१०/१२ दिन अझै बढ्छ संक्रमण

|

काठमाडौं : वैशाखमा कोरोनाको दोस्रो लहरमा डेल्टा भेरियन्ट फैलिएपछि सुरुमै अस्पताल भरिभराउ भएका थिए। संक्रमित धेरैलाई त्यो वेला अक्सिजन आवश्यक परेको हुँदा अस्पताल भरिभराउ भएको थियो।

अहिले पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ तर अस्पताल भर्ना भएर उपचार गराउने संख्या कम देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पनि हाल देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेको अवस्थामा १ हजार ९६ जना संस्थागत र २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेको देखिन्छ।

यसरी संक्रमित बढ्दै जाँदा पनि अस्पतालमा उपचार गर्न जाने संक्रमितको संख्या निकै कम छ। डेल्टा भेरियन्टले फोक्सोमा सिधा आक्रमण गर्ने भएकाले बिरामीलाई अक्सिजन र आइसियू चाहिँदा अस्पतालमा चाप थियो।

तर यसपालि भने प्रायलाई जिउ दुख्ने, घाँटी खसखस हुने र सामान्य ज्वरो आउने लक्षण मात्र देखिएको हुँदा धेरै संक्रमित घरमै रहेको बताउँछन्‚ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन। ‘कडा लक्षण नहुँदा अस्पताल आउने संक्रमितको संख्या कम भएको हो’‚ उनले भने।

पहिलो र दोस्रो लहरको तुलनामा पछिल्लो केही दिनयता बढेको संक्रमणदर अनुसार अस्पताल भर्ना हुने संख्या कम देखिएको बताउँछन्‚ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल। ‘बढ्दो संक्रमणको तुलनामा अस्पताल भर्ना हुने संख्या हालसम्म योपटक कम छ’‚ उनले भने।

 भुसको आगो जसरी फैलिएको छ ओमिक्रोन

अस्पताल भर्ना हुने संख्या कम देखिए पनि विगतको तुलनामा ​योपटक संक्रमण तीव्र गतिमा फैलिरहेको समेत डा. पौडेलले बताए।

यसअघि पहिलो र दोस्रो लहरको तुलनामा अहिले मानिसको आवागमन नरोकिएको हुँदा संक्रमण भित्रभित्रै झनै फैलिएको हुनसक्ने उनले बताए।  

पहिलो लहर र दोस्रो लहरमा जस्तो आवतजावतमा अहिले कडाइ नभएको हुँदा संक्रमण सर्ने सम्भावना धेरै रहेको उनको भनाइ छ।

‘डेल्टा भेरियन्टको संक्रमण  कम भएका वेला संक्रमण पुनः बढेको छ, लक्षण भएका जति सबैले परीक्षण गराएका पनि छैनन् होला। थोरै मान्छेले परीक्षण गरेकाले संक्रमितको संख्या पनि सोहीअनुपातमा देखिए पनि ओमिक्रोन भेरियन्ट तीव्र  गतिमा फैलिरहेको हुनसक्छ’‚ उनले भने।

धेरै जनामा कडा लक्षण नदेखिदा अस्पताल भर्ना हुने संख्या कम भएको समेत उनको भनाइ छ। संक्रमितको संख्या बढेको अवस्थामा पूर्ण रोक नहुँदा  संक्रमण फैलिरहेको समेत उनको भनाइ छ।

१०/१२ दिन अझै बढ्छ संक्रमण

अहिले बढ्दो क्रममा रहेको र अझै १०/१२ दिन संक्रमण अझै बढ्न सक्ने समेत डा. पौडेलले बताए।

‘अहिले संक्रमण बढ्दो क्रममा छ। यो अवस्था अझै १०/१२ दिन रहन्छ। त्यसपछि अलि कम हुँदै जान्छ। हाम्रो यसअघिको अनुभवले पनि यही देखाउँछ’‚उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.