग किलोमिटरमा फैलिएको छ भने १२औँ सानो देश सेन्ट विन्सेन्ट एण्ड द ग्रेनेडिन्सको क्षेत्रफल ३८१ वर्ग किलोमिटर छ। 

हामी नेपालीको रगतै तातो छ, एकै छिनमा उम्लिहाल्छ। यसमा सरकारको के नै दोष छ र, होइन? शान्त रहनुपर्‍यो, अपमान पचाउन सक्नुपर्‍यो, अतिक्रमण सहन सक्नुपर्‍यो, मातृभूमिमा परचक्री सैनिकहरूको लात र लाठी सहनुपर्‍यो, हाम्रा सक्षम, अत्यन्त व्यवसायिक अनि विश्वभर शान्ति कायम गर्न सफल सुरक्षा निकायहरूले झैँ देखेको नदेख्यै गर्नुपर्‍यो। छिमेकीसँग सधैँ झगडा गरेर हुन्छ, मिलेर बस्नुपर्छ नि। वामपन्थी मार्काका एक पूर्वप्रधानमन्त्रीको महावाणी सम्झनुपर्‍यो, प्यारो छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धभन्दा केही हजार त के केही लाख हेक्टर भूमि पनि केही होइन भन्ने कुरा बुझ्नुपर्‍यो। अनि पो कायम हुन्छ शान्ति, अनि पो देश लाग्छ उँभो, खै कुरा बुझेको?

फेरि दार्चुला सदरमुकाम खलंगातिरै फर्कौँ है त। त्यहाँ नेपाललाई ड्रोन उडाउन नदिइएको प्रसंग उल्लेख गरिसकेको छु। प्रकारान्तरले के अर्थ लाग्ने भो भने नेपालले आफ्नो भूखण्डमा समेत ड्रोन उडाउन पाएन। के काशी कश्मीर अजब नेपाल भनेको यही हो? वा नेपालको कानुन भगवानले जानून् भनेको यही हो? ठोरीवासी होइन‚ अयोध्यवासी राम जाने।

तर‚ त्यस अस्वीकृतिको केही दिनपछि अर्को अचम्म भो। दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको ब्यारेकमाथि प्यारो छिमेकीको हेलिकप्टरले कयौँ दिनसम्म कयौँ चक्कर लगायो। आफ्नै देशमा पनि यति निर्धक्क भएर हेलिकप्टर उडाउन पाइन्नथ्यो होला, हाम्रो देशमा उडाएर देखाइदियो। हामी वीरका सन्तान हेरेको हेर्‍यै भयौँ। खुकुरीको बलमा लड्ने बानी परेको, हाम्रो के लाग्थ्यो?

नेपालका नामी गिरामी प्रकाशक/सम्पादकहरूलाई असाध्यै मन पर्ने रमको कुरा गरेको होइन, हतियारको कुरा गरेको हुँ। जयसिंह धामीको खोजीमा उक्त हेलिकप्टरले चक्कर लगाएको त पक्कै होइन होला भन्न कुनै सुरक्षा/रक्षाविदको भनाइ सापटी लिनु पर्दैन। अयोध्याबाट कुनै विशिष्ट अतिथि बोकेर आएको आधुनिक पुष्पक विमानले पवित्रभूमि नेपालको पवित्रतम क्षेत्रको हवाई प्रदक्षिणा गरी दुई देशबीचको युगौँदेखिको विशेष सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन खोजेको हो। यस घटनालाई नेपालको एयरस्पेशको उल्लंघनको रूपमा लिइनु हुँदैन भन्ने किसिमका रेडिमेड वक्तव्यहरू खातेपिते विज्ञहरूबाट जारी गराउन नसक्ने पनि होइन सम्बन्धित शक्तिले।

तर‚ यसो गरेर मामिलालाई किन चर्काउने, द्विपक्षीय सम्बन्ध बिगार्न उद्यत शक्तिहरूलाई किन स्थान दिने? सायद यस्तै सोचेर होला त्यतिखेर भर्खरभर्खर गठन भएको सरकारको यस अनधिकृत उडानप्रति कडा प्रतिक्रिया व्यक्त गरेन। यद्यपि‚ पटकपटक सरकारको नेतृत्व गरेका नेताले कमान सम्हालेको यो सरकार 'चानचुने' प्रकृतिको अवश्य थिएन। विपक्षी श्री ६ नेताकै भनाइमा पनि यो श्री ५ को सरकार थियो, त्यसैले बोलीचालीको भाषामा यो सरकार कडा, खतरा हुनु बिल्कुलै स्वाभाविकै थियो।

तर‚ यस्तो घगडान सरकार ऐन मौकामा मौन बस्दियो। आमनागरिकको अपेक्षा थियो हामीलाई हकारे जसरी छिमेकीको झाँको झार्न सके पो सरकार, नत्र त ऐरे गैरे नत्थु खैरे सरकार भैगो नि! शान्त कूटनीति यसैलाई भनिन्छ क्यारे! परराष्ट्रमन्त्री र अन्य लब्धप्रतिष्ठित विज्ञजनहरूलाई 'मालुम' होला। सरकार मौन बस्दियो त के भो? चुप लाग्नुस् तपाईं भन्दै पंक्तिकारमाथि नै खनिनुहोला प्रधानमन्त्रीय शैलीमा।

के हुनु नि? गोरू ब्याएन यस पटक पनि, अचम्मै भो, लगानी खेर गो। अचम्मको श्रृंखलामा त्यहींनेर पूर्णविराम नभए पनि अल्पविराम लागेको भए अति राम्रो हुन्थ्यो। तर‚ त्यसो हुन पाएन। यसो किन भनियो भने यो देशमा हास्यव्यंग्य कलाकारहरूको कुनै कमी छैन। उहाँहरूले बेलाबेलामा आ-आफ्नो प्रतिभा देखाएर जग हँसाइ गरिरहनुहुन्छ। आफ्नो धोती/सुरूवाल/अन्तर्वस्त्र खुस्केको थाहै पाउनुहुन्न। जनताले आधुनिक सम्राटका नयाँ लुगाबारे थाहा पाउँछन्, आफूहरूभन्दा भिन्न प्राणी होइन रहेछन् भन्ने थाहा पाउँछन् राम्रै हुन्छ।

यिनै कलाकारको भिडमा थपिनु भो यसअघिका प्रधानमन्त्री, ज्यादै प्रतिभाशाली हास्यव्यंग्य कलाकारको परिचय बनाएर उहाँ बाटो लागिसक्नुभो। उहाँको बहिर्गमनमा न्यायपालिकाका श्री ५ हरूको मात्रै भूमिका रह्यो कि उहाँका आफ्नै मौलिक गुणहरूको पनि, विश्लेषकहरूले नै विश्लेषण गरून्, इतिहासकारहरूले लिपिवद्ध गरून्। उहाँपछिको प्रधानमन्त्री हास्यव्यंग्य चेत/हास्यव्यंग्यकारिताका लागि नाम कमाएको व्यक्तित्व होइन जस्तो लाग्छ।।

देशको शीर्ष नेतृत्व हास्यव्यंग्य कलाकार वा पारखी नभइदिँदा पनि आमनागरिकलाई सोझै मर्का पर्ने रहेछ। किनभने त्यस्तो पात्रबाट आमनागरिकले नो-नन्सेन्स परफरमेन्स अर्थात् अलि लोभलाग्दो कार्यसम्पादनको आशा गर्दा रहेछन्।

तर‚ त्यसो हुन पाइरहेको छैन। आतिथेयकलामा ज्यादै निपुण परराष्ट्रमन्त्रीले देशको समग्र कूटनीति सञ्चालनमा उति ध्यान पुर्‍याउन नसकेर पो हो कि? उहाँलाई पाहुनाहरूलाई सर्व गर्दागर्दै फुर्सद नभएको भए सरकारले दक्ष कर्मचारी खटाइदेओस्। यसो भएमा उहाँले परराष्ट्र मामिला राम्रोसँग सञ्चालन गर्न पर्याप्त समय पाउनुहुन्थ्यो कि? 

प्रधानमन्त्रीको कार्यव्यस्तता ज्यादै बढी भएर पो हो कि? गृहलाई पो साह्रो पर्‍या छ कि? रक्षा/सुरक्षाको जिम्मा लिएका निकायहरूका लागि बन्दोबस्तीको उचित प्रबन्ध नभएर पो हो कि? अयोध्यावासी रामजाने।

जे होस्, धामी बेपत्ता भएको र खलंगामा आधुनिक पुष्पक उडेको केही कालपछि सुस्तामा प्यारो छिमेकीका सैनिकहरू नेपाली भूभागमा प्रवेश गरी सर्वेक्षण गरेका समाचारहरू भाइरल भए। नेपालीराज्य संयन्त्रलाई स्थानीयहरूले यस हर्कतको जानकारी दिएर आफ्नो कर्तव्य पूरा गरे। यस प्रकरणमा देशर जनताप्रतिको कर्तव्य पूरा गर्न नसकेका कुनै निकाय हुनुहुन्छ भने म:म भन्नुहोला।

त्यसपछि सरकार फेरि जागा भयो। कतिपयलाई लाग्या हुनसक्छ सरकारले कुन्नि के सन्तुलन गुमायो तर त्यसो भएको थिएन। वास्तवमा सरकारले आफ्नो मौलिक अनि विशिष्ट शैली प्रदर्शन गरेको थियो। यो चाहिँ जरा हट्के शैली थियो। 

सरकारले फिर्ता लिएर सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई हुम्लाको सीमा निरीक्षण गर्न पठायो। यति लेखिसकेपछि पंक्तिकार चीनपरस्तको सूचीमा दरिएला, कोइ बात छैन। स्थानीय जनप्रतिनिधिले हुम्लामा उत्तरी छिमेकीले सीमा मिचेको छ भनिसकेको अवस्थामा सत्यतथ्य जाँच हुनु द्विपक्षीय सम्बन्धकै हितमा हुने थियो।

तर विवादरहित कुरा के हो भने प्यारो छिमेकीसँगका हाम्रा सीमा विवादहरू उत्तरी छिमेकीसँगका सीमा विवादहरूभन्दा धेरै गम्भीर छन्, अतिक्रमित भूमिको क्षेत्रफल पनि धेरै छ। प्यारो छिमेकीसँगका सीमा विवादहरूलाई सरकारले त्यति गम्भीरतापूर्वक लिएको देखिएको छैन। यसैबीच प्यारो छिमेकीले काली (महाकाली) नदीलाई अर्कै नाम दिई अर्को नक्सा जारी गरी नेपाली भूभाग लिपुलेक-कालापानी-लिम्पियाधुरामा आफ्नो पकड कम्जोर हुन नदिने स्पष्ट संकेत दिएको छ। यसै प्रयोजनका लागि दार्चुलामाथि आधुनिक पुष्पक उडाइएको त थिएन?

सुगौली नदीले चिनेको काली अर्थात् महाकाली नदीलाई स्थानीय भाषाको कुटीयाङ्गदी नाम दिएर उसले अतिक्रमित नेपाली भूभागका स्थानीय समुदायहरूको मन जित्ने प्रयास थालिसकेको छ। सोही प्रयासको निरन्तरतास्वरूप उत्तराञ्चलका गवर्नरले हालै उक्त क्षेत्रको भ्रमण गरेका छन्। 

यो सबै भइरहेको बेला प्रधानमन्त्री प्यारो छिमेकीकोमा जाँदै हुनुहुन्छ, अवकाशको सँघारमा रहेका प्रधानसेनापति १५ दिने स्वास्थ्योपचार भ्रमण गएर आइसक्नुभो। हामी विलखबन्दमा परेका छौँ।  

भूकम्पपीडित सिंहदरबारबाट अतिक्रमित भूभागहरू धेरै टाढा छन्। देशभित्रै सिंहदरबारको भन्दा दिल्ली दरबार, वाशिंटन दरबार, केन्सिङ्गटन दरबार, बेइजिङ्ग दरबार, ब्रसेल्स दरबार आदिको दबाव र प्रभाव कति हो कति बढी छ। यस्तो अवस्थामा सिंहदरबारभित्रको सिंहले यसो गर्जेजस्तो गर्नबाहेक के नै गर्न सक्ला र? यसरी गर्जंदैमा आततायी शक्ति डराउला त? शंकै छ। 

वास्तवमा जे भइरहेको छ अहिले नेपालमै भइरहेको छ। नेपालमा जे भइरहेको छ वा विदेशमा नेपाल सम्बन्धमा जे भइरहेको छ त्यस सम्बन्धमा धेरै नसोचौँ। किन भन्नुहोला? किनभने धेरै सोच्यो भने मानसिक-शारीरिक-आध्यात्मिक सन्तुलन गुम्न पनि सक्छ, त्यसो भयो भने उपचार गर्दा घरखेत जान सक्छ, परिवारको बेहाल हुन सक्छ। बडे नेता, ठूलै कर्मचारी, दूतावास विशेषको मनले खाएको व्यक्ति हुनुहुन्छ भने लु आउनुस्, अहिल्यै कित्ताकाट गरौँ।

विनोदप्रिय नेपालीहरू! प्रधानमन्त्रीले हकारे हकार्नुहोला, यसलाई गम्भीर रूपमा नलिउँ। वास्तवमा उहाँ देशको सर्वोच्च शासक भएकाले सबै नेपाली नागरिकहरूप्रति वात्सल्यभाव राख्नुहुन्छ। देश र देशवासीका पक्षमा केही गर्न नसके पनि उहाँ हाम्रो अभिभावक हो, बातबातमा हामीलाई हकार्नु उहाँको परम कर्तव्य हो। कि कसो पाठकहरू?

बरू सरकारलाई कर तिर्नुभएको छ/छैन कुन्नि? खाए पनि, नखाए पनि, राज्यबाट सरसुविधा पाए पनि, नपाए पनि कर चाहिँ तिर्नैपर्छ है पाठकवृन्द।

किन? किनभने कर नतिरे जरिवाना लाग्छ। इहलोकमा नसके परलोकमा स्याजसहित तिर्नुपर्छ। त्यसो त हाम्रो सरकार पनि कम बाठो छ र? कर नतिरेसम्म यस लोकबाट परलोक जाने दिँदैन, आर्यघाटमै ढाट हालेर बसेको छ।    

किनभने हाम्रा पितापुर्खाले भनेझैँ दैव र सरकारको ओखती छैन। किनभने दैव र सरकार रूपमा फरकफरक देखिए पनि सारमा एउटै हुन्। कर तिरिसक्नुभो भने आउनुस्, एकैछिन मनोरञ्जन गरौँ, प्रधानमन्त्रीले हकारे हकार्नुहोला।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.